हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ माघ । कञ्चनपुरको बेलौरीका विभिन्न समुदायमा जलपन्छी संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण संघ (BCN) र कञ्चनपुर पन्छी संरक्षण समूहको संयुक्त आयोजनामा समुदायस्तरीय सचेतनामूलक कार्यक्रम भइरहेको हो ।
ताल तथा सिमसार क्षेत्रको जैविक विविधता संरक्षणका लागि विशेष महत्व राख्ने चरा संरक्षणबारे चराविज्ञ हिरुलाल डगौराले प्रशिक्षण दिइरहनु भएको छ । कार्यक्रमले समुदायहरू लाभान्वित भइरहेको कञ्चनपुर पन्छी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरीको भनाइ छ ।
बेलौरी नगरपालिकाका उप-प्रमुख जोगराम चौधरीले ताल तथा सिमसार क्षेत्रको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, “ताल तथा सिमसार क्षेत्रमा पाइने चराहरू हाम्रो पर्यावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण छन् । यसको संरक्षणले जैविक विविधताको जगेर्ना मात्र होइन, पर्यटक आकर्षणमार्फत स्थानीय आर्थिक विकासमा पनि योगदान पुर्याउँछ । नगरपालिकाले यस्तो महत्त्वपूर्ण कार्यमा सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”
कुण्डा सब-डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले सिमसार क्षेत्रमा चराको संरक्षणका लागि समुदायको सक्रिय सहभागिता र सचेतना अत्यावश्यक रहेकोमा जोड दिनुभयो । “चराको संरक्षणले सिमसार क्षेत्रको जैविक प्रणालीलाई सुदृढ बनाउने छ । सिमसार क्षेत्र चराहरूको बासस्थान मात्रै नभई स्थानीय जीवनशैली र प्राकृतिक सम्पदाको महत्त्वपूर्ण अंश हो", उहाँले भन्नुभयो । यस क्षेत्रलाई सुरक्षित राख्न सामुदायिक वन, स्थानीय निकाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
बेलौरी नगरपालिकाका वडाध्यक्षहरू, वडा सदस्यहरू, सामुदायिक वनका प्रतिनिधिहरू, भल्मन्सा, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिहरू र समुदायका व्यक्तिहरू सचेतनामूलक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । कार्यक्रममा ताल र सिमसार क्षेत्रमा पाइने चरा प्रजातिहरूको संरक्षण, उनीहरूको जैविक महत्व र संरक्षणका प्रभावकारी उपायहरूबारे विशेष छलफल गर्ने गरिएको छ । सहभागीहरूले सिमसार क्षेत्रको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।