- तर्कराज भट्ट, डडेलधुरा, २७ माघ ।
नेपाली सेनामा १८ वर्ष सेवा गरिसकेपछि डडेलधुराको अमरगढी नगरपालिका–२, कुस्मालीका खडक थापामगर कृषिमा लाग्नु भएको छ । धेरै नेपाली युवा रोजगारीका लागि बिदेसिने क्रम बढिरहेको बेला उहाँले भने स्वदेशमै मिहिनेत गरेर आकर्षक आम्दानी गरिरहनु भएको छ । उहाँ अहिले किवीका बिरुवा उत्पादन गरेर विभिन्न जिल्लामा निर्यात गरी प्रशस्त लाभ लिइरहनु भएको छ ।
उहाँ नेपाली सेनामा कार्यरत रहँदा उहाँका दाइ लक्ष्मण थापामगरले १२ वर्षअघि आलिताल गाउँपालिका–२, लामिटुँडामा ध्रुव कृषि फर्म सञ्चालन गरेर किवी खेती सुरु गर्नु भएको थियो । किवी खेती सफल भएपछि लक्ष्मणले ७ वर्षअघि बाट त्यहाँ किवीका बिरुवा (बेर्ना) उत्पादन सुरु गर्नु भयो ।
नेपाली सेनाबाट अवकाश लिएपछि खडकले पनि किवी खेती व्यवसायलाई अङ्गाल्नु भयो । ३ वर्षअघि अमरगढी नगरपालिका–२ कुस्मालीमा उहाँले किवीका बेर्ना उत्पादन थालेर यसलाई राम्रो आम्दानीको स्रोत बनाउनु भएको छ ।
किवी खेतीतर्फको आकर्षण:
थापामगरले सामाजिक सञ्जाल, विभिन्न अनलाइन मिडिया तथा बिबिसीबाट किवी खेतीबारे जानकारी पाएपछि यस क्षेत्रमा लाग्ने निर्णय गरेको बताउनु भयो । डडेलधुराको हावापानी, माटो तथा वातावरण किवी खेतीका लागि उपयुक्त रहेको थाहा पाएपछि उहाँले यसको व्यावसायिक उत्पादनतर्फ लाग्ने सोच बनाउनु भयो। अहिले उहाँ यस क्षेत्रमा सफल कृषकका रूपमा चिनिनुहुन्छ।
टर्नेलमा ५ हजार बिरुवाको उत्पादन:
हाल उहाँले कुस्मालीमा करिब ५ हजार किवीका बिरुवा उत्पादन गरी ती बिरुवाहरू विभिन्न जिल्लाहरूमा निर्यात गरिसक्नु भएको छ । डडेलधुरा सहित सुदूरपश्चिमका अन्य कृषि ज्ञान केन्द्रहरूबाट समेत बिरुवाको माग हुने गरेको उहाँले बताउनु भयो ।
थापामगरले रेड, हेवार्ड, ब्रुन र एल्सन प्रजातिका कलमी बिरुवा उत्पादन गरिरहनु भएको छ । यी बिरुवाहरूको मूल्य प्रति बोट १५० देखि २५० रुपैयाँ पर्छ। उहाँ किवीका बिरुवा बिक्री गरेर वार्षिक सात लाख सम्म आम्दानी गर्नुहुन्छ । किवी खेती गर्नका लागि प्राविधिक ज्ञान आवश्यक हुने भएकाले उहाँले नयाँ किसानलाई आवश्यक तालिम तथा जानकारी पनि दिँदै आउनु भएको छ । उहाँका अनुसार माघ महिना किवीका नयाँ बिरुवा लगाउनका लागि उपयुक्त समय हो। थापामगरका अनुसार असिना पानी नै किवी खेतीको मुख्य चुनौती हो। यदि असिना पानीबाट बचाउन सकिएमा, किवी खेतीमा अन्य कुनै रोग तथा समस्या देखिँदैन।
सरकारी सहयोग र अनुदान:
कृषि फर्म सञ्चालनका क्रममा थापामगरले विभिन्न सरकारी निकायहरूको सहयोग पाउनु भएको छ । कृषि ज्ञान केन्द्र, आलु सुपर जोन लगायतका संस्थाहरूले उहाँलाई प्राविधिक तथा आर्थिक सहयोग गरेका छन्। साथै, ५० प्रतिशत अनुदानमा टनेल निर्माण गर्ने सुविधा पनि प्राप्त भएको छ, जसले बिरुवा उत्पादन तथा संरक्षणमा सहयोग पुर्याएको छ।
डडेलधुराको किवी सम्भावना:
डडेलधुराको मौसम तथा माटो किवी खेतीका लागि उपयुक्त रहेको किसानहरूले बताउँदै आएका छन् । थापामगरका अनुसार यदि सरकारी निकाय र किसानहरू मिलेर काम गरे डडेलधुरालाई किवीको पकेट क्षेत्र बनाउन सकिन्छ ।
यहाँ उत्पादन गरिएको किवी गुणस्तरीय र स्वादिष्ट हुने भएकाले यसलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न सकिन्छ । १० वर्षअघि प्रति केजी ५ सय रुपैयाँ मा बिक्री हुने किवीको फल हाल घटेर दुई सय रुपैयाँको हाराहारी पुगेको छ । बजारमा किवीको आपूर्ति बढेसँगै यसको मूल्य पनि घटेको हो । तर, माग निरन्तर रहेको हुँदा किसानहरू यस खेतीप्रति आकर्षित भइरहेका छन् ।
थापामगरले आफ्नो सफलताबाट प्रेरित भएर अन्य किसानलाई पनि किवी खेतीमा लाग्न प्रेरित गर्दै आउनु भएको छ । उहाँले किवी खेतीका बारेमा विभिन्न ठाउँमा जानकारी बाँड्ने तालिम दिने तथा किसानहरूलाई मार्गदर्शन गर्ने काम पनि गर्नु भएको छ । यस वर्ष ५ हजार बिरुवा उत्पादन गरिसकेका थापामगरले आगामी वर्षमा उत्पादन अझ बढाउने लक्ष्य राख्नु भएको छ ।