दुबई, जनवरी ४, २०२५ । श्री वैष्णव परिषद् युएईको पहलमा पहिलो पटक दुबईमा श्रीमद्भागवत सार सारांश कथा सत्सङ्गको भव्य कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रमको उद्देश्य नेपाली समुदायबीच आध्यात्मिक भावना जागरण गर्नुका साथै वृद्धाश्रम र गुरुकुललाई सहयोग पुर्याउनु रहेको छ । नेपालबाट आमन्त्रित श्रद्धेय अनन्त श्री विभूषित आचार्य श्री १००८ चक्रपाणि स्वामीजी महाराजले मिना बजारस्थित वर दुबईमा कथा वाचन गर्नु हुनेछ । कार्यक्रमका लागि नेपाली समाज युएई, हिन्दु जागरण नेपाल युएई शाखा, सनातन गौ संरक्षण अभियान युएई, MY Nepal UAE, NRNA NCC UAE र युएईका विभिन्न जिल्ला संघसंस्थाहरुको सहयोग रहेको छ ।
कार्यक्रमको तयारीमा विशेष सक्रियता :
श्रीमद्भागवत कार्यक्रमलाई सफल बनाउन परिषद् युएईका सल्लाहकार प्रमुख एवं धार्मिक अभियन्ता तोयनाथ लम्सालको नेतृत्वमा विभिन्न भक्त, व्यावसायिक व्यक्तित्व, समाजसेवी र धार्मिक अभियन्ताहरूको समन्वयमा तयारी तीव्र गतिमा अघि बढिरहेको छ । परिषद्का अध्यक्ष मणिराम खतिवडा र कार्यक्रम संयोजक जे. सगरले सम्पूर्ण कार्यसमितिले उच्च उत्साहका साथ कार्यक्रमको तयारीमा जुटिरहेको जानकारी दिनुभयो । उपाध्यक्ष अञ्जली भट्टराई र सम्पत कुमार न्यौपाने, महासचिव प्रदीप दाहाल, सचिव गणेश जोशी तथा अन्य पदाधिकारीहरूले व्यवस्थापनदेखि प्रचारप्रसारसम्म सक्रिय भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।
समुदायको समर्थन :
नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल र NRNA UAE का अध्यक्ष विकास शाहीले यस कार्यक्रमप्रति आफ्नो समर्थन व्यक्त गर्दै नेपाली समुदायलाई ऐतिहासिक र प्रेरणादायी बनाउने आह्वान गर्नुभएको छ ।
सार्वजनिक आह्वान :
श्री वैष्णव परिषद् युएईले सम्पूर्ण भक्तजन, समाजसेवी र धर्म प्रेमी नेपालीहरूलाई उक्त कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन अपिल गरेको छ । कार्यक्रम जनवरी ५, २०२५ आइतबारका दिन बिहान १० बजेबाट सुरु हुने र सबैका लागि प्रवेश खुला रहने छ जनाइएको छ । उक्त भव्य धार्मिक कार्यक्रममा सहभागी भई आध्यात्मिक ऊर्जा प्राप्त गर्न श्री वैष्णव परिषद् युएईका सचिव गणेश राज जोशीले आह्वान गर्नु भएको छ ।