प्रेमराज भट्ट, कञ्चनपुर, ०४ फागुन । सधैँ जीवन एकनास रहदैँन । जीवनमा संयोगवश जे पनि हुन सक्छ । कतिपय व्यक्ति प्राकृतिक रुपमै शारीरिक अशक्तता लिएर आएका हुन्छ, त कतिपय यही भौतिक संसारको दुर्घटनाक्रमले अङ्गभङ्ग हुन पुगेका हुन सक्छन् । यसरी अपाङ्ग भएपश्चात पनि सपाङ्ग जस्तै जीवन निर्वाह गर्दै आएका विभिन्न व्यक्तिहरु मध्येका प्रतिनिधि पात्र हुन् अपाङ्गता भएका नवराज जोशी दम्पत्ति ।
२०२३ मा कञ्चनपुर जिल्लाको ग्रामीण क्षेत्र वेल्डाँडी गाउँपालिका स्थित झिलमिलामा परिवारकै जेठो छोराका रुपमा जन्म लिएका जोशी वाल्यकाल देखि नै विभिन्न दुःख पीडाहरुसंग दौतरी गाँस्दै संघर्षपूर्ण जीवनलाई अगाडी बढाउँदै आएका छन् । शारीरिक रुपमा अशक्त भएपनि आफ्ना पारिवारिक तथा सामाजिक दायित्व पुरा गर्ने प्रयास निरन्तर गरिरहे । हाल वैजनाथ माविमा क्यान्टेनलाई भाडाँमा संचालन गर्दै आएका छन् उनी ।
दोस्रो जनआन्दोलनमा समेतमा सक्रिय सहभागिता जनाएका उनले २०६१ साल देखि २०६९ सम्म ८ वर्ष नेपाल अपाङ्गता महासंघ सुदूरपश्चिमाञ्चलको क्षेत्रीय संस्थापक अध्यक्षका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । यतिका लामो समयको संघर्षका दौरान २०६५ तिर उनको जीवन दृष्टिविहिन एक महिला नन्दा पनेरुसंग वैवाहिक वन्धनमा सम्माहित हुन पुग्यो ।
पारिवारिक आवश्यकताका खातिर निरन्तर रुपमा लागि परेका नवराजको जीवन सोचेझैँ सरल नरहे पनि उनले हरेश भने जीवनमा कहिल्यै नमान्ने प्रण गरे । हिम्मत, आँट र संघर्षको पर्याय बन्न सफल भएका छन् । पछिल्लो राजनीतिक परिवर्तन पश्चात पनि अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन नआएको उनको भनाइ छ । राज्यले फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यकता अनुसार उचित प्रवन्ध मिलाइदिनु पर्नेमा उनले विशेष जोड दिए ।
नवराज संगै वैजनाथ माध्यमिक विद्यालयमा चमेना गृह संचालन गर्न उनकी पत्नीले सघाउदै आएकी छन् । उनको क्यान्टिनमा वैजनाथ ईन्जिनियरिङ्ग कलेज र वैजनाथ माविका विद्यार्थी तथा शिक्षक कर्मचारीहरु खाजा खान आउने गर्दछन् । विद्यालय समयमा मात्रै चल्ने हुदाँ सिजनमा ६ महिना संचालनमा रहने गरेकोले उनलाई भाँडा दिन, पारिवारिक आश्यकता पुरा गर्न तथा बालबच्चाको शिक्षादिक्षा व्यवस्थापनमा समेत सकस हुने गरेको छ ।
जेजस्तो कठिनाई आइपरे पनि धर्मपत्निको साथ र सहयोगले उनलाई विक्षिप्त भने हुन दिँदैन । उनका दुई सन्तान एक १० वर्षीय छोरी पुनम जोशी र अर्का ८ वर्षीय छोरा लोकेश जोशी रहेका छन् । उनीहरु नजिकै रहेको राष्ट्रिय बाल विद्या निकेतन (निजी स्कुल) मा अध्ययन गर्दै आएका छन् । नवराज अपाङ्ग छु भन्दैमा मागी खानु भन्दा केही आफ्नै पौरखले गरिखानुलाई उचित सम्झन्छन् । त्यसबाटै आत्मसम्मान र आत्मगौरवको अनुभूती हुने भन्दै जोशीले परिस्थितिलाई विश्लेषण गरी सकिने कर्म गर्न सबै अपाङ्गता भएका व्यक्तिहरुलाई सुझाउँछन् ।
राज्यले अहिलेसम्म कुनै प्रकारको सहयोग नगरेकोमा भने उनको दुखेसो रहेको छ । ‘हामीलाई राज्यले वेवास्ता गरेको झैँ अभास भएको छ, ‘अहिलेको परिवर्तनमा हाम्रो पनि उत्तिकै भूमिका रहेपनि मूल्याङ्कन भएजस्तो भने लाग्दैन्’ उनले भने । संविधानमा अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धी ठुल्ठुला गफ लेखिएका भएपनि कार्यान्वयन नभएको र प्रायःजसो धेरै लाभ पनि पहुँचवालाले मात्रै प्राप्त गर्ने गरेको उनको ठहर छ ।
समाजमा हजारौँ अपाङ्गता भएका व्यक्तिहरु माझ उनको जीवन सुख दुःखको मिश्रित कथा बनेको छ । आर्थिक अभाव भएपनि लगनशील र मेहनतले उनी आफू सहित ४ जनाको साथ जीवन गुजारा गर्दै आएका छन् । उनको प्रश्न छ : सरकारले हामीलाई कहिले हेर्छ ?