मङ्गल जोशी, कञ्चनपुर, १७ माघ । माइती नेपाल कञ्चनपुरले कानुन संकायका विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसाविरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय कानुन विभागअन्तर्गत छैटौँ सेमेस्टरका विद्यार्थीहरूलाई उक्त अनुशिक्षण प्रदान गरिएको हो । कानुन संकायले आयोजना गरेको ‘स्वच्छ स्वास्थ्यका लागि साइकलिङ र स्पष्ट न्यायका लागि फिल्ड भिजिट’ कार्यक्रमअन्तर्गत माइती नेपाल कञ्चनपुरको कार्यालयमा पुगेका विद्यार्थीहरूलाई कानुनी अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिइन् ।
अनुशिक्षणका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ तथा ऐनमा भएका संशोधनहरूबारे विद्यार्थीहरूलाई संक्षिप्त जानकारी दिइएको थियो । साथै, मानव बेचबिखन तथा लैंगिक हिंसासम्बन्धी कानुनी व्यवस्था, यसको कारण, समस्या तथा निराकरणका जटिलताहरूबारे समेत जानकारी गराइयो । कार्यक्रम अन्तरक्रियात्मक ढंगले सञ्चालन गरिएको थियो । सहभागी विद्यार्थी दिलविक्रम धामीले अनुशिक्षण अत्यन्त लाभदायक र प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनले भने, "कलेजमा हामीले सैद्धान्तिक ज्ञान मात्र प्राप्त गर्छौँ, तर आजको कार्यक्रममा सहभागी भएपछि मानव बेचबिखन र लैंगिक हिंसाको वास्तविक अवस्था बुझ्न सक्यौँ । पाएको ज्ञानलाई दैनिक जीवनमा लागू गर्ने र यस्ता घटनाहरूमा माइती नेपाललाई सक्दो सहयोग गर्ने प्रतिज्ञा गर्छौँ ।"
त्यस्तै, अर्का सहभागी रिजन बुढाले कलेजमा सम्बन्धित विषयमा आधारभूत सैद्धान्तिक ज्ञान पाएको भए पनि यसको व्यापक स्वरूपबारे माइती नेपालबाट बुझ्न पाएको बताए । उनले भने, "मानव बेचबिखनका स्वरूप, भारतका कोठीहरूमा रहेका पीडितहरूको उद्धार तथा पुनर्स्थापनाका जटिलता र यसमा राज्यको भूमिकाबारे विस्तृत जानकारी प्राप्त गर्यौँ । यस्तो जानकारी अन्यत्र कतै पाउन सकेका थिएनौँ, त्यसैले माइती नेपाललाई हामी सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका छैटौँ सेमेस्टरका विद्यार्थीहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छौँ ।"
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार संस्थाले समुदाय, विद्यालय तथा विश्वविद्यालय तहमा निरन्तर सामाजिक सचेतना अभियान सञ्चालन गर्दै आएको छ । "हामी घरदैलो, सार्वजनिक स्थल, विद्यालय, समुदाय तथा विश्वविद्यालयसम्म पुगेर मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्छौँ," उनले भनिन् । माइती नेपाल कञ्चनपुर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने जिल्लाकै अग्रणी संस्था हो । सन् २००२ (वि.सं. २०५९) मा कञ्चनपुरमा शाखा विस्तार भएपछि संस्थाले विगत २२ वर्षदेखि महिला तथा बालबालिकाका हकहित संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।