हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ मङ्सिर । मानसिक स्वास्थ्य एक यस्तो विषय हो, जसले लाखौँ मानिसलाई प्रभावित गरेको छ । तर हाम्रो समाजले यसलाई अझै पनि उपेक्षा गरिरहेको छ । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिहरूका कथा हृदय विदारक छन् । बेलडाँडीका किरण सुनार र रङ्गनाथ दमाईको जीवन यस कुराको ठोस प्रमाण हो । आउनुहोस्, हेरौँ, कञ्चनपुरको बेलडाँडीका किरण र रङ्गनाथका दुःखद कथा ।।
किरण सुनारको कथा
अन्दाजी २५ वर्षीया किरण सुनार, दुई सन्तानकी आमा हुन् । जो पशु सरह साङ्लोमा बाँधिनु परेको छ । केही वर्षअघि मानसिक सन्तुलन ठिक नभएको भन्दै उहाँका श्रीमानले छाडेर अर्को विवाह गरेपछि किरण माइतीघर कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ दुई कट्टा शिविरमा बस्दै आउनु भएको छ । किरणको अवस्था झन् बिग्रँदै गएको छ । किरणको व्यवहारले गाउँभरि आतङ्क मच्चिएको छ । किरणका गतिविधिले गाउँलेलाई मात्र होइन, स्वयं उहाँकी आमालाई पनि दुःख दिएको छ । जसका कारण आफ्नै छोरीलाई साङ्लोले बाँधेर राख्नु पर्ने बाध्यता आइलागेको किरणकी आमा शान्ति सुनारको दुखेसो छ ।
कतिसम्म भने, २० वर्षअघि श्रीमान् गुमाउनु भएकी शान्ति सुनार घर खर्च धान्न मजदुरी गर्न जानु पर्दा होस् वा छोरी किरण आफैँ नियन्त्रण बाहिर भएर गाउँ तथा जङ्गल तिर डुल्दा, कयौँ पटक किरणमाथि नर पिचासहरूले गिद्धे नजर लगाउने गरेका छन् । समाजमा असुरक्षित महसुस भएपछि किरणलाई गर्भ निरोधक सुई लगाउने उपाय अपनाइएको छ ।
रङ्गनाथ दमाईको कथा
यो रङ्गनाथ दमाईको घर हो । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ चन्दनबस्तीका अन्दाजी ४५ वर्षीय रङ्गनाथ दमाईलाई एक अँध्यारो कोठामा थुनिएको छ । गाउँघरमा खेती किसानी गर्ने रङ्गनाथ पछिल्लो एक दशकयता मानसिक रोगको सिकार हुनुभयो । रङ्गनाथकी श्रीमती कविता पनि मानसिक रोगको सिकार बन्ने सुरुवाती चरणमा हुनुहुन्छ । तर औषधीले केही नियन्त्रण गरेको छ । गरिबी र अशिक्षाकै कारण देवीदेवताकै श्राप सम्झेर समयमै उपचार नगर्दा रङ्गनाथको यो अवस्था आएको बताइन्छ । रङ्गनाथका गतिविधि नियन्त्रण बाहिर गएपछि पछिल्लो तीन वर्षदेखि यही अँध्यारो कोठामा बन्धक बनाइएको छ । रङ्गनाथका आँखा भन्न चाहन्छन् ‘म ठिक हुन सक्छु ।’ तर, उहाँ बोल्न सक्नु हुन्न ।
...
बेलडाँडीका किरण सुनार र रङ्गनाथ दमाईजस्ता मानिसहरूको जीवन मानसिक रोगले मात्र नभई समाजको अवहेलना, आर्थिक अभाव र अशिक्षाले थप जटिल बनेको छ । किरण र रङ्गनाथहरू अझै पनि उज्यालोको प्रतीक्षामा हुनुहुन्छ । तर, के यस्तो अवस्थाको समाधान छैन ? मानसिक स्वास्थ्य उपचार सम्भव छ । तर, यहाँ सेवा पुग्न सकेको छैन । मानसिक स्वास्थ्य समस्यालाई समयमै सम्बोधन गर्न निःशुल्क उपचार, जनचेतना र सरोकारवालाहरूबिच सहकार्य गर्न सक्रियता देखाएमा यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ । हामीले यदि सहानुभूति र सहयोग देखायौँ भने यस्ता समस्याबाट उन्मुक्ति पाउन सकिन्थ्यो कि ?