हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, २० मङ्सिर । कञ्चनपुरको बेलौरी बजारदेखि रिछाहासम्मको हुलाकी सडकखण्ड निर्माण हुन नसक्दा धुलाम्मे भएपछि स्थानीय बासिन्दाहरूले आन्दोलन गरेपछि बुधबार बेलौरी नगरपालिकामा वृहत् छलफल भएको थियो । त्यस क्रममा निर्माण कम्पनी पक्षले मङ्सिर २७ गतेदेखि निर्माणको काम सुरु गर्ने लिखित सहमति जनाएको थियो भने बेलौरी नगरपालिकाले बिहीबार देखि नै नियमित पानी छम्केर धुलो उड्न न्यूनीकरण गर्ने सहमति गरेको थियो । तर बिहीबार दिनभर पनि नगरपालिकाले एक थोपा पनि पानी छम्केन । उक्त ठाउँका स्थानीय बासिन्दा र सडकमा आवतजावत गर्ने उपभोक्ताहरूले सधैँझैँ धुलोको सामना गर्नुपर्यो । यस विषयमा नगरपालिकाका उपप्रमुख जोगराम चौधरी र प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीलाई सोध्दा बिहीबार पानी हाल्न नसकिएको स्वीकार गर्दै शुक्रबारदेखि नियमित रूपमा पानी हाल्ने प्रतिउत्तर दिनुभयो । तर यस क्षेत्रभन्दा बाहिरका नेताको अगुवाइमा वृहत् छलफल तथा सहमति गरिएकोले त्यसबाट चिढिएर नगरपालिकाले आफैँले गरेको लिखित सहमति उल्लङ्घन गरेको हुन सक्ने जनस्तरबाट आशङ्का व्यक्त भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले निर्माण कम्पनीका प्रतिनिधि, सङ्घीय खानेपानी तथा ढल निकास कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र आसपासका बढी प्रभावित नागरिकहरूलाई बेलौरी नगरपालिका कार्यालयमा बोलाएर बृहत् छलफल गरी सडक निर्माणको काम अगाडि बढाउनका लागि सहमति गराउनु भएको थियो । पूर्वमुख्यमन्त्री एवं प्रदेश सभा सदस्य राजेन्द्र सिंह रावल, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, नगर उपप्रमुख जोगराम चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, एमाले नेतृ कमला बोहरा, सङ्घीय खानेपानी तथा ढल निकास कार्यालयका इन्जिनियर पवन भट्ट, निर्माण कम्पनी मृत सञ्जीवनी ग्याल्बो थेगिङ्ग जेभीका प्रमुख हरिहरदेव पन्त, प्रतिनिधि खगेन्द्र पाण्डेय, लगायत स्थानीयको उपस्थितिमा बुधबार बेलौरी नगरपालिका कार्यालयमै वृहत् छलफल एवम् सहमति गरिएको थियो ।
हुलाकी सडक निर्माण गर्ने जिम्मा पाएको कम्पनीले रिछाहादेखि बेलौरी बजारको तौला राना चोकसम्मको बाटो अलपत्र छोडेर भागेपछि हिँडडुल गर्न समेत निकै सास्ती भोग्न परेको स्थानीय दानसिंह रानाको भनाइ छ । स्थानीयहरूले पटक पटक स्थानीय सरकार समक्ष गएर बाटो निर्माणको काम अगाडि बढाइदिन आग्रह गर्दा समेत सुनुवाइ नगरेको भन्दै स्थानीय बासिन्दाहरूले मङ्सिर ९ गते सडक अवरुद्ध गरेपछि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी र स्थानीय प्रशासनले निर्माण कम्पनीका प्रतिनिधिले ३ दिनभित्र निर्माणको काम अगाडि बढाउने आश्वासन दिएका थिए । तर निर्माण कम्पनीले अटेरी गरेपछि स्थानीयले पुनः मङ्गलबार सडक अवरोध गरेका थिए ।
त्यसै बेला महेन्द्रनगरबाट बेलडाँडी-बेलौरी हुँदै धनगढी जाने क्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले बाटो अवरोध भएको देखेपछि बेलौरीका नगर प्रमुखलाई फोन गर्दा नउठेपछि प्रदेश सभा सदस्य र नगर उपप्रमुखलाई फोन गरेर समस्याबारे जानकारी गराएपछि रावलले निर्माण कम्पनीका प्रमुख हरिहरदेव पन्तलाई टेलिफोन सम्पर्क गरी सडक निर्माणको काम ३ भित्र सुरु गर्न निर्देशन दिनु भएको थियो । केही समयपछि अवरोध स्थलमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी पुगेर तत्काल सडकमा पानी छम्किने र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाई छलफल गर्ने प्रतिबद्धता जनाएपछि बाटोको अवरोध खुलेको थियो ।
बुधबार बृहत् छलफल भएपछि सडक निर्माण सुरु नहुँदासम्म नगरपालिकाले पानी छम्किने र हुलाकी सडकमा नाली व्यवस्थापनका लागि पहल गर्ने लिखित सहमति भएको थियो । ढल निकासका लागि खनिएको बाटोमा मङ्सिर मसान्तसम्म ग्राभेल गर्ने र फागुन महिनामा कालोपत्रे गर्न सकिने कम्पनीका प्रतिनिधि खगेन्द्र पाण्डेयको भनाइ थियो । नगरपालिकाले पानी हाल्न गरेको सहमति अनुसार बिहीबार कुनै अग्रसरता नदेखाए पनि शुक्रबारदेखि कार्यान्वयन हुन्छ वा हुँदैन ? त्यो भने हेर्न बाँकी छ ।