हरिश्चन्द्र बाग, कञ्चनपुर । नेपाल राष्ट्रिय समाजकल्याण संघ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको "एमरेड परियोजना"ले आर्थिक विकास र विपद् जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । परियोजना २०२२ डिसेम्बरदेखि २०२४ डिसेम्बरसम्म पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भइरहेको छ ।
पुनर्वास नगरपालिका वडा नं. १ भकुण्डा र गणेशवस्ती, वडा नं. २ दशरथवस्ती, वडा नं. ५ सिमरी, उदरी र रातोताल, वडा नं. ७ परासन, वडा नं. ९ सितावस्ती र वडा नं. १० विकासवस्ती तथा शुक्लाफाँटा नगरपालिका वडा नं. २ लक्ष्मीपुर र वडा नं. ११ कलुवापुरका समुदायहरूमा सञ्चालन भइरहेको परियोजना संयोजक महेश घिमिरेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, यसले संकटासन्न समुदायहरूमा प्राकृतिक विपद् र जलवायु परिवर्तनका कारण हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । परियोजना सरकारी, निजी क्षेत्र र नागरिक समाजसँग सहकार्य गर्दै समुदायको नेतृत्वमा आधारित कार्यक्रमहरू लागू गर्दै आएको छ ।
मुख्य क्रियाकलापहरू
जैविक तटबन्ध निर्माण
बाढी तथा कटानी समस्याबाट प्रभावित क्षेत्रहरूमा जैविक तटबन्धका क्रियाकलापहरू कार्यान्वयन गर्दै आएको छ । यसमा स्थानीय तहहरूसँग सहकार्य गरी बाढी नियन्त्रणमा योगदान पुर्याउने प्रयास गरिएको छ ।
उखु खेतीमार्फत आर्थिक सशक्तीकरण
बगर तथा नदी किनारका संकटासन्न भूमिहरूमा उखु खेतीलाई प्रवर्द्धन गरिएको छ । यसले बाढी नियन्त्रणमा सहयोग पुर्याएको मात्रै छैन, समुदायको आयआर्जनमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
विपद् जोखिम व्यवस्थापन योजना
सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएका छलफल र स्थलगत भ्रमणका माध्यमबाट सहभागितामूलक विपद् जोखिम लेखाजोखा र व्यवस्थापन योजना तयार गरिएको छ ।
समुदायको प्रतिक्रिया
समुदायका सदस्यहरूका अनुसार, परियोजनाका गतिविधिहरूले उनीहरूको दैनिकीलाई सकारात्मक रूपमा प्रभावित पारेका छन् । उखु खेतीको उत्पादन र आम्दानीले बालबालिकाको शिक्षा, स्वास्थ्य र परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुगेको छ ।
अगामी योजना
परियोजनाले आगामी दिनमा पनि आर्थिक विकास र विपद् जोखिम व्यवस्थापनका थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । यसले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ । यो परियोजना जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणको नमुना पहलको रूपमा स्थापित भइरहेको छ ।