हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा सोमबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ । "कृषि, उत्पादन र स्वरोजगार; आर्थिक समृद्धिको आधार" भन्ने मूल नाराका साथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको महोत्सव १० दिनसम्म जारी रहने छ । महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा भारतको उत्तराखण्ड प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज) ले संयुक्त रूपमा गर्नुभएको थियो । सोह्रौँ संस्करणको उक्त महोत्सवमा आयोजकले उहाँहरू दुवैलाई जिम्मेवारी स्वरुप १६ किलोग्रामको माला पहिर्याएको थियोे । उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न समुदायका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए ।

स्वदेशी उत्पादनको प्रवर्द्धनमा सरकारको प्राथमिकता ।।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । उहाँका अनुसार, उत्पादनलाई प्याकेजिङ र ब्राण्डिङ गरी स्वदेशमै उपभोग गर्न र विदेशमा निर्यात बढाउन सरकारले आवश्यक नीतिगत पहल गरिरहेको छ । मन्त्री भण्डारीले थप्नुभयो, "हामी नेपालमा उत्पादित वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न चाहन्छौँ । स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो ।"

उत्तराखण्डका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज) ले नेपाल-भारतबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्न यस्ता महोत्सवहरू महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, "सीमावर्ती क्षेत्रको व्यापार तथा पर्यटन विकासले दुवै देशको अर्थतन्त्रलाई टेवा पुर्याउनेछ । नेपाल-भारत सम्बन्ध सांस्कृतिक रूपमा मात्र नभई व्यापारिक हिसाबले पनि मजबुत बनाउन आवश्यक छ ।"

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले महोत्सवको उद्देश्यबारे जानकारी दिँदै भन्नुभयो, "हामीले स्थानीय उत्पादनको बजारीकरण गर्दै लगानीको अवसर सिर्जना गर्ने लक्ष्य राखेका छौँ । साथै सहकारी, लघुवित्त, बैंकिङ्ग सेवा तथा वित्तीय पहुँचलाई प्रवर्द्धन गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।" अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीलाई रथयात्रा गराई उहाँ सहित सामाजिक सेवामा क्रियाशील केही व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रमका अन्य वक्ताहरूले उद्योग, व्यापार र विकास निर्माणका साथै नेपाल-भारतबीचको सम्बन्धका विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भएको छ ।

१० दिनसम्म विविध कार्यक्रमहरू गरिने ।।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू रहने छन् । स्टलहरूमा लघु उद्योग, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य सेवा लगायतका उत्पादन तथा सेवाहरू प्रदर्शनमा राखिएका छन् ।

महोत्सवले स्थानीय व्यवसाय, हस्तकला, कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार, महोत्सवबाट स्थानीय उत्पादन तथा सेवाहरूको बजारीकरण गर्दै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । विभिन्न समुदायका खानपिनका परिकारहरू मध्ये थारु गाउँको स्वाद विशेष मानिएको छ ।