गम्भीर व्यक्तित्व, अग्लो शरीर, हक्की स्वभावकी धनी, "भगवती थापा" समाज सेवाको पर्यायवाची नाम हो । सुदूरपश्चिमको बझाङ जिल्लामा जन्मेकी थापा आध्यात्मिक विचारकी सरल र सहज स्वभावकी श्वेत वस्त्र धारी बाल ब्रह्मचारिणी हुन् । थापाको विचार र व्यवहारमा कुनै अन्तर पाइँदैन भन्दा शङ्का गर्ने ठाउँ छैन । पद्मावती थापा र राम बहादुर थापाको जेठो सन्तान हुन् भगवती थापा । जेठो सन्तानको कर्तव्य निर्वाह गर्दै परिवार र समाजमा आफ्नो भूमिका अब्बल रूपमा निर्वाह गरेको पाइन्छ । थापा आफ्नो बाल्यकालदेखि नै दुःखी, गरिब, असहाय प्रति दया भाव राख्ने, सहयोगी भावना, भएकी सरल बालिका हुन् । कलिलो उमेरदेखि नै आध्यात्मिक क्षेत्रमा प्रवेश गरेकी थापाको सादा जीवन, उच्च विचारले आफ्नो कार्यक्षेत्र र समकक्षीको माझमा विशेष पहिचान बनाएको छ ।
जन्मभूमि बझाङ भए पनि परिवार नै बसाइसराइ गरी कञ्चनपुरमा बसोबास गर्ने हुनाले कञ्चनपुर जिल्ला कर्म क्षेत्र हो । मानिसले सकारात्मक सोच राखी कर्म गर्नु पर्दछ र जन्मेको सार्थकता भनेको उसको असल कर्म एवं सेवा भाव हो भन्ने आदर्श वाक्यलाई परिपालना गर्दै आफ्नो सम्पूर्ण जीवन नै सेवा भावमा समर्पित गरेको छ भन्दा दुई मत हुने छैन । शुद्ध शाकाहारी भोजन, श्वेत वस्त्र, आभूषण एवं शृङ्गार रहित कायां निरन्तर समाज सेवामा समर्पित बाल ब्रह्मचारिणी थापालाई सिङ्गो समाजले नै एक आदर्श नारीका रूपमा चिनेको छ । जस्तो नाम त्यस्तै काम पनि छ । हिन्दु धर्मावलम्बीहरूले भगवतीलाई आराध्य देवीको रूपमा पूजा गर्दछन् । जहिले पनि पूजनीय हुन्छन् । यस्तै यी ब्रह्मचारिणी थापा पनि बाल अनाथालयमा घरबारविहीन बालबालिकाहरू, दुखी, गरिब, असहाय, वृद्ध, हिंसापीडित, द्वन्द्वपीडित, दैविक प्रकोपपीडित, एकल महिला लगायत विभिन्न समस्याले ग्रसित व्यक्ति वा समुदायको सहयोगमा अग्रपङ्क्तिको नाम हो भगवती थापा ।
विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबाट सम्मानित पनि गरिएको छ । भीमदत्त नगरपालिकाले आफ्नो तेस्रो स्थापना दिवसको उपलक्ष्यमा सम्मान पत्र तथा जयपृथ्वी बहादुर सिंह पुरस्कार प्रदान गरिएको छ । खप्तड समाज, बझाङ लोक सांस्कृतिक संरक्षण मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र, समाज कल्याण बाल अनाथालयको आजीवन सदस्य रहनु भएकी थापाको सामाजिक सेवाको सुची निकै लामो छ । दुर्व्यसनी विरुद्ध जनचेतना अभियान सञ्चालन, यस जिल्लामा रहेका सामाजिक तथा मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तिगत रूपमा सहयोग गरेको, सन् २००० देखि २०२४ सम्म आइपुग्दा डेढ दर्जन जति सम्मान पत्र र पुरस्कार प्राप्त गरी सक्नु थापाको जीवनको उच्च मूल्याङ्कन हो जस्तो पङ्क्तिकारको अनुभूति छ । स्थानीय शान्ति समितिको सदस्य भई काम गरेको, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विविध कारणबाट पीडित महिलाहरूको उद्धार गरी न्याय दिलाउने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ता हुन् थापा ।
जसरी नवदुर्गामा भगवतीका अनेक नामको पूजा गरिन्छ, त्यसरी नै भगवती थापा पनि नाम एक, काम अनेक भएर समाज एवं राष्ट्रलाई नै सेवा पुर्याउने यस जिल्लाको सुपरिचित नाम हो । सकारात्मक सोचकी धनी थापा प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयसँग आबद्ध हुन् । आफू भित्र आफैलाई खोजेर जे पाइन्छ त्यसैलाई प्रयोग गरी समाज समक्ष पु¥याएर सन्तुष्टि प्राप्त गर्ने क्षमताकी बाहक थापा आफ्नो लौकिक परिवारकी पनि खम्बा हुन् । थापाको रेखदेखमा परिवारका अग्रजदेखि अनुजसम्मले जीवनलाई सजिलै अगाडी बढाएको छ । सपरिवारको जेठो सन्तान बाल ब्रह्मचारिणी थापाले आफ्ना भाइबहिनी आमाबुबाप्रति पूर्ण कर्तव्य पालना गर्दै आफ्नो समकक्षी फुपूकी पनि हितैषी साथी बनी पथ प्रदर्शकको भूमिका निर्वाह गरेकी छिन् । व्यक्तिगत रूपमा थापालाई पङ्क्तिकारले विद्यार्थी जीवनदेखि नै नजिकैबाट नियाल्ने अवसर पाएकोले पनि कतिपय कुरा सजिलै पोख्ने अवसर पाएकी छु । समाजमा जहाँ गाह्रो अप्ठ्यारो त्यहाँ भगवती भन्दा फरक नपर्ला ।
वर्तमान समयमा समाज कल्याण मन्त्रालयद्वारा सञ्चालित कञ्चनपुर जिल्लाको बाल अनाथालयकी कार्यकारिणी समितिको सदस्य थापाले अनाथालयका सम्पूर्ण बालकहरूको जन्मोत्सवमा सहभागी भएर अभिभावकत्व निर्वाह गरेको छ । अनाथालयमा कुनै सानो तिनो समस्या भए तुरुन्त थापालाई जानकारी गराई समस्या समाधानको लागि पहल गरिदिन आग्रह गर्ने गरेको विषय पङ्क्तिकारलाई प्रत्यक्ष अनुभूति छ । यस जिल्लाका विभिन्न सामाजिक सङ्घसंस्थामा पनि थापाको बाक्लो सहभागिताका कारणले दिदीबहिनीहरूका कतिपय सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्या समाधान पनि सत्य तथ्य निर्णयहरू पाएर पीडित पक्षलाई राहत पुग्ने गरेका कतिपय घटनाहरू प्रकाशित भएका छन् । जिल्लाका प्रशासक, कर्मचारी तथा नेताहरूले थापाको निष्ठा । कर्म एवं व्यवहारलाई सम्मान गरेको पाइन्छ । कञ्चनपुरको आकाश मुनि थापा त्यो नाउँ हो, जुन आफ्नै योगदान र सेवा भावले परिचित छ । निस्वार्थ सेवा भाव, उदारपना समाजसेवी, व्यक्तित्वका रूपमा उहाँको परिचय पाइन्छ । आफ्नो जीवनयात्रामा नथाक्ने जीवन यात्रीको नाम भगवती थापा हो । नारी मात्रको गौरव हुन् थापा । सरल र सात्त्विक जीवनको सम्पूर्ण आनन्द प्राप्त गर्ने कर्म योद्धा हुन् थापा । समाजको प्रेरणादायी व्यक्तित्व थापाको आगामी जीवन शान्तिपूर्वक बितोस् भन्ने शुभकामना छ ।
पङ्क्तिकार :- नारा जोशी, भीमदत्त १८, कटान, कञ्चनपुर
पूर्व शिक्षिका, वैजनाथ मावि, महेन्द्रनगर