कञ्चनपुर, ०६ फागुन । निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित स्कोप आर थ्री परियोजनाले “आफ्नो व्यवसाय सुरु र सुधार गरौँ” भन्ने विषयमा तीन दिने तालिम सम्पन्न गरेको छ । कञ्चनपुर र डडेलधुराका चार पालिकाका ३४ जना कृषकहरूलाई व्यावसायिक तालिम दिइएको हो । डडेलधुराको परशुराम नगरपालिका तथा कञ्चनपुरका दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकाका कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा माछा पालन, तरकारी खेती, मौरी पालन, पशु पालन लगायतका क्षेत्रमा क्रियाशील कृषकहरूलाई आम्दानी सहित जीविकोपार्जन गरी व्यवसाय कसरी गर्ने भन्ने बारे तालिम दिइएको हो । स्कोप आर थ्री परियोजनाका संयोजक ईश्वर उपाध्यायका अनुसार तालिमको मुख्य उद्देश्य कृषकहरूको आम्दानी वृद्धि गर्दै आत्मनिर्भर व्यवसाय प्रवर्द्धन गर्नु हो ।
तालिममा व्यवसायको वर्गीकरण, कृषि उद्यमशीलताको अवसर, चुनौती, सम्भावना, सरकारको सहयोग कार्यक्रम, रैथाने ज्ञानको प्रयोग, नेपालमा पाइने माटोका प्रकार तथा प्राङ्गारिक मलको विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । तालिममा सहभागीहरूले धेरै नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन् । उनीहरू अब आफ्नो व्यवसाय सुधार गरेर राम्रो आम्दानी गर्न सक्नेमा विश्वस्त देखिन्छन् ।
तालिमको सहजीकरण स्कोप आर थ्रीका कार्यक्रम अधिकृत दिव्यदेव पण्डित, अनुगमन तथा मूल्याङ्कन अधिकृत सिर्जना जोशी, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापति र घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका पुष्पराज पाण्डेयले गर्नुभएको थियो । यसअघि, स्कोप आर थ्री परियोजनाले व्यावसायिक योजना र बजारीकरणसम्बन्धी तालिम समेत चार पालिकाका ३२ वटा सामुदायिक विपद् व्यवस्थापन समितिलाई प्रदान गरिसकेको छ । कृषि उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरिएका यस्ता तालिमहरूले कृषकहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउने अपेक्षा गरिएको छ ।