हरिश्चन्द्र बाग, कैलाली, २७ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक “प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी“ आयोजना गरिएको छ । कृषि विकास निर्देशनालय दिपायल डोटीको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा माघ २६ गतेदेखि कैलालीको धनगढीमा कृषि तथा पशुपन्छी मेला प्रदर्शनी सुरु भएको हो । उक्त प्रदर्शनी मेला पाँच दिनसम्म अर्थात् माघ ३० गतेसम्म जारी रहने छ ।
“सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औद्योगिकीकरण” भन्ने नाराका साथ आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका कृषिजन्य उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य वस्तुहरू, आधुनिक कृषि प्रविधिहरू, कृषि उद्यमशीलता, घरेलु उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएको कृषि विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक खगेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो । मेलाले प्रदेशका कृषकलाई नवीन प्रविधिहरूको जानकारी गराउनुका साथै स्थानीय उत्पादनको बजारीकरणका लागि समेत अवसर सिर्जना गरेको छ ।
कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा हासिल उपलब्धिहरूको प्रत्यक्ष अवलोकन, स्थानीय तथा आधुनिक कृषिजन्य उत्पादनहरूको प्रदर्शनी तथा खरिद–विक्री, कृषि तथा पशुपालनसम्बन्धी विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम, कृषि मेशिनरी तथा उपकरणहरूको प्रदर्शन तथा खरिद–विक्री, गैरकाष्ठ वन पैदावार र घरेलु उद्योगका उत्पादनहरू र सुदूरपश्चिमका मौलिक परिकार तथा सांस्कृतिक प्रस्तुति मेलाका प्रमुख आकर्षण हुन् । मेलामा प्रदेशभरबाट किसान, कृषि व्यवसायी, सहकारी संस्थाहरू, विद्यार्थी तथा आम नागरिकहरूको सहभागिता रहेको छ । प्रदर्शनी अवलोकन सबैका लागि निःशुल्क रूपमा खुला गरिएको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले बताउनु भयो ।
मेला प्रदर्शनी उद्घाटन समारोहको अध्यक्षता समेत गर्नु भएका सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम कृषिमा प्रचुर सम्भावना भएको प्रदेश हुनाले त्यसको पहिचान गर्न पनि मेला कोषेढुंगा साबित हुने धारणा व्यक्त गर्नुभयो । मेलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी बढाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । कृषि क्षेत्रको आधुनिकीकरणसँगै नयाँ पुस्तालाई समेत कृषिमा जोड्नु पर्ने कुरामा प्रदेश सरकारले चासो देखाएको उहाँले भनाइ छ । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले उक्त मेला सुदूरपश्चिम प्रदेशको बिम्बका रूपमा रहेको उल्लेख गर्नुभयो । कृषकहरूको त्याग र समर्पणको सम्मानमा आयोजित मेलाले कृषि क्षेत्रमा नयाँ सोचको विकास गर्ने उहाँको अपेक्षा छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणलाई प्रवर्द्धन गर्न यो मेला विशेष महत्त्वपूर्ण हुने विश्वास लिएको सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेलको भनाइ छ । उक्त मेलाले सुदूरपश्चिमका स्थानीय तहहरूलाई पनि फाइदा पुर्याउने देखिन्छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले समेत मेलाको अवलोकन भ्रमण गरी समन्वय र सहकार्यलाई थप मजबुत बनाइरहेको पाइन्छ । प्रदर्शनी मेलाको स्थलगत अवलोकन पछि आआफ्नो धारणा राख्दै कैलालीको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना र चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले कृषकहरूको हितमा सबै तहका सरकार र सरोकारवाला पक्ष मिलेर योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
मेलामा सहभागी हुनु भएका किसानहरूले नयाँ प्रविधिहरू र व्यावसायिक कृषिका बारेमा धेरै कुरा सिक्न पाएको अनुभव सुनाउनु भएको छ । स्थानीय स्तरमा उत्पादित कृषि सामग्री, खाद्य पदार्थ तथा पशुपन्छीजन्य उत्पादनहरूको बिक्री तथा बजारीकरणका लागि मेला उपयोगी हुने विश्वास गरिएको छ । मेलाले स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने अवसर सिर्जना गरेको छ । आफ्नो उत्पादन विक्री तथा प्रदर्शनीका लागि मेलामा स्टल राख्नु भएका कञ्चनपुरको पुनर्वासका नर्सरी व्यवसायी सुरेश गजुरेल र कैलालीको धनगढीकी कृषि औजार व्यवसायी बिस्ना शाहले मेला प्रदर्शनीबाट बजारीकरणमा सहज हुने अपेक्षा गर्नुभयो । यसरी सुदूरपश्चिममा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीले किसानहरूलाई नवीनतम प्रविधिसँग परिचित गराउनुका साथै उत्पादन वृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ ।