नवराज अवस्थी, कञ्चनपुर । शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक तथा सुरक्षित आवास गृह अनुगमन कार्यक्रम सम्पन्न भएको छ । आइतबार दिउँसोको उक्त बैठकमा सुरक्षित आवास गृहको हालसम्मको प्रभावकारिता, चुनौती र आगामी कार्ययोजना बारे छलफल गरिएको थियो ।
शान्ति पुनर्स्थापना गृह २०५० साल माघ ४ गते स्थापना भई नेपालका विभिन्न जिल्लामा शाखा तथा सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको संस्था हो । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र धनुषा जिल्लामा यसको शाखा कार्यालय छन् भने भारतको दिल्लीमा समेत यसको सेवा विस्तार भइसकेको छ । संस्था सीमावर्ती क्षेत्रमा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, पुनर्स्थापना तथा पुनर्मिलनका कार्यहरू गर्दै आइरहेको छ ।
चार वर्षदेखि सञ्चालनमा रहेको सम्पर्क कार्यालय बेलौरीले पछिल्ला दुई वर्षयता बेलौरी, बेलडाँडी, लालझाडी र पुनर्वास पालिकासँग सहकार्य गर्दै सुरक्षित आवास गृह सञ्चालन गरिरहेको छ । समीक्षा बैठकमा सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितु बिष्ट र प्रदेश संयोजक सञ्जात सिंहले सुरक्षित आवास गृह सञ्चालनको उद्देश्य, हालसम्मको प्रगति तथा वित्तीय व्यवस्थापनबारे विस्तृत जानकारी गराउनु भएको थियो ।
संस्थाले हालसम्म ११० जनालाई सूचना तथा परामर्श सेवा प्रदान गरेको छ भने भारतबाट १ जना महिलाको उद्धार गरेको छ । सङ्कटमा परेका ५ जना महिला तथा बालबालिकालाई सुरक्षित आश्रय दिइएको छ भने १ जना बालबालिकाको पुनर्स्थापना गरिएको छ । साथै संस्थाले सीमा निगरानी, जनचेतनामूलक कार्यक्रम, पारिवारिक पुनर्मिलन तथा आयमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।

बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले सुरक्षित आवास गृहले जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, "सीमावर्ती क्षेत्रमा मानव बेचबिखन तथा हिंसाका घटनाहरू रोक्न स्थानीय सरकार, सुरक्षा निकाय र सामाजिक संस्थाहरूबिच अझ प्रभावकारी सहकार्य आवश्यक छ ।"
लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले संस्थाको कामप्रति सकारात्मक प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा थप सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "जोखिममा परेका बालबालिका र महिलाहरूको संरक्षण तथा पुनर्स्थापनाका लागि यस्ता कार्यक्रम प्रभावकारी छन् । स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्न हामी तयार छौँ ।"
कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि, सशस्त्र प्रहरी बल बेलौरी गुल्मका प्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रमुख, बेलौरी नगरपालिका न्यायिक समितिका सदस्यहरू तथा सञ्चारकर्मीहरू र आयोजक संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । शान्ति पुनर्स्थापना गृह कञ्चनपुरमा कार्यरत मनीषा न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।