हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरका पुनर्वास र शुक्लाफाँटा नगरपालिकाका समुदायहरू, जसले विपद्का चुनौतीलाई अवसरमा बदल्दै आत्मनिर्भरता र सुरक्षाको नयाँ दृष्टान्त स्थापना गरेका छन् । पछिल्ला दशकहरूमा, कञ्चनपुरका समुदायहरू बारम्बार बाढी र प्राकृतिक प्रकोपहरूको सामना गर्दै आएका छन् । यद्यपि नेपाल राष्ट्रिय समाज कल्याण संघ र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित एमरेड कार्यक्रमले पुनर्वास र शुक्लाफाँटा नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा एमरेड परियोजना डिसेम्बर २०२२ देखि डिसेम्बर २०२४ सम्म पुनर्वास नगरपालिका वडा नं. १ भकुण्डा र गणेशबस्ती, वडा नं. २ दशरथबस्ती, वडा नं. ५ सिमरी, उदरी र रातोताल, वडा नं. ७ परासन, वडा नं. ९ सितावस्ती, वडा नं. १० विकासबस्ती र शुक्लाफाँटा नगरपालिका वडा नं. २ लक्ष्मीपुर र वडा नं. ११ कलुवापुर समुदायहरूमा सञ्चालन भइरहेको छ ।
यस कार्यक्रमले सबैभन्दा बढी जोखिममा परेका समुदायहरूलाई विपद्को तयारी गर्न, सामना गर्न र न्यूनीकरण गर्न सक्षम बनाउँछ । यो कार्यक्रमले स्थानीय साझेदारहरूसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरु, बायो इन्जिनियरिङ प्रविधि, प्रकृतिमा आधारित समाधानका अभ्यासहरू, बगर संरक्षण, बगर खेती, पशु बिमा, पूर्वानुमानमा आधारित पूर्वकार्यहरु मार्फत समुदायलाई विपद् तयारी क्षमता बढाउने काम गरिरहेको छ । सामुदायिक कार्यदलहरूले खोज उद्धार, प्राथमिक उपचार र पूर्व सूचना प्रवाहमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
समस्या र चुनौतीहरू
यहाँका समुदायहरूको मुख्य चुनौती भनेकै दोदा र सुनवरा नदीको बाढी हो, जसले खेतीयोग्य जमिन कटान गर्ने र जनजीवन अस्तव्यस्त पार्ने गरेको छ । २०६४ देखि २०८१ सम्म बाढीले यहाँका सयौँ परिवार विस्थापित भएका छन् ।
समाधानका पहलहरू
विपद् जोखिम न्यूनीकरणका लागि पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा विभिन्न पहलहरू सुरु गरिएको छ । एमरेड परियोजना अन्तर्गत, जैविक तटबन्ध निर्माण, बगर खेती र उखु खेतीजस्ता उपायहरू कार्यान्वयन गरिएको छ ।
सिमरी समुदाय
पुर्नवास नगरपालिका वडा नं. ५ सिमरी समुदायमा जम्मा १२२ घरधुरी छन् भने १२ जना अपाङ्गता भएका व्यक्तिहरूको बसोबास रहेको छ । यस समुदायमा राना र चौधरी समुदायको मात्र बसोबास रहेको छ । महिला र पुरुषहरूको समुदाय भित्रका प्रत्येक श्रोतहरूमा पहुँच र नियन्त्रण रहेको भए पनि घरायसी र अन्य हिसाबले महिलामा कार्य बोझ बढी रहेको अवस्था छ । यस समुदायमा अधिकांश मानिसहरूको जीविकोपार्जन कृषि हो ।
यस समुदायमा विपद्का विभिन्न घटनाहरूको विश्लेषण गर्दा समुदाय बहु प्रकोपको उच्च जोखिममा रहेको छ । यस समुदायमा सबै भन्दा बढी क्षति गर्ने प्रकोप बाढी रहेको छ भने पटक पटक दोहोरिएर आउने र सबै भन्दा बढी समुदायलाई दुख दिने कारणले बाढी नै पहिलो स्थानमा रहेको देखिन्छ । क्षतिका आधारमा अन्य प्रकोपहरू क्रमशः हात्ती आतङ्क, मौसमी खडेरी, किट आतङ्क र तातो हावा र शितलहर लगायतका प्रकोपहरूले समेत प्रभाव पारेको देखिन्छ । समुदायको प्राकृतिक स्रोत तथा क्षमता समेत न्यून हुनाले यस समुदायको संकटासन्नता उच्च रहेको छ । बाढीका कारण जमिन कटान र डुबानले प्रत्येक वर्ष यो समुदायलाई प्रभाव पार्ने गर्छ । समुदायको संकटासन्नता र क्षमताको विश्लेषण गर्दा ४६ घरधुरी बाढीको उच्च जोखिममा रकेका छन् । यस वर्ष असार २४ मा आएको बाढीले पुनर्वास नगरपालिकामा १७५ घरधुरी विस्थापित भई आश्रय स्थलमा बसेका थिए । जसमा सिमरी समुदायका १२२ घर डुबानमा र ५ घरधुरीहरू पूर्ण रूपमा क्षति भएको थियो ।
यस सिमरी समुदायमा खोज उद्धार, प्राथमिक उपचार र पूर्व सूचना कार्यदल रहेको छ । यो कार्यदलले सामुदायिक विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति सँग मिलेर कार्य गर्ने गरेको छ । एमरेड कार्यक्रमले कार्यदलका सदस्यहरूको लागि विभिन्न किसिमका क्षमता विकासका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ भने समयमै पूर्व सूचना उपलब्ध गराउन आवश्यक उपकरण जस्तै माइक, साइरन समेत उपलब्ध गराएको छ । दोदा नदीको माथिल्लो तटीय क्षेत्रमा रहेका गेज रिडरहरु सित समेत सम्पर्क गरेर वर्षा र बाढीको सूचना प्रवाह गरिने गरिएको छ भने हाल जल तथा मौसम विज्ञान विभागले प्रदान गर्ने मौसम पूर्वानुमानको सूचना समेत कार्यदलले सबै घरधुरी सम्म पु¥याउने गरेका छन् ।
विपद् व्यवस्थापन समिति र कार्यदलहरूलाई क्षमता विकास तालिमका अलावा कार्यक्रमले यस समुदायमा अन्य विभिन्न क्रियाकलापहरू समेत सञ्चालन गर्दै आइरहेको छ । उच्च संकटासन्न घरधुरीलाई उखु खेती (१४.७५ बिघा) मा सहयोग, समुदाय स्तरमा पारिवारिक संवाद तथा रिफ्लेक्ट कक्षाहरू सञ्चालन, बाली तथा पशु बिमाको लागि सहजीकरण, नदीले कटान गर्ने स्थानमा बायो इन्जिनियरिङ निर्माण, नदी किनारहरूमा वृक्षारोपण गर्ने, समुदायको पुर्वतयारीको लागि काम गर्ने, पूर्वानुमानमा आधारित पूर्व तयारी गर्ने जस्ता कार्यहरू समेत गर्दै आइरहेको छ । साथै बाढी डुबानको बेला विस्थापित घर परिवारलाई आश्रय दिने स्थानमा गर्मीको बेला सहज होस् भनेर चिसो पानी खान मिल्ने पानी चिस्याउने मसिन समेत प्रदान गरेको छ ।
समुदायले मौसम, वर्षा र बाढीको सूचना समयमै सबैलाई पु¥याउने, कुलो, नहर तथा नालाहरू सफा गर्ने, जैविक तटबन्धको मर्मत गर्ने, अति संकटासन्न घरधुरीहरूलाई अग्रिम नगद हस्तान्तरण गर्ने, समुदायमा बाढीको गहिराई थाहा दिने बाढी निर्देश पोस्टहरू राख्ने कार्य गरेका छौँ । बाढी पश्चात् तत्काल घरको सरसफाइ, बाढीको समयमा शिविर व्यवस्थापन र आवश्यक सर सामग्रीको जोहो गर्ने र बाढीबाट प्रभावितहरूको विस्तृत विवरण सङ्कलन गर्ने जस्ता कार्यहरू सामुदायिक विपद् व्यवस्थापन समितिको नेतृत्वमा सम्पन्न भएका छन् । समुदायमा यी कार्यहरूले सचेतना अभिवृद्धि, स्रोत परिचालन, सामाजिक एकता, सङ्कट व्यवस्थापन, पर्यावरण संरक्षण लगायतका क्षेत्रमा फाइदा पु¥याउने देखिन्छ ।
सिमरी समुदायको नेतृत्व, पुनर्वास नगरपालिका र एमरेड कार्यक्रमको सहकार्यमा दोदा नदीले धार परिवर्तन गरेको स्थानमा २५० मिटर जैविक तटबन्ध निर्माणको काम समुदायले गरेका छन् । उक्त कार्य गर्नका लागि नगरपालिकाबाट रु. चार लाख असी हजार र रोजगार सेवा केन्द्रबाट कामदारको सहयोग भएको थियो भने एमरेड कार्यक्रमबाट रु. एक लाख पचास हजार, जनताको तटबन्ध कार्यालय र भागेश्वर सुगर मिलबाट प्लाष्टिकका बोरा र जनश्रमदानबाट उक्त तटबन्ध निर्माण भएको छ । सिमरी समुदायमा जोखिम हस्तान्तरणका लागि बाढीको उच्च जोखिममा रहेका ४६ घरधुरीहरूलाई पशु बिमा गर्नका लागि एमरेड कार्यक्रमले सहयोग गरेको थियो । जस अन्तर्गत दुई जना किसानहरूको बाख्रा मरेको हुँदा शिखर बिमा कम्पनीबाट दुई जना घरधुरीहरूले क्षतिपूर्ति रकम प्राप्त गरेका थिए । सिमरी समुदायमा सुरक्षित बाटो निर्माण र बाढी छेकबारका लागि १०० मिटर लम्बाइ र ५ फिट उचाइ भएको वाल निर्माण कार्य नगरपालिकाको १२ लाख साझेदारी र समुदायको जनश्रमदानमा सम्पन्न भएको छ ।
स्थानीय सरकारले गैरसरकारी संस्था र अन्य सरोकारवालासँग सहकार्य गरी स्रोतको दिगो व्यवस्थापन, सचेतना अभिवृद्धि, सहकार्य र साझेदारी, अनुगमन र मूल्याङ्कन, समुदायको सशक्तीकरण गर्न सकेमा यी कार्यहरूले समुदायको दिगो विकास र सङ्कट व्यवस्थापनमा दीर्घकालीन प्रभाव पार्दै सामाजिक र पर्यावरणीय सन्तुलनलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
भकुण्डा समुदाय
भकुण्डा समुदाय पुनर्वास नगरपालिका वडा नं. १ मा अवस्थित रहेको ३२ घरधुरी मिलेर बनेको छ । यो समुदायमा सबै घरधुरी जनजाति रहेका छन् । यस समुदायमा भूकम्पका साथसाथै बाढी÷ जमिन कटानी हात्ती आतङ्क, छाडा गाई, किटआतंक, तातो हावा÷सित लहर, सुख्खा, कोरोना महामारी र असिना लगायतका प्रकोपहरूले प्रभाव पारेको देखिन्छ । समुदायको प्राकृतिक स्रोत तथा क्षमता समेत न्यून हुनाले यस समुदायको संकटासन्नता उच्च रहेको छ । जमिन कटानी लगायतका प्रकोपको कारण यस समुदायका धेरै क्षेत्रहरू प्रभावित छन् । यस समुदायमा अहिलेसम्म आएको सबै भन्दा ठुलो बाढी २०६४ साल भाद्रमा र २०७८ कार्तिक र यस वर्षको असार २४ सालमा आएको बाढी रहेको छ । विगतमा आएको बाढीका कारण जमिन कटानी, पटानि र डुबानले गर्दा धानमा क्षति भएको र धेरै घरहरू उच्च जोखिम रहेको देखिन्छ । दोदा नदिको पश्चिमी तटीय क्षेत्रमा अवस्थित यो समुदायमा बाढीले जग्गा कटानी र पटानीको इतिहास लामो रहेको देखिन्छ ।
यस समुदायमा ९ सदस्यीय सिडिएमसी रहेका छन् । सिडिएमसीका अध्यक्ष नारायण प्रसाद राना रहेका छन् । यसै गरी यस समुदायमा तालिम प्राप्त प्राथमिक उपचार, खोज उद्धार कार्यदल र पूर्वसुचना प्रणाली कार्यदल रहेका छन् । यस समुदायमा एमरेड कार्यक्रमअन्तर्गत बाढीको सामनाको लागि बगर संरक्षण, वृक्षारोपण, तारवार घेराउ, बगर खेती (५.५ बिघा) र उखु खेती (३.५ बिघा) गरिरहेका छन् । यस समुदायमा बगर खेती र उखु खेतीबाट प्राप्त आम्दानीबाट केही रकम आपत्कालीन कोषको रूपमा रहेको छ । समुदायले गरेको बगर संरक्षण, वृक्षारोपण र उखु खेतीको विस्तारले गर्दा असार २४ मा आएको ठुलो बाढीले पनि समुदायमा कटानी गर्न नसकेको र पानीको वेगलाई गाउँ बस्तीमा छिर्नबाट बचाएको छ । यस समुदायमा बाढी आएको बेला खोज उद्धार गर्न आवश्यक उद्धार सामग्री सञ्चित गरेर राखिएको छ । समुदायलाई विपद् व्यवस्थापन सम्बन्धी क्षमता विकास गर्न लैङ्गिक समानता बढाउन व्यावसायिक योजना बनाउन पारिवारिक संवाद, वित्तीय साक्षरता र उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरिएको छ । समुदायमा उखु खेती प्रविधि सम्बन्धी भागेश्वर चिनी मिलको सहभागितामा अभिमुखीकरण गरिएको छ र कृषिमा आधुनिकीकरणका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार एक थान रोटाभेटर र दुई थान विद्युतीय मोटर सहयोग गरेको छ । भकुण्डा समुदायमा उखु खेतीले केवल बाढी नियन्त्रणमा मात्र होइन, आर्थिक समृद्धिमा पनि योगदान पु¥याएको छ । यस क्षेत्रका बगर खेतीले ३२ परिवारलाई नयाँ आशा जगाएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डा स्थित दोदा नदीमा संस्थाको सहयोगमा समुदायद्वारा बगर संरक्षण, वृक्षारोपण, काँस बिस्तार तथा बगरमा खेती गरिएको छ । यसले माटोको संरक्षण, पर्यावरणमा सुधार, समुदायमा आर्थिक लाभ, स्वरोजगारीका अवसर, समुदायमा सहकार्य, प्राकृतिक विपद् न्यूनीकरण लगायतका फाइदा पु¥याउने देखिन्छ । स्थानीय सरकारले यसको दिगो व्यवस्थापन योजना बनाउनु पर्ने देखि बजार व्यवस्थापन, सहभागितामूलक योजना, नियमित अनुगमन तथा सरोकारवाला पक्षसँग सहकार्य र साझेदारी गर्न सकेमा यस कार्यले समुदायको दिगो आर्थिक विकास, पर्यावरणीय सन्तुलन र प्राकृतिक स्रोतको संरक्षणमा दीर्घकालीन प्रभाव पार्ने छ ।
कलुवापुर समुदाय
शुक्लाफाँटा नगरपालिका वडा नं. ११ स्थित कलुवापुर समुदाय ७२ घरधुरी मिलेर बनेको छ । जसमध्ये ३० घरधुरी जनजाति, १६ घरधुरी दलित र ३६ घरधुरी अन्य रहेको छ । यो समुदाय सुनवरा नदीको पूर्वी तटीय क्षेत्रमा १०० मिटर दुरीमा अवस्थित रहेको छ । यो समुदायमा बाढी कटानी र पटानी जोखिमको साथै छाडा पशुचौपाया पनि व्यापक छ । यस समुदायमा मर्सिकोर नेपाल र एनएनएसडब्लुएको साझेदारीमा एमरेड कार्यक्रम २०७८ सालदेखि सञ्चालनमा रहेको थियो ।
यस समुदायमा ११ सदस्यीय सिडिएमसी रहेका छन् । सिडिएमसीका अध्यक्ष तिलक सुनार रहेका छन् । यस समुदायमा बाढी प्रतिकार्यको लागी आवश्यक खोज उद्धार सामग्रीहरू पनि सञ्चय गरेर राखिएको छ । यस समुदायको मागअनुसार १०० मिटर क्षेत्रफलमा सिद्धनाथ आधारभूत विद्यालयको पश्चिम सुनवरा नदीको किनारमा जैविक तटबन्ध गरिएको थियो । जसले गर्दा समुदायको ५५ बिघा जमिन नदी कटानीपटानीबाट जोगिएको छ ।
एमरेड परियोजनाले यस समुदायमा मुख्य क्रियाकलाप बाढीको जोखिम न्यूनीकरणको लागि बगर संरक्षण, वृक्षारोपण गरिएको छ । यसै गरी जीविकोपार्जन सुधारका लागि उखु खेती (३ बिघा), तरकारी खेती गरिएको छ । समितिको सङ्ख्यागत विकासको लागि सिडिएमसीलाई वडा कार्यालयमा अभिलेखीकरण गराइएको छ । उखु खेती प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ । बाढी सम्बन्धी कृत्रिम नमुना उद्धार अभ्यास गरिएको छ । विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
अन्य गतिविधिहरू
यसका अतिरिक्त विगत वर्षहरूदेखि नै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्तीमा करिब नौ सय मिटर लम्बाइको जैविक तटबन्ध गरिएको थियो । जुन समुदायका लागि निक्कै प्रभावकारी बनेको छ । एमरेड परियोजनाले सिमरी र रातोताल समुदायमा पूर्वानुमानमा आधारित अग्रिम नगद सहायता कार्यक्रम समेत कार्यान्वयन गरेको थियो । त्यसले प्रभावित समुदायलाई निक्कै राहत पुगेको छ । एमरेड परियोजनाले पुनर्वास नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायता सामग्री सहयोग कार्यक्रम समेत गरेको छ । जसबाट ३२ जना अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् । सिमरी, रातोताल र दशरथबस्तीमै विपद् पूर्व तयारी तथा सचेतनाका लागि बाढी मापन केन्द्र जडान, वाल पेन्टिङ लगायतका कार्यहरू गरिएका छन् ।
समुदायको भूमिका र स्थायित्व
समुदायका सदस्यहरूको सक्रिय सहभागिताले यस परियोजनाले सार्थकता पाएको छ । यो परियोजना कार्यान्वयनका क्रममा महिलाको सशक्त सहभागिता र अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणलाई समेत दर्साएको छ । खोज उद्धार, प्राथमिक उपचार र पूर्व सूचना प्रणालीका लागि प्रशिक्षित कार्यदलहरूलाई स्थानीय नेतृत्वको स्थायित्वका रूपमा हेर्न सकिन्छ ।
स्थानीय सरकार र संस्थाको सहकार्य
स्थानीय सरकार र नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुरको सहकार्यले यी परियोजनाहरूलाई दीर्घकालीन बनाउन सहयोग पु¥याएको छ । कञ्चनपुरका समुदायमा गरिएका यी प्रयासहरूले प्राकृतिक प्रकोपको सामना गर्न समुदायलाई सक्षम बनाएको छ । विपद् व्यवस्थापनको यस अभ्यासले नेपालका अन्य क्षेत्रहरूलाई पनि प्रेरणा प्रदान गर्ने छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ र मर्सिकोर नेपाललाई धन्यवाद, जसले यी सफलताका कथाहरू सम्भव बनाएका छन् ।