हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ बैजनाथ टोलमा सुरक्षित आवास परियोजना अन्तर्गत निर्माण भएका १० वटा घरहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा लालझाडी गाउँपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौताअन्तर्गत गडबिजुला सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत सञ्चालित सुरक्षित आवास कार्यक्रममार्फत यी घरहरू निर्माण सम्पन्न भएका हुन् । १० महिनाको अवधिमा सम्पन्न भएको उक्त निर्माण कार्यका लागि लालझाडी गाउँपालिकाले ३० लाख, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले संयुक्त रूपमा २० लाख ५० हजार तथा स्थानीय समुदायले १५ लाख बराबरको जनश्रमदान गरेको बताइएको छ । कुल ६५ लाख ५० हजार रुपैयाँ लागत खर्चमा ती घरहरू निर्माण भएका हुन् ।
लाभग्राही परिवारहरूलाई बुधबार एक कार्यक्रमकाबीच घर निर्माणको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । लालझाडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पहल बहादुर थापाको अध्यक्षमा आयोजित आवास हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त रहनु भएको थियो । लालझाडी गाउँपालिका, हयाबिट्याट फर हयुम्यानिटि नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौताबाट १० वटा घरहरू निर्माण सम्पन्न भई हस्तान्तरण गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । आगामी दिनहरूमा समेत यस किसिमका कार्यमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । कञ्चनपुर जिल्लामा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र आरक्षपीडितहरूको समस्या वर्षौँदेखि समाधानको पर्खाइमा रहेको उल्लेख गर्दै अहिले गठन भएको आयोगले उक्त समस्या समाधान गर्ने गरी कार्य थालनी गरेको उहाँको भनाइ छ । एक लाख १३ हजार ४६७ वटा निवेदन परेको उल्लेख गर्दै निवेदन दिन छुटेका घरधुरीहरूका लागि अन्तिम पटक सूचना जारी गर्नेबारे छलफल भइरहेको उहाँले बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिकाको अगुवाइमा अहिले १० वटा घरहरू निर्माण भई हस्तान्तरण गरिएको र थप १२ वटा घर निर्माणका लागि सम्झौता प्रक्रियामा रहेको बताउनु भयो । यस कार्यमा महत्त्वपूर्ण सहयोगका लागि हयाबिटयाट फर हयुम्यानिटि नेपाल र निड्स नेपाल प्रति आभार व्यक्त गर्नुभयो । उहाँले सुरक्षित आवास कार्यक्रमले विपन्न परिवारको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । लालझाडी गाउँपालिका क्षेत्र भित्रका भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र आरक्षपीडितहरूको समस्या समाधानका लागि उहाँले भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तको ध्यानाकर्षण गराउनु भयो ।
लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले स्थानीय तहका जनप्रतिनिधिहरूको सकारात्मक सोचका कारण अतिविपन्न परिवारहरूमध्ये पहिलो चरणमा १० वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सफल भइएको उल्लेख गर्नुभयो । यस कार्यमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । यस कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका केन्द्रित रहेको उहाँको भनाइ छ । वडाध्यक्ष पहल बहादुर थापाले अतिविपन्न परिवारहरू छनौट गरी १० वटा घरहरू निर्माण गरिएको र आगामी दिनमा अन्य टोललाई पनि समेटेर थप घरहरू निर्माणका लागि पहल भइरहेको उल्लेख गर्नुभयो । लालझाडी गाउँपालिका वडा नम्बर ५ बाटै जग्गाधनी पुर्जा वितरण गर्न पनि उहाँले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग अनुरोध गर्नुभयो ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विपन्न परिवारका लागि विकास साझेदार संस्थाहरूसँग समन्वय गरी गाउँपालिकाले घर निर्माण कार्यलाई सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आवासको हक नागरिकको मौलिक हकका रूपमा रहेको उल्लेख गर्दै उहाँले सहकार्यका लागि लालझाडी गाउँपालिका र हयाबिट्याट फर हयुम्यानिटि नेपाल प्रति आभार व्यक्त गर्नुभयो । उहाँले अन्य पालिकाहरूमा पनि निड्स नेपालले यस किसिमका कार्यक्रमहरूका लागि सहकार्य गरिरहेको उल्लेख गर्नुभयो । सुरक्षित आवास परियोजनाका कार्यक्रम संयोजक सरस्वती पुरी बमले पालिका, विकास साझेदार संस्था र समुदायको सक्रियताले नै उक्त कार्य सम्पन्न भएको उल्लेख गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष जानकी चुनाराले विपन्न परिवारहरूका लागि घर निर्माण गरी हस्तान्तरणसम्म पुग्दा प्राप्त सहयोगको लागि आभार व्यक्त गर्नु भएको छ । लाभग्राही विपन्न परिवारका लागि यो सपनाको घर जस्तै भएको उल्लेख गर्दै यसले धेरै ठुलो राहत महसुस गरिएको उल्लेख गर्नुभयो । सुरक्षित आवास लाभग्राहीहरूले खुसी व्यक्त गर्दै सरकार तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँहरूले सुरक्षित बसोबासको वातावरण प्राप्त भएपछि जीवनयापनमा सहजता आउने बताउनु भएको छ ।
आवास हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्व अध्यक्ष बचन बहादुर सिंह, हयाबिटयाट फर हयुम्यानिटि नेपाल र निड्स नेपालका प्रतिनिधिहरू, प्राविधिक टोली, लालझाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका स्थानीय जनप्रतिनिधिहरू तथा अन्य स्थानीय बासिन्दाहरूको समेत कार्यक्रममा उपस्थिति थियो । घर निर्माण कार्यसँगै सो समुदायमा वित्तीय साक्षरता तालिम, खानेपानी, सरसफाइ सम्बन्धी तालिम तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिएको छ । समुदायमा विपद् व्यवस्थापन समिति गठन गरिनुका साथै फलफूल, डाले घाँस र बाँसका बिरुवाहरू वितरण गरिएको थियो । जनताको तटबन्ध कार्यक्रमअन्तर्गत २ सय २२ वटा बाँसका बिरुवा प्रदान गरिएको कार्यक्रम संयोजक सरस्वती पुरी बमले जानकारी दिनुभयो ।
घर निर्माणका प्रक्रियाहरू
१. सुरक्षित आवास निर्माण कार्यविधि २०८० लालझाडी गाउँपालिकाबाट पारित
२. कार्यपालिकाको निर्णय बमोजिम लालझाडी वडा नं. ५ लाई १० घरधुरी विपन्न परिवार छनौटका लागी अख्तियारी
३. वडा नं. ५ को वार्ड कार्यालय बाट ७ दिने सूचना जारी (निश्चित सूचकहरू निर्माण गरी विपन्न घरपरिवारका लागी निवेदन पेस गर्न आह्वान)
४. परेका थुर्पै निवेदनमा १० घरधुरी छनौट
५. त्रिपक्षीय सम्झौता (लालझाडी गाउँपालिका, हयाबिट्याट फर हयुम्यानिटी नेपाल र निड्स नेपाल बिच)
६. छनौट भएका घरधुरीबाट नै आवास निर्माण उपभोक्ता समिति गठन
७. गाउँपालिका र गडबिजुला उपभोक्ता समिति बिच दुई पक्षीय सम्झौता (सम्झौताको मुख्य सर्त प्रति घर तिन लाखको दरले दश घर निर्माणको लागी तिस लाख रुपैयाँ उपभोक्ता समितिको खातामा जम्मा गरी उपभोक्ता समितिले नै खरिद प्रक्रिया गर्ने)
८. निड्स नेपाल र गडबिजुला उपभोक्ता समिति बिच दुई पक्षीय सम्झौता (सम्झौताको मुख्य सर्त प्रति घर दुई लाखको दरले दश घर निर्माणको लागी बिस लाख रुपैयाँ उपभोक्ता समितिको खातामा जम्मा गरी उपभोक्ता समितिले नै खरिद प्रक्रिया गर्ने)
९. गड्बिजुला उपभोक्ता समिति मार्फत कामको थालनी
१०. १० महिनाको निरन्तर प्रयासपछि घर निर्माण कार्य सम्पन्न
११. १० घरधुरीमा नै २ कोठा १ बरण्डा र १ चर्पी निर्माण गरिएको छ ।
यो परियोजना सम्पन्न गर्न प्रत्यक्ष समुदायमा निरन्तर रूपमा सहजीकरण, आर्थिक, सामाजिक र प्राविधिक सहयोगको लागि कार्यक्रम संयोजक सरस्वती पुरी बम, कानुनी सल्लाहकार झंकर कुँवर, प्रशासन तथा लेखा अधिकृत दीपेन्द्र चौधरी, सब इन्जिनियर सरोज बलायर, सामाजिक परिचालन अधिकृत दिलीप तामाङ र भूमि सहायक अधिकृत सोनु बोहराका महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ ।
नोट : यस्तै परियोजना बेलौरी नगरपालिका वडा नं. ९ र १० मा पनि सञ्चालन भएको थियो ।