हरिश्चन्द्र बाग, कञ्चनपुर, २० माघ । नेपाली काँग्रेसका भीमदत्त नगर सभापति करिब ४० वर्षीय अच्युत कलौनीको मृत्यु भएको घटनाबारे चासो राखेर गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुग्नु भएको छ । उहाँले घटनाबारे परिवारजन, स्थानीय नेता कार्यकर्ता र प्रशासनबाट जानकारी लिनु भएको छ । गृहमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी गणेश चन्द पनि महेन्द्रनगरमै बसेर अनुसन्धानको निगरानी गरिरहनु भएको छ ।
उता परिवारजन, आफन्त, स्थानीयवासी र नेता कार्यकर्ताहरूले निष्पक्ष छानबिनको माग गरिरहनु भएको छ । काँग्रेसका नगर सभापति कलौनी शुक्रबार साँझ धनगढीबाट फर्किएपछि राति घरतर्फ लागेको देखिन्छ तर उहाँ घर पुगेको देखिँदैन । शनिबार बिहान भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको सडकपेटीमा घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको थियो ।
थाहा पाएलगत्तै घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभएको छ । घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले हिजो बिहानैदेखि तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको थियो । यद्यपि, अहिलेसम्म घटनासँग सम्बन्धित थप कुनै ठोस प्रमाण फेला परेको छैन । प्रहरीले घटनास्थल र आसपासका क्षेत्रमा रहेका सिसिटिभी फुटेजको अध्ययन गरिरहेको जनाएको छ ।
कलौनीको रहस्यमय मृत्युमा घटनास्थलमा किप्याड मोबाइल नभेटिनु र खल्तीमा भएको पर्स सडकमा फेला पर्नु तर त्यसमा रुपैयाँ नभेटिनुले शङ्का बढाएको छ । परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कलौनीसँग दुई मोबाइल हुन्थे । तीमध्ये ‘एन्ड्रोइड’ मोबाइल साथमै फेला परे पनि अर्को सानो किप्याड मोबाइल भेटिएको छैन । प्रहरीका अनुसार उक्त मोबाइलको लोकेशन भने महेन्द्रनगरमै देखिन्छ । मृतक कलौनीको शरीरमा कुनै बाहिरी चोटपटक भने छैन । कलौनीको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । शवको परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञहरू महेन्द्रनगर पुग्नु भएको छ । आइतबार बिहान शव परीक्षण गर्न थालिएको छ । त्यसबाट कलौनीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री भइसक्नु भएका कलौनी हाल नेपाली काँग्रेसको भीमदत्त नगर सभापति र महेन्द्रनगरस्थित बैजनाथ नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि हुनुहुन्थ्यो ।