मङ्गल जोशी, कञ्चनपुर, १६ माघ । माइती नेपाल कञ्चनपुरले बाल यौन शोषण र मानव बेचबिखनका विरुद्ध सेवा प्रदायकहरूको क्षमता अभिवृद्धिका लागि एक कार्यक्रमको आयोजना गरेको छ । बाल यौन शोषण, बाल यौन दुर्व्यवहार र मानव बेचबिखनका घटनामा क्रमिक रूपमा वृद्धि भएका कारण यस क्षेत्रमा कार्यरत सरकारी निकाय तथा गैरसरकारी संस्थाका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि सो कार्यक्रमको आयोजना गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनु भएको छ । पछिल्लो समयमा विशेष गरी स्कुल तथा कलेजमा अध्ययनरत किशोरीहरू विभिन्न बहानामा बाल यौन शोषण र बाल यौन दुर्व्यवहारको सिकार बन्दै आएका छन् । जिल्लामा यी र यस्ता घटनाहरू न्यूनीकरणका लागि सरकारी निकाय सहित थुप्रै गैरसरकारी सङ्घसंस्थाहरू पनि क्रियाशील छन् । त्यसका बाबजुद पनि यी घटनाहरूमा कमी नआएपछि सबै सेवा प्रदायकहरूको ध्यानाकर्षण गर्न र सम्बन्धित विषयमा क्षमता अभिवृद्धि गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
मूलतः सूचना तथा प्रविधिको तीव्र विकाससँगै फस्टाएको सामाजिक सञ्जालको दुरुपयोगका कारण १३ देखि २२ वर्ष उमेर समूहका अधिकांश किशोरीहरू कुनै न कुनै रूपमा बाल यौन शोषण र बाल यौन दुर्व्यवहारको फन्दामा पर्दै मानव बेचबिखनका जोखिममा समेत पर्ने गरेका छन् । यो अवस्था अत्यन्त भयावह छ । सँगसँगै लागु पदार्थको दुर्व्यसनको मात्रा पनि दिनानुदिन बढ्दै गइरहेको र यसका कारण पनि बाल यौन शोषण र बाल यौन दुर्व्यवहार तथा मानव बेचबिखनका घटनामा बढोत्तरी भएको विभिन्न तथ्याङ्कहरूले देखाएको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट भन्नुहुन्छ, "विगत लामो समयदेखि हामी यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका थियौँ । क्रमिक रूपमा भएका घटनाहरूको गहिरो अध्ययन, अनुसन्धान र विश्लेषण पश्चात् यो निष्कर्षमा पुग्यौँ कि यी सबै घटनाका पछाडि मूलभूत रूपमा लागु औषधको दुर्व्यसन र सामाजिक सञ्जालको दुरुपयोग रहेको छ ।" कार्यक्रमका दौरानमा संयोजक भट्टले महिलाहरूको सामाजिक, आर्थिक परनिर्भरता पनि यो समस्याको मुख्य कारण रहेको उजागर गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै गैसस महासङ्घका उपाध्यक्ष तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले महिला तथा बालबालिकाको क्षेत्रमा माइती नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै यो समस्या गम्भीर रूपमा देखापरेको र आफूलाई पनि खट्किरहेको सुनाउनु भयो । माइती नेपालले सीमा क्षेत्रमा निगरानीको कार्यलाई कडाइका साथ निरन्तरता दिँदै अन्य खुला सिमानाहरूमा पनि सूचना केन्द्रहरूको पहुँच पुर्याउन सके यो समस्या न्यूनीकरणमा अझै टेवा पुग्ने उहाँको भनाइ छ । "किशोर किशोरीहरूको हकमा अभिभावक सशक्तीकरण, नैतिक शिक्षा र आमसञ्चार माध्यममा यी र यस्ता विषयहरूको उठान अत्यन्तै जरुरी रहेको छ", उहाँको भनाइ छ ।
मन्तव्यका क्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भगवती थापाले यो समस्या न्यूनीकरणका लागि सुदूरपश्चिम विश्वविद्यालयका सामाजिक शास्त्र विभाग अन्तर्गतका विद्यार्थीहरूलाई पनि यस्ता कार्यक्रममा सहभागी गराई उनीहरूलाई स्वतःस्फूर्त स्वयंसेवकको रूपमा परिचालन गर्न सकिने, स्थानीय सरकार जिम्मेवार हुनुपर्ने र समन्वय सहकार्यको पाटोमा पनि स्थानीय सरकारले नै अग्रणी भूमिका निर्वाह गर्ने कुरा अभिव्यक्त गर्नुभयो । नारी उत्थान केन्द्रकी कार्यकारी निर्देशक भुवन कुँवर केसीले समुदाय स्तरमा पूर्ववत् रूपमा गठन भएका निगरानी समूहहरूलाई पुनर्गठन र पुनर्जागृत गरी क्रियाशील गर्न सकेमा सूचना सम्प्रेषणमा छिटो छरितोपन आई यस्ता घटना न्यूनीकरणमा ती समूहहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा औँल्याउनु भयो । त्यसका लागि पहिलो पहल कदमी स्थानीय सरकारले नै गर्नुपर्नेमा जोड दिँदै सरकारले यसका लागि यथोचित बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा माइती नेपाल अग्रणी भूमिकामा रहेको छ । विद्यालय, ट्युसन तथा कोचिङ सेन्टरहरू र उच्च शिक्षालयहरूमा समेत बाल यौन शोषण, बाल यौन दुर्व्यवहार र मानव बेचबिखनका घटना बढ्दै गएको वर्तमान अवस्थामा यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी रहेको कार्यक्रममा सहभागी अन्य सरकारी निकाय तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको भनाइ छ । कार्यक्रममा सरकारी निकाय र गैरसरकारी संस्था समेतका २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । यो कुनै एउटा समूह वा समुदायको मात्र समस्या नभई सिङ्गो समाजको समस्या भएको हुनाले यसको समयमै निराकरण गर्न नसके यसले भोलिका दिनमा भयावह अवस्थाको सिर्जना गर्न सक्ने आकलन गर्दै सबै सहभागीहरू यसको निराकरणको लागि स्थानीय सरकारले नै पहल कदमी गर्नुपर्नेमा जोड दिनुहुन्छ ।