हरिश्चन्द्र बाग, काठमाडौँ, ०१ माघ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज मंगलबार कतारी र इजरायली विदेश मन्त्रीसँग फोन वार्ता गर्नु भएको छ ।
परराष्ट्र मन्त्रीद्वारा कतारका विदेश मन्त्रीसँग फोन वार्ता ।।
परराष्ट्र मन्त्री डा. राणा र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीबीच मंगलबार बिहान फोन वार्ता गर्नुभएको हो । राज्यमन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । मन्त्री डा. राणाले कतारका राज्यमन्त्री डा. खुलाइफीसँगको फोन वार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन आग्रह गर्नुभएको छ ।
मन्त्री डा. राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्ध विराम गराउन विशेष पहल गरिरहेकाले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गर्नुभएको परराष्ट्र मन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभएको छ । कुराकानीका क्रममा कतारका राज्यमन्त्री डा. खुलाइफीले हमास-इजरायलबीचको युद्ध रोक्ने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमास समूहको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको उल्लेख गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, कतारका राज्यमन्त्री डा. खुलाइफीले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
परराष्ट्र मन्त्रीद्वारा इजरायली विदेश मन्त्रीसँग पनि फोन वार्ता ।।
विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. राणाले आजै साँझ इजरायलका विदेश मन्त्री गिडियन सारसँग पनि फोन वार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्री डा. राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेश मन्त्री सारमार्फत इजरायल सरकारसँग आग्रह गर्नुभएको हो । फोन वार्तामा मन्त्री डा. राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली विद्यार्थी विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको छ ।
त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणालाई गराउनु भएको उहाँको सचिवालयले जनाएको छ । साथै विदेश मन्त्री सारले आज बिहान परराष्ट्र मन्त्री डा. राणाले कतारका राज्यमन्त्रीसँग कुराकानी गर्नुभएको खबर सुन्दा खुसी व्यक्त गर्नुभयो । कतारका राज्यमन्त्री हमाससँगको शान्ति वार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उहाँको भूमिका महत्त्वपूर्ण रहेको इजरायली विदेश मन्त्रीको भनाइ छ ।
ह्यासट्याग अभियान जारी ।।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका ३४ जना व्यक्तिहरूलाई रिहा गर्न लागेको समाचार आएपछि नेपाल सरकारले विपिनको पनि रिहाइका लागि इजिप्ट र कतारसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने माग गर्दै यति बेला सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान पनि जारी रहेको छ ।
विपिनको रिहाइका लागि मध्यस्थकर्ता इजिप्ट र कतार सरकारसँग विशेष कूटनीतिक पहल गरिदिन बारम्बार आग्रह ।।
हमास-इजरायलबीचको द्वन्द्व रोक्न मध्यस्थताको भूमिकामा रहेका इजिप्ट र कतार सरकारसँग नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विपिन जोशीको रिहाइका लागि विशेष कूटनीतिक पहल गरिदिन बारम्बार आग्रह गरिरहेको छ । अघिल्लो साता पुस २६ गते शुक्रबारका दिन परराष्ट्र मन्त्री डा. राणाले इजिप्टका लागि नेपाली राजदूत नोहा हमदी अहमद एलगेबलीसँगको भेटमा इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । सोही क्रममा उहाँले कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोनमार्फत सम्पर्क गरी यो मुद्दामा कतार सरकारको पहल आवश्यक रहेकोले सहयोगका लागि अनुरोध गर्नुभएको मन्त्री डा. राणाका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभएको थियो ।
त्यसअघि गत साता नै परराष्ट्र मन्त्री डा. राणाले इजरायली राजदूत समुलिक एरी वाससँग भेट गरी इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । त्यस क्रममा राजदूत वासले गत जुलाईमा पठाएको पत्र अनुसार हमास आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिहरूलाई रिहा गर्न तयार भएको कुरा सञ्चारमाध्यममा आएको परराष्ट्र मन्त्रीलाई जानकारी गराउनु भएको थियो । परराष्ट्र मन्त्री डा. राणाले भने यसै चरणमा विपिनको पनि रिहाइका लागि पहल गरिदिन इजरायल सहित मध्यस्थकर्ता देशहरू इजिप्ट र कतार सरकारसँग समेत आग्रह गर्नुभएको हो ।
सरकारको कूटनीतिक प्रयासले परिवार र शुभचिन्तकहरू आशावादी ।।
सन् २०२३ को अक्टोबर ७ मा इजरायली भूमिमा हमासले गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाउनु परेको थियो भने विपिन जोशीलाई हमास समूहले अपहरण गरी लगेको थियो । त्यसयता विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्र मन्त्री डा. राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आउनुभएको छ । नेपाल सरकारको यो प्रयासले विपिन जोशीको चाँडो र सुरक्षित रिहाइ हुनेमा विपिनका परिवारजन र शुभचिन्तकहरूलाई भने आशावादी बनाएको छ ।