हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ फागुन । मानव बेचबिखन, बाल विवाह, महिला हिंसा तथा लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि कञ्चनपुरको दोधाराचाँदनीमा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम गरिएको छ । शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर अन्तर्गत सम्पर्क कार्यालय दोधाराचाँदनीले दोधाराचाँदनी नगरपालिका वडा नं. १ को समन्वय र सहकार्यमा श्री महाकाली आदर्श मा.वि.मा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष विक्रम चन्दको अध्यक्षता रहेको थियो । साथै, वडाका सदस्यहरू, इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी नायव निरीक्षक टेक बहादुर बिष्ट तथा अन्य प्रहरी प्रतिनिधिहरू, दोधाराचाँदनी नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू, पत्रकारहरू, पि.आर.सी. केन्द्रीय कार्यालयका केस म्यानेजर सञ्जिता बोलाखे, पि.आर.सी. का प्रदेश संयोजक सञ्जित सिंह, शाखा कार्यालय महेन्द्रनगरका सुपरभाइजर मनीषा न्यौपाने तथा पि.आर.सी. सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्ट र बेलडाँडीका परामर्शदाता जमुना सिंह लगायतको उपस्थिति रहेको थियो ।
"शान्ति पुनर्स्थापना गृहको आह्वान; मानव बेचबिखन विरुद्धको अभियान" भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यालयका शिक्षकहरू तथा कक्षा ८ र ९ का विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार, बाल विवाह, महिला हिंसा तथा लागु औषध दुर्व्यसनका विषयमा सचेतना प्रवाह गरिएको दोधाराचाँदनी सम्पर्क कार्यालयका परामर्शदाता रेखा भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका सुदूरपश्चिम प्रदेश संयोजक सञ्जित सिंहले मानव बेचबिखन, बाल विवाह, महिला हिंसा तथा लागु औषध दुर्व्यसनका विषयमा विद्यार्थीहरूलाई जानकारी गराउँदै समुदायलाई सचेत बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयस्तरबाट नै सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपस्थित दोधाराचाँदनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष विक्रम चन्दले बाल विवाह, महिला हिंसा तथा लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहले यी समस्याहरूको न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सचेतनामूलक सन्देशसहित विभिन्न अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो । आयोजक पक्षले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै विद्यालय र वडा कार्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।