हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ माघ । पाठेघरको मुखको क्यान्सर विरुद्धको रोकथाममा महत्त्वपूर्ण मानिएको एच.पि.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान २०८१ सञ्चालनका लागि तयारी तीव्र पारिएको छ । अहिले विभिन्न क्षेत्रमा सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रमसँगै सूचना प्रवाह र खोप केन्द्रको व्यवस्थापन लगायतका कार्य भइरहेका छन् ।
बेलौरीका २,२२६ जना किशोरीहरूलाई खोप दिने लक्ष्य ।।
कञ्चनपुरको बेलौरी नगरपालिकामा पनि अभियानको तयारी तीव्र पारिएको छ । स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराका अनुसार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत बेलौरी नगरपालिकाका २ हजार २ सय २६ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । विद्यालयभित्र अध्ययनरत किशोरीसँगै विद्यालय बाहिर रहेका ३१ किशोरीलाई पनि खोप प्रदान गर्न विशेष योजना बनाइएको उहाँको भनाइ छ ।
मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनु भयो । उहाँले यस अभियानले बेलौरी नगरलाई उक्त रोगबाट मुक्त बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै सबैलाई सकारात्मक सहयोग गर्न आग्रह गर्नु भयो । यो राष्ट्रिय महत्त्वको अभियान भएकाले सबै सरोकारवालाले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । बेलौरीमा सरोकारवालाहरूसँग चरणबद्ध रूपमा अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखामा कार्यरत मानबहादुर चन्दले जानकारी दिनुभयो ।
कञ्चनपुर जिल्लामा २७ हजार ७६५ जना किशोरीलाई खोप लगाउने योजना ।।
कञ्चनपुर जिल्लाभर २७ हजार ७६५ जना किशोरीलाई खोप लगाउने योजना बनाइएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले ४२६ खोप केन्द्रमार्फत खोप प्रदान गर्ने जनाएको छ । यस अभियानले १० देखि १४ वर्ष उमेर समूहका किशोरी तथा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा विद्यार्थीहरूलाई समेट्ने छ ।
सुदूरपश्चिम प्रदेशभरका २ लाख ०१ हजार ९३४ किशोरीलाई खोप लगाउने लक्ष्य ।।
सुदूरपश्चिम प्रदेशभरका २ लाख ०१ हजार ९३४ किशोरीलाई खोप लगाउने लक्ष्यसहित सञ्चालन गरिने यो अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षित गर्न तथा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्य समस्याको रूपमा हटाउन तीन वटा मुख्य लक्ष्य निर्धारण गरेको छ ।
⃣ ९०% किशोरीलाई एच.पि.भी. खोप : १० देखि १४ वर्ष उमेरका सबै किशोरीलाई यो खोप उपलब्ध गराउने ।
⃣ ९०% महिलाको स्क्रिनिङ्ग : ३० वर्षभन्दा माथिका महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण सुनिश्चित गर्ने ।
⃣ ९०% रोग निदान भएकाको उपचार : क्यान्सर निदान भएकाहरूलाई समयमै उपचार प्रदान गर्ने ।
अभियानको मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु दरलाई घटाउनु र भविष्यमा यस रोगको प्रभावलाई कम गर्नु हो । जनस्वास्थ्यलाई दिगो बनाउने सरकारको यो पहल प्रशंसनीय मानिएको छ ।