कोरोना महामारीले संसारका हरेक क्षेत्रलाई प्रभावित गर्यो, विशेष गरी शिक्षा क्षेत्रलाई। शिक्षण पेसामा एक दशक बिताइसकेको शिक्षकको नाताले मैले पनि यस महामारीमा असाधारण अनुभवहरू सँगालेँ। विद्यालयहरू बन्द भए, विद्यार्थीहरू घरमै सीमित भए, र शिक्षण केही वैकल्पिक विधिहरूमै निर्भर रह्यो। यस परिवर्तनले शिक्षण विधि मात्र होइन, विद्यार्थी र शिक्षकबीचको सम्बन्धमा समेत गहिरो प्रभाव पार्यो। सामाजिक दूरी, मास्क, स्यानिटाइजरजस्ता उपायहरू अपनाउँदै शिक्षा क्षेत्रमा निरन्तरता दिन कठिन भए पनि प्रयास जारी रह्यो।
शिक्षणको नयाँ मोडेल: अनलाइन कक्षाको सामना
पहिले सेतो बोर्ड (whiteboard) शैलीमा पढाउँदै आएको मलाई अचानक अनलाइन शिक्षणमा रूपान्तरण हुनुपर्यो। जूम, गुगल मिट, म्यासेन्जरजस्ता डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सिक्नुपर्ने भयो। गाउँघरका विद्यार्थीहरूका लागि अनलाइन कक्षा सजिलो थिएन, किनभने धेरैलाई इन्टरनेट पहुँच थिएन। कतिपयसँग मोबाइल वा ल्यापटपसमेत थिएन। यस्तो अवस्थामा अनलाइन शिक्षण प्रभावकारी बनाउनु आफैँमा ठूलो चुनौती बन्यो।
विद्यार्थीहरूको मनोवैज्ञानिक असर
महामारीका कारण विद्यार्थीहरूमा पढाइप्रति रुचि घटेको, आत्मबल कमजोर भएको, र सामाजिक अन्तरक्रिया हराउँदै गएको देखेँ। नियमित रूपमा विद्यालय नआउँदा उनीहरू अनुशासनहीन बन्दै गएका थिए। कतिपय विद्यार्थी निराश, उदास, र एक्लोपनको समस्याबाट ग्रस्त थिए। शिक्षक मात्र होइन, अभिभावकको भूमिकामा रहेर पनि मैले उनीहरूको भावना बुझ्न र तिनीहरूलाई सान्त्वना दिन प्रयास गरेँ।
अभिभावकहरूसँगको नयाँ सम्बन्ध
पहिले शिक्षक-विद्यार्थी सम्बन्ध विद्यालयभित्र मात्र सीमित थियो, तर महामारीपछि अभिभावकहरूसँग पनि मेरो सम्पर्क बढ्यो। अनलाइन कक्षामा उनीहरूको भूमिकाको महत्त्व बढ्यो। कतिपयले आफ्ना बालबालिकाको अध्ययनप्रति चासो देखाए भने कतिपयलाई शिक्षाको महत्त्व बुझाउनुपर्यो। अभिभावकहरूसँगको घनिष्ठ संवादले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन मद्दत गर्यो।
प्रतिबन्धपछि विद्यालय फर्कँदा...
विद्यालय खुलेपछि विद्यार्थीहरूको अनुहारमा उत्साह देखियो, तर उनीहरूको सिकाइमा गहिरो असर परिसकेको थियो। धेरैलाई आधारभूत ज्ञानसमेत कमजोर भएको पाएँ। अनलाइन र प्रत्यक्ष शिक्षाबिचको अन्तर देखेर नयाँ रणनीति अपनाउनु अपरिहार्य बन्यो।
निष्कर्ष
शिक्षण पेसा सधैँ परिवर्तनशील छ र महामारीले मलाई अझ सशक्त बनायो । प्रविधि र मनोविज्ञान दुवैलाई सन्तुलित गर्दै शिक्षणलाई अघि बढाउनुपर्ने गहिरो पाठ मैले सिकेँ । कोरोना महामारीले हाम्रो समाज र शिक्षण पेसामा अविस्मरणीय चुनौतीहरू ल्यायो । यद्यपि यो समय अत्यन्त कठिन थियो । तर यस सङ्कटका बीच खटिएका शिक्षकहरूले आफ्नो समर्पण, धैर्य र लगनशीलताको साथ शिक्षणलाई निरन्तरता दिए ।
म यी शिक्षकहरूको साहस र प्रेरणाको कदर गर्न चाहन्छु । कोरोना कालमा खटिएका शिक्षकहरूको योगदान शिक्षण पेसामा अमूल्य छ । उनीहरूको समर्पण र लगनशीलताले शैक्षिक प्रणालीलाई बचाएको मात्रै छैन, भावी पुस्तालाई पनि प्रेरित गर्यो । साथै, नजिकैको क्यान्टिनका दाजु धनबहादुर खड्कालाई सफा र स्वास्थ्यकर नास्ताको व्यवस्था गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु ।
कोरोना काल मेरो शिक्षण यात्रामा ठूलो मोड साबित भयो । प्रविधिमा निर्भरता, विद्यार्थीहरूको मनोवैज्ञानिक पक्षको महत्त्व र अभिभावकहरूसँगको सम्बन्ध सुधार्ने उपाय मैले राम्ररी सिकेँ । चुनौतीहरू आए पनि नयाँ शिक्षण विधिहरू अपनाउने, प्रविधिसँग घुलमिल हुने र विद्यार्थीहरूको भलाइका लागि थप मेहनत गर्ने अवसर प्राप्त भयो । धन्यवाद ।
-दीर्घ राज ओझा, प्रिन्सिपल, पपुलर इङ्लिस बोर्डिङ स्कुल, पुनर्वास नगरपालिका -११, कञ्चनपुर