नवराज अवस्थी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका, ह्याबिट्याट फर नेपाल र निड्स नेपालको सहकार्यमा सञ्चालित सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत नगरपालिकाका १५ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमबीच बेलौरी नगरपालिका वडा नं. ९ र १० मा निर्माण सम्पन्न घरहरू लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको हो । सुरक्षित आवास कार्यक्रम २०७८ सालदेखि विशेष रूपमा विपन्न, अशक्त तथा जोखिममा परेका परिवारहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । नगरपालिकाको अगुवाइमा सञ्चालित यस परियोजना अन्तर्गत प्रत्येक लाभग्राही परिवारलाई सुरक्षित र सुविधा सम्पन्न आवास प्रदान गरिएको छ ।
घर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि उपप्रमुख जोगराम चौधरी, ह्याबिट्याट फर नेपालका प्रतिनिधि, निड्स नेपालका पदाधिकारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले बेलौरी नगरपालिकाले विपन्न समुदायको उत्थानलाई प्राथमिकतामा राखेर सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षमा वडा नं. ५, ६, ७ र ८ मा थप २५ सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको जानकारी गराए ।

परियोजना अन्तर्गत निर्माण गरिएका प्रत्येक घर दुई कोठा, एक भान्सा कोठा र एक शौचालयसहित सुरक्षित संरचनामा निर्माण गरिएको छ । घर निर्माण कार्य पूरा गर्न १० महिनाको समय लागेको थियो । निर्माण खर्चका लागि विभिन्न स्रोतहरूबाट आर्थिक व्यवस्थापन गरिएको छ । बेलौरी नगरपालिकाले ४५ लाख, ह्याबिट्याट फर नेपाल र निड्स नेपालले ३० लाख तथा सामुदायिक श्रमदानबाट २२ लाख ५० हजार गरी कुल ९७ लाख ५० हजार रुपैयाँ लागतमा घर निर्माण सम्पन्न गरिएको हो । सुरक्षित आवास निर्माणसँगै लाभग्राही परिवारहरूलाई वित्तीय साक्षरता, सरसफाइ, विपद् जोखिम न्यूनीकरण, वातावरणीय व्यवस्थापन तथा जीविकोपार्जनसम्बन्धी तालिमहरू प्रदान गरिएको छ । साथै, वातावरणीय सन्तुलन कायम गर्न प्रत्येक घरमा फलफूलका बिरुवा, डाले घाँस र बाँसका बिरुवा वितरण गरिएको छ ।
कार्यक्रमको सहजीकरण सुरक्षित आवास परियोजनाका कार्यक्रम संयोजक सरस्वती पुरीले गरेकी थिइन् । कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बेलौरी नगरपालिकाले विकास निर्माणका कार्यमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउँदै सुरक्षित आवास कार्यक्रमले विपन्न समुदायको जीवनमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । घर प्राप्त गरेका लाभग्राहीहरूले सुरक्षित आवास निर्माणपछि आफ्नो जीवनस्तरमा सुधार आउने, सुरक्षित वातावरणमा बस्न पाउने र सामाजिक प्रतिष्ठा बढ्ने अपेक्षा व्यक्त गरेका छन् । यस परियोजनाबाट प्रेरित भई स्थानीय सरकार तथा साझेदार संस्थाहरूले भविष्यमा थप विपन्न समुदायलाई सुरक्षित आवास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।