हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ माघ । कञ्चनपुरमा फेरि एक जना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन् । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका बेला आफैँलाई गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । बिष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पतालमा लगिएको छ । के कारणले उनले आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीको भनाइ छ ।
यसअघि गत महिना पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले घर फर्किएका छन् ।
किन प्रहरी जवानहरूले आत्मघाती कदम चाल्दैछन् ?
पछिल्लो समय प्रहरी जवानहरूले आत्मघाती कदम चाल्नुमा मानसिक तनाव, कार्यस्थलमा दबाब, व्यक्तिगत समस्या र मनोवैज्ञानिक स्वास्थ्यप्रतिको बेवास्ता प्रमुख कारण हुन सक्ने अनुमान गरिएको छ । प्रहरी जस्तो संवेदनशील र जिम्मेवारीपूर्ण क्षेत्रमा कार्यरत व्यक्तिहरूमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ ।
समस्या न्यूनीकरण कसरी गर्न सकिन्छ त ?
यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न प्रहरी प्रशासनले मनोवैज्ञानिक परामर्श सेवा, ड्युटी व्यवस्थापनमा सुधार, व्यक्तिगत समस्या र संस्थागत समस्याहरू समाधान गर्न गोप्य र प्रभावकारी सुनुवाइ कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउन प्रशिक्षण र कार्यशालाहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।
प्रहरी जवानहरूको आत्मघाती कदमले व्यक्तिगत र संस्थागत रूपमा ठूलो असर पुर्याउँछ । यस्ता घटनालाई केवल व्यक्तिगत समस्या भनेर हेर्नु गलत हुन जान्छ । कञ्चनपुरका पछिल्ला घटनाहरूले प्रहरी प्रशासन र सरकारलाई यो विषयमा गम्भीर बन्न दबाब पनि दिएको छ ।