आजको समयमा आफ्नो जन्म दिने आमा-बुबालाई पाल्न पनि सम्पत्तिमा तुलना गर्न थालिएको छ । हिजो आज अदालतमा समेत बैङ्कका चेकहरू बाउन्स भएका मुद्दाहरू धेरै आएको सुनिन्छ । त्यसरी चेक बाउन्स हुनुको कारण आफन्तहरूलाई परेको समयमा गरेको आर्थिक सहयोगलाई फर्काउने समयमा विश्वासघातको सिकार बन्न पुग्छन् । जुन सम्बन्धमा कुनै बेला मिठास भरिएको हुन्थ्यो, पैसाको लेनदेनका कारण त्यसमा अमिलोपना आउन थाल्छ र त्यो कुरा अड्डा-अदालतसम्म पुग्छ । जसरी पनि पैसा कमाउने हुटहुटी सबैमा छ, चाहे नेता होस् या व्यवसायी । पैसा कमाउने मान्छे नै सबैको प्रिय हुन्छ, चन्दा दिन्छ, ऋण दिन्छ, सरसापटी दिन्छ, आफन्त खुसी, इष्टमित्र खुसी, परिवार खुसी यस कारण पैसा चाहिन्छ ।
यसैले होला भनेको छ नि 'इदम जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतमम पिवेत'। यसरी 'ऋण नै गरेर भए पनि घिउ पिउने सोचले नै होला पैसा कमाउनै पर्छ भन्ने सोच सबैमा छाएको ।
पैसा नभए धेरै समस्या र पैसा भए छैन समस्या' भन्ने भनाइ ठिक पनि छ, बेठिक पनि । किनकि यहाँ पैसा हुनेहरू पनि समस्यामा छन् । नहुनेहरू त समस्यामा हुने नै भए । यो पुँजीवादी समाजमा बिना पैसाको मानिस त मानिस नै हैन जस्तो धारणा हरेक काले मनमा आउन थालिसकेको छ । जागिरे जीवन बिताएका मानिस जब अवकाश लिन्छन् त्यसपछिको जीवनमा अधिकांश मानिसहरू डिप्रेसनको सिकार हुनुका पछाडि उसलाई नगर्ने वास्ता नै महत्त्वपूर्ण कुरा हो । सधैँभरि भिडमा बाँचेको मान्छे एकाएक एक्लो भएपछि के हुन्छ ? सधैँ भरिने महाकाली सुक्यो भने के हुन्छ ? हामी सहज अनुमान लगाएर पीडा बोध गर्न सक्छौँ । जीवनभर जागिरका क्रममा हरेक मान्छेसँग जोडिनुपर्ने हुन्छ । कैयौँ मान्छेका काम गर्नुपर्ने हुन्छ । धेरैले सहयोगका लागि लालायित भएका हुन्छन् । तर जब जागिरे जीवनको समाप्ति हुन्छ, आफूले काम गरिदिएका मान्छेहरू नै आफैलाई एक्लाउँछन् । सम्बन्ध स्वार्थले मात्रै जोगाएपछि यस्तै हुने हो ।
आजभोलि यस्तो लाग्छ स्वार्थको संसर्गले मात्रै सम्बन्धको जन्म हुने त होइन ? जब स्वार्थको नै 'बन्ध्याकरण' हुन्छ अनि सम्बन्धहरू जन्मन बन्द गर्छन् ।
खास अर्थमा केही हुनु भनेको क्षमतावान् हुनु पनि हो । कुनै पनि विषयमा पोख्त हुनु, जानकारी राख्नु, गहिरो ढङ्गले बुझ्नु या त्यो विषयमा उठेका प्रश्न र जागृत भएका समस्या चुड्कीको भरमा समाधान गर्नु यही त हो क्षमता भनेको । तर क्षमता भएर त्यसलाई पैसा उत्पादन गर्ने कारखाना बनाउन सकिएन भने 'मुकुन्दे' भइन्छ । आज क्षमताका आधारमा यसले कति द्रव्य सङ्कलन गर्यो भन्ने कुरा मात्रै मापनमा आउँछ । कुनै पनि नाता-सम्बन्धमा माया, प्रेम र विश्वास आवश्यक पर्छ । जुन सम्बन्धमा माया र विश्वास हुँदैन, त्यो सम्बन्धको आयु लामो हुँदैन । माया-प्रेमले सम्बन्धलाई बलियो बनाउँछ भने विश्वासले सम्बन्धलाई अटुट बनाउँछ । तर हिजो आज सम्बन्धलाई धन-सम्पत्ति र पैसामा तुलना गर्न थालिएको छ । पैसाले आपसी प्रेम र विश्वासमा चोट पुऱ्याउँछ, एक-अर्का प्रति शङ्का गर्न र दूरी बढाउन सहयोग गर्छ । साँच्चै केही नहुँदाको जिन्दगी समुद्र जस्तो पो हुँदो रहेछ । केही नछेकिने पनि, केही नदेखिने पनि ।
जीवनका आयामहरू खुलेआम 'शिशिर' बोकेर जान्छन्, आफ्नाहरू 'गोरेटो' बदलेर जान्छन्, सम्बन्धहरू 'अदालत' जान्छन्, खुसीहरू 'फरार' सूचीमा पर्छन्, मनको राजा भन्नेहरूले 'गणतन्त्र' ल्याउँछन् ।
हो केही नहुँदा, कोही हुँदैन । पैसा चाहिन्छ नै, तर धनी हुन खोज्नु खतरा हो, किनकि धनको खोजीमा लाग्नेहरूको मनमा पापका अनगिन्ती अभिलाषाहरू जाग्दछन् । उनीहरू कहिल्यै सन्तुष्ट रहन सक्दैनन् ।