हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ पुस । कञ्चनपुरको बेलौरीमा सोमबारदेखि सुरु हुने तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजना तथा बेलौरी नगरपालिकाको सह-आयोजनामा पुस ८ गतेदेखि पुस १७ गतेसम्म बेलौरीको खुलामञ्चमा महोत्सव सञ्चालन हुन लागेको छ । "कृषि, पर्यटन, उद्योग र व्यापार; समृद्ध बेलौरीको मूल आधार" भन्ने मूल नारासहित आयोजना गरिने उक्त महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्दै कृषि, उद्योग र व्यापार क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताउनु भएको छ ।
महोत्सवमा राखिने स्टलमा स्थानीय कृषि उत्पादन, जैविक वस्तुहरू, हस्तकला, औद्योगिक सामग्री र आधुनिक प्रविधिको प्रदर्शनी गरिने बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको मुख्य आकर्षणमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ। यसका साथै, महोत्सवले स्थानीय संस्कृति झल्काउने विभिन्न गतिविधिहरूलाई प्राथमिकता दिने छ । स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग महोत्सवको मुख्य आर्थिक स्रोत हुनेछ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टका अनुसार महोत्सवले स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै कृषि, उद्योग र पर्यटनको क्षेत्रमा नयाँ सम्भावना खोज्ने छ । बेलौरी उद्योग वाणिज्य संघले सबै नागरिक, व्यवसायी र किसानहरूलाई महोत्सवमा सहभागिताका लागि आह्वान गरेको छ । महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।