कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर विरुद्धको रोकथाममा महत्त्वपूर्ण मानिएको एच.पि.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान २०८१ अन्तर्गत कञ्चनपुरको बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप प्रदान गर्ने कार्यक्रमको अभिमुखीकरण गरेको छ ।
स्वास्थ्य केन्द्रले माघ १२ गतेका दिन सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको हो । यसले अभियानप्रति सरोकारवाला निकाय तथा समुदायको सहभागिता र सचेतना बढाउने विश्वास गरिएको छ ।
श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर बिष्टका अनुसार, यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ का १३ वटा खोप केन्द्र र विद्यालयमार्फत जम्मा ७९५ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्य समस्याको रूपमा हटाउन तीन वटा मुख्य लक्ष्य निर्धारण गरेको छ ।
⃣ ९०% किशोरीलाई एच.पि.भी. खोप : १० देखि १४ वर्ष उमेरका सबै किशोरीलाई यो खोप उपलब्ध गराउने ।
⃣ ९०% महिलाको स्क्रिनिङ्ग : ३० वर्षभन्दा माथिका महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण सुनिश्चित गर्ने ।
⃣ ९०% रोग निदान भएकाको उपचार : क्यान्सर निदान भएकाहरूलाई समयमै उपचार प्रदान गर्ने ।
अभियानको मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु दरलाई घटाउनु र भविष्यमा यस रोगको प्रभावलाई कम गर्नु हो । जनस्वास्थ्यलाई दिगो बनाउने सरकारको यो पहल प्रशंसनीय मानिएको छ ।