हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा एक यस्तो ताल छ, जहाँ विभिन्न प्रजातिका चराहरूले राज गर्ने गर्दछन् । त्यो ताल हो, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको पुरैनी ताल । यो तालले एउटा विशेष परिचय पनि पाएको छ – चराको स्वर्ग । आज हामी पुरैनी तालको संरक्षण, त्यहाँको जैविक विविधता र चरा पर्यटनको विकासको बारेमा रिपोर्ट प्रस्तुत गर्दै छौँ ।
भिडियाे रिपाेर्ट ...
यो हो, कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोट स्थित पुरैनी ताल, जुन स्थानीयहरूबिच चराको स्वर्ग भनेर पनि चिनिन्छ । यद्यपि यो ताल अहिले संरक्षण, पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । करिब २९ बिघा क्षेत्रफलमा फैलिएको यो ताल चरा अनुसन्धानकर्ताहरूका लागि विशेष महत्त्व राख्दछ । यो ताल चरा प्रेमीहरू र पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । प्रवासी चराहरू कात्तिकदेखि बैैशाखसम्म यहाँ आउने गर्दछन् । रैथाने चराहरू भने वर्षैभरि ताल वरिपरिको सिमसार क्षेत्रमा रहन्छन् । साँच्चै, यो ताल चराको स्वर्ग नै हो । नेपाल पक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यहाँ कम्तीमा पनि ५५ प्रजातिका चरा पाइन्छन् । संरक्षित क्षेत्र बाहिर सबैभन्दा धेरै चरा पाइने ठाउँ पनि यही नै हो ।
तालको संरक्षणले जैविक विविधता मात्रै जोगाउँदैन, चरा पर्यटनलाई पनि प्रवर्द्धन गर्छ । तर अपसोच, ताल जलकुम्भीले भरिएको छ, अतिक्रमणमा परेको छ र वर्षातमा आउने बाढीको चपेटामा पर्ने गरेको छ । तालको जैविक विविधता जोगाउन स्थानीय सरकार र चरा विज्ञहरूले विभिन्न योजनाहरू त बनाउँछन् । यद्यपि उक्त योजना कार्यान्वयन भने हुन सकेको छैन । तालको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पर्खाल निर्माण, अतिक्रमण र जलकुम्भी हटाउने कार्य र अवलोकन घर सहित पर्यटकीय पूर्वाधार विकास गर्ने योजना अघि सारेको छ । बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरी बताउनु हुन्छ । तर नगरपालिकाबाट सहयोग नपाएको उहाँको गुनासो छ ।
चरा विज्ञहरूले यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गर्न जोड दिएका छन् । चराको वासस्थान सुरक्षित राख्न जलाधार क्षेत्र संरक्षण र जैविक विविधता कायम राख्न आवश्यक छ । पुरैनी तालमा भारत तथा तेस्रो मुलुकहरूबाट पनि अनुसन्धानकर्ताहरू आउने गर्दछन् । भारतबाट आउनु भएका वन्यजन्तु फोटोग्राफर विक्रम तिवारी भन्नुहुन्छ, सिकार त मानिसहरू नै गरिरहेका छन् । मानिसहरूले हस्तक्षेप नगरेमा मात्रै पनि पक्षीको संरक्षण धेरै राम्रो हुन सक्छ । चरा मारेर खानु हुन्छ भने त्यसले दुई चार सय मूल्य बराबरको मासु मात्रै दिन्छ, तर त्यही चरा कुनै विदेशी चरालाई देखाउन सक्यौँ भने कम्तीमा पनि एक सय डलर दिन सक्छ । चराको पनि जीवन रहने छ, त चरा पर्यटनबाटै हामी हाम्रो जीविका अझै राम्रो बनाउन सक्छौँ । चरालाई सुट गर्नु छ त, क्यामेराले सुट गरौँ, गोलीले होइन, विषादीले होइन ।
यहाँका स्थानीय समुदाय र सिद्धेश्वर सहकारी संस्थाले ताल संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । विद्यार्थीहरूले पनि तालको संरक्षण र चरा अवलोकन गर्दै जैविक विविधता संरक्षणको महत्वबारे समुदायमा जनचेतना फैलाइरहेका छन् । तालको संरक्षणबाट यहाँका बासिन्दाहरूको आयस्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ । तालको पानी सिँचाइका लागि उपयोगी छ र माछापालनबाट समुदायको आय बढेको छ । ताललाई पर्यटकीय सर्किटमा समेट्ने योजना कार्यान्वयन गर्न सकेमा स्थानीय समुदायमा रोजगारी सिर्जना हुन सक्ने छ । चराको वासस्थानलाई सुरक्षित राख्न स्थानीय सरकार र संस्थाहरूले दीर्घकालीन योजनाहरू बनाइ कार्यान्वयन गर्न जरुरी छ । उक्त योजनाले, तालको जैविक विविधता संरक्षण गर्दै चरा पर्यटन प्रवर्द्धन गर्न र स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पु¥याउने छ ।