धर्मराज कठायत, कञ्चनपुर, ०२ माघ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अन्तर्गत राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा समसामयिक विषयमा संवाद कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सभा कक्षमा बुधबार कार्यक्रम गरिएको हो । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजना र नागरिक आवाज धापाखेल ललितपुरको साझेदारी र मिजरियर जर्मनीको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका कार्यक्रम अधिकृत डम्बरी कुमारी बिष्टले बताउनु भयो ।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहराको सभापतित्वमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल, जिल्ला स्थित तीन वटै सुरक्षा निकायका प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी मेनुका बस्नेतले भूकम्पको विपद्बाट पूर्व तयारी र सुरक्षाका सवालमा छलफलसँगै विपद् जति बेला पनि आउन सक्ने भन्दै विपद् आउँदा हाम्रो सरकारी निकायको स्रोत र साधनको कमी देखिएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, "हाम्रो देश नेपाल भूकम्पीय दृष्टिकोणले एघारौँ स्थानमा रहेकाले पनि विपद् जहिले जुनसुकै समयमा पनि आउन सक्ने हुँदा आफै सबैले सजक हुनुपर्ने देखिन्छ । अन्य देशका तुलनामा भूकम्पबाट नेपालमा बढी क्षति हुनु भनेको हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन र त्यस सम्बन्धी उचित ज्ञानको कमी मुख्य कारण भएकाले यसबारेमा सबैले सचेत हुनुपर्ने अवस्था छ ।"
प्रमुख जिल्ला अधिकारी सापकोटाले विपद् व्यवस्थापन सम्बन्धी अहिले स्थानीय तहले नै उचित मापदण्डका साथ भूकम्प प्रतिरोधी घर निर्माणदेखि सुरक्षाका सवालमा नागरिकलाई सजक बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, "प्रशासन राज्यको प्रतिनिधि भए पनि अधिकारका सवालमा अहिले सङ्घदेखि स्थानीय तहसम्मलाई आ-आफ्नै अधिकार रहेकाले सबैले उत्तिकै जिम्मेवार भएर प्राकृतिक विपत्तिका सवालमा काम गर्नु पर्ने छ ।"
संवाद कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भूकम्पबाट बच्न सबैले सावधानी अपनाउनु पर्नेमा जोड दिँदै भूकम्पको जोखिम मानवीय र प्राकृतिक दुवै कारणले हुने भएकाले सरकारका हरेक निकायले यस विषयलाई गम्भीरतापूर्वक लिएर यो विषयमा लाग्नुपर्ने बताउनुभयो । घर बनाउँदा स्थानीय तहले नक्सा पास गर्दा ध्यान दिनुपर्ने भन्दै भूकम्पले धनी, गरिब, जात, वर्ग केही नभन्ने भएकाले सबैले हातेमालो गरी अभियानको रूपमा जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सीता बोहराले संस्थाले गरिरहेका कार्यका बारेमा सहभागीहरूलाई जानकारी दिँदै द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले २०६५ साल देखिनै सामाजिक उत्थान, महिला सशक्तीकरण र सचेतनाका सवालमा उल्लेखनीय कार्य गरिरहेको बताउनु भयो । सोही अनुरूप राष्ट्रिय भूकम्प दिवसको अवसरमा संवाद कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ रह्यो । कार्यक्रममा सहभागीहरूले भूकम्पबाट जोगिने विषयमा संवाद गर्नुभएको थियो ।