हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ पुस । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आज बसेको नियमित बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । जिल्ला अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
यस्ता छन्, निर्णयहरू ⤵️
१. नियमित बैठकको मिति निर्धारण :
महासंघको नियमित बैठक अब प्रत्येक महिनाको पहिलो शुक्रवार बस्ने निर्णय गरिएको छ ।
२. पत्रकार र सञ्चारमाध्यमको अभिलेखीकरण :
कञ्चनपुर जिल्लामा रहेका पत्रकार र सञ्चारमाध्यमहरूको अभिलेखीकरण गर्नका लागि समिति गठन गरिएको छ । उक्त समितिको संयोजकत्व सचिव कुन्दनराज पाण्डेयले गर्नुहुनेछ भने कोषाध्यक्ष मोहन बिष्ट तथा सदस्यत्रय दिनेशराज ओझा, धनबहादुर विक र हरिलाल जोशीले साथ दिनुहुनेछ ।
३. पत्रकार कल्याण कोषको स्थापना :
पत्रकारहरूको हितका लागि पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको छ । यसका लागि कार्यविधि निर्देशिका तयार गर्न सुझाव सङ्कलन समिति गठन गरिएको छ । उक्त समितिको संयोजकत्व पनि सचिव कुन्दनराज पाण्डेयले नै गर्नु हुनेछ । सदस्यद्वय धनबहादुर महता र भवानी भट्ट (भुवन) पनि समितिमा जिम्मेवारी बहन गर्नुहुनेछ ।
४. निवर्तमान कार्यसमितिको हिसाब–किताब :
महासंघले निवर्तमान कार्यसमितिलाई मिति २०८१ मङ्सिर ३० गतेसम्मको सबै हिसाब–किताब फरफारख गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
५. आर्थिक सहयोग :
शाखा तथा कार्यसमिति सदस्य सुजित रमेश सिनाल, जसको स्वास्थ्यमा समस्या रहेको छ (खुट्टामा नसाको समस्या) उहाँलाई महासंघले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ ।
कञ्चनपुरका पत्रकारहरूले महासंघका यी निर्णयहरूको खुलेर प्रशंसा गर्नुभएको छ । नयाँ कार्यसमितिको यस गतिशील सुरुवातले महासंघलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । महासंघले यी निर्णयहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ ।