डडेल्धुरा २४, माघ । डडेल्धुरामा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । उत्पादित सुन्तला डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा सिन्धुली र काठमाण्डौँ सम्म निर्यात भएको छ ।
जिल्लामा यस वर्ष १६ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो । उहाँका अनुसार गत वर्ष १६ करोड २० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्ष २७ सय मेट्रीक टन सुन्तला उत्पादन भएकोमा यसपटक २७ सय ५० मेट्रीक टन उत्पादन भएको छ ।
मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वाग्बानी विकास अधिकृत गोबिन्द भट्टले बताउनु भयो । कृषि ज्ञान केन्द्रले सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिदै सुन्तलाको बगैँचा सुधार, मलखादको व्यवस्थापन, सिँचाई र बोट काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको भट्टले बताउनु भयो ।
जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन् । कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउने गरेको भागेश्वर गाउँपालिका–५ का किसान प्रकाश भट्टले बताउनु भयो । सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोग गर्दा उत्पादनमा वृद्धि हुने गन्यापधुरा गाउँपालिका–५ का किसान लक्ष्मिकान्त ओझाले बताउनु भयो ।
असोजबाट सुन्तला बिक्री सुरु हुने डडेल्धुराका बजारमा माघ सम्म सुन्तला बिक्रि हुने गरेको छ । अहिले बजारमा सुन्तला प्रतिकिलो एक सय पचास रुपैँया सम्ममा बिक्री हुँदै आएको छ ।
सुन्तलाका लागि अमरगढी, आलिताल, अजयमेरु, गन्यापधुराको रेल, भागेश्वरको रुपाल, चुल्ल, सिराड लगायतका क्षेत्र प्रख्यात छन । जिल्ला भरी तिन सय दश हेक्टर क्षेत्रफलमा सुन्तलाको खेती हुदै आएको छ ।