केशव थापा / हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ माघ । मानव बेचबिखन, बाल विवाह, महिला हिंसा तथा लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि कञ्चनपुरको बेलडाँडीमा विद्यालयस्तरीय जनचेतना कार्यक्रम गरिएको छ । बेलडाँडी गाउँपालिका वडा नं. ५ को वडा कार्यालयको सहयोगमा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीले श्री गणेश मावि भुर्सामा सोमबार उक्त कार्यक्रम आयोजना गरेको हो । शान्ति पुनर्स्थापना गृह बेलडाँडीकी परामर्शदाता जमुना सिंहका अनुसार, विद्यालयस्तरबाट नै सचेतना अभियानलाई प्रभावकारी बनाउँदै समुदायलाई सुरक्षित बनाउन कार्यक्रम आयोजना गरिएको हो ।
"शान्ति पुनर्स्थापना गृहको आह्वान; मानव बेचबिखन विरुद्धको अभियान" भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू समेतको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक शान्ति पुनर्स्थापना गृहका सुदूरपश्चिम प्रदेश संयोजक सञ्जीत सिंहले मानव बेचबिखन तथा ओसारपसार, बाल विवाह, महिला हिंसा तथा लागु औषध दुर्व्यसनका विषयमा उपस्थित विद्यार्थी, अभिभावक र स्थानीयहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्काले मानव बेचबिखन, बाल विवाह, महिला हिंसा र लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । स्थानीय तहले यी समस्याहरूको न्यूनीकरणका लागि आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले बाल विवाहको दर घट्दै गएको भए पनि महिला हिंसा र लागु औषध दुर्व्यसन न्यूनीकरण अझै चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सचेतनामूलक सन्देशसहित विभिन्न अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिएको बताइएको छ । आयोजक पक्षले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै विद्यालय र वडा कार्यालयलाई प्रसंशा पत्र प्रदान गरिएको थियोे ।
![Messenger_creation_8FC6A7B1-5664-42F0-B7FB-F0B9399FEDFF-1739206381.jpeg](https://www.nepalbodh.com/uploads/posts/Messenger_creation_8FC6A7B1-5664-42F0-B7FB-F0B9399FEDFF-1739206381.jpeg)
![Messenger_creation_390D961D-C258-4E7D-88EE-9B6A6143E149-1739206405.jpeg](https://www.nepalbodh.com/uploads/posts/Messenger_creation_390D961D-C258-4E7D-88EE-9B6A6143E149-1739206405.jpeg)