हरिश्चन्द्र बाग, कैलाली, १५ फागुन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा जोखिम सञ्चारमा मिडियाको भूमिका सबलीकरण गर्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मीहरूका लागि दुई दिवसीय कार्यशाला सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आयोजित उक्त कार्यशालालाई मर्सिकोरले प्राविधिक सहयोग गरेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले सही र सामयिक सूचनाले जनधनको क्षति कम गर्न सक्ने बताउनु भयो । विपद्को समयमा सञ्चारकर्मीहरूको भूमिकालाई प्रभावकारी बनाउनका लागि यस्ता कार्यशालाहरू आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यशालामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं उपसचिव डा. डिजन भट्टराईले प्राधिकरणले विपद् जोखिम सञ्चारलाई प्रभावकारी बनाउन लिएका पहलबारे जानकारी गराउनुभयो ।
विकास साझेदार संस्था मर्सिकोर नेपालका राष्ट्रिय निर्देशक सुरज सिग्देलले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा विगतदेखि मर्सिकोरले सहयोग गरिरहेको उल्लेख गर्दै साझा दायित्व निर्वाह गर्न तयार रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले विपद् रिपोर्टिङका क्रममा आउने चुनौती र यसको प्रभावकारी समाधानका उपायबारे ध्यान दिनुपर्ने बताउनुभयो । विपद्का समाचार सङ्कलन गर्दा यथार्थपरक, प्रमाणमा आधारित तथा संवेदनशील पत्रकारिताको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
पहिलो दिनको सत्रमा प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन काउन्सिलका विज्ञ सदस्य डा. गङ्गालाल तुलाधर, जल तथा मौसम विज्ञान विभागका जलवायु विश्लेषण शाखा प्रमुख तथा सूचना अधिकारी विभूति पोखरेल र विभागको क्षेत्रीय कार्यालय कोहलपुरका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राम प्रसाद अवस्थी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका शाखा अधिकृत दीपेन्द्र सिंह बिष्टले प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेपालमा जलवायु र बाढी पूर्वानुमानको वर्तमान अवस्था, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रिपोर्टिङका व्यवहारिक पक्ष तथा विपद्का लागि पूर्वतयारी गर्न पत्रकारहरूको भूमिकाका विषयमा पनि प्रस्तुतीकरण गरिएको छ । कार्यशालामा सहभागी सञ्चारकर्मीहरूलाई समूहगत कार्यमार्फत विपद् न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रिपोर्टिङका व्यवहारिक सीप प्रदान गरिँदै छ । विपद्का समयमा सूचना सङ्कलन, स्रोतहरूको प्रमाणीकरण र सचेत पत्रकारिताका लागि आवश्यक विधिहरूबारे पनि छलफल भइरहेको छ । कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने छ ।