विकास सिंह महता, बङ्गलादेश, ०८ फेब्रुअरी । एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलो खेल उज्बेकिस्तानसँग खेल्ने छ । बङ्गलादेशको ढाकामा एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ शुक्रबारदेखि सुरु भएको हो । च्याम्पियनसिप खेल्न बङ्गलादेश पुगेको नेपाली एम्पुटी पुरुष राष्ट्रिय टिमले पहिलो खेलमा माघ २६ गते शनिबार (फेब्रुअरी ८) बिहान ११:३० बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल टिमका टिम कप्तान डिल्ली बहादुर बिष्टले भने "पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पुगेको उक्त नेपाली टिमले लिगका चार खेलमा सुखद नतिजा ल्याउने अपेक्षा राखेको छु । अन्य देशको तुलनामा हेर्ने हो भने नेपाली टोली पनि बलियो नै रहेको छ ।" दोस्रो खेल नेपालले बङ्गलादेशसँग माघ २७ गते बिहान ११:३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्ने प्रतियोगिताको खेल तालिका रहेको छ ।
एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडी हरूले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकाया भन्छन्, "यो नेपाली फुटबलका लागि एक इतिहास नै हो ।" प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्बेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए तापनि इरानको सहभागिता नहुँदा ५ राष्ट्र बिच प्रतिस्पर्धा हुने छ । नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्र बहादुर तामाङले बताए । उनले भने, "खेलाडीहरूलाई यो प्रतियोगिताको लागि छोटो समय भयो प्रशिक्षण गराउन लागेको । तर पहिलो पटक सहभागिता जनाउन पाएको हुँदा सबै जना हर्षित छौँ । पहिलो खेल अट्याकिङ खेल्ने छौँ र जित निकाल्ने गरी टिम खेल्ने छ ।"
फेब्रुअरी ७ देखि १२ तारिखसम्म बङ्गलादेशको ढाकामा रहेको वसुन्धरा रङ्गशालामा जारी रहने उक्त प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडी र ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते बङ्गलादेश प्रस्थान गरेको थियो ।नेपाली टिममा खेलाडी डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंह रहेका छन्। नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् । प्रशिक्षकमा चित्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।
प्रतियोगिताको उद्घाटन इन्डोनेसिया र उज्बेकिस्तान बिच भएको खेलमा उज्बेकिस्तानले ८-१ गोलको फराकिलो अन्तरले इन्डोनेसियालाई हराउँदै पहिलो जित निकालेको छ । शुक्रबार दिन दिउँसो ३ बजे भएको दोस्रो खेल बङ्गलादेश र इराक बिच भएको थियो । उक्त खेलमा इराकले ६-० गोलको अन्तरले बङ्गलादेशलाई हराउँदै ले पनि पहिलो जित निकालेको छ ।