माधव पौडेल, कञ्चनपुर, २० मङ्सिर । कञ्चनपुरको बेलौरी बजारदेखि रिछाहासम्मको हुलाकी सडकखण्ड निर्माणको काम मङ्सिर २७ गतेदेखि सुरु गर्ने लिखित सहमति भएको छ ।सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले निर्माण कम्पनीका प्रतिनिधि, सङ्घीय खानेपानी तथा ढल निकास कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र आसपासका बढी प्रभावित नागरिकहरूलाई बेलौरी नगरपालिका कार्यालयमा बोलाएर बृहत् छलफल गरी सडक निर्माणको काम अगाडि बढाउनका लागि सहमति गराइएको बताउनु भयो ।
पूर्वमुख्यमन्त्री एवं प्रदेश सभा सदस्य राजेन्द्र सिंह रावल, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, नगर उपप्रमुख जोगराम चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, एमाले नेतृ कमला बोहरा, सङ्घीय खानेपानी तथा ढल निकास कार्यालयका इन्जिनियर पवन भट्ट, निर्माण कम्पनी मृत सञ्जीवनी ग्याल्बो थेगिङ्ग जेभीका प्रमुख हरिहरदेव पन्त, प्रतिनिधि खगेन्द्र पाण्डेय, लगायत स्थानीयको उपस्थितिमा वृहत् छलफल गरिएको हो ।
हुलाकी सडक निर्माण गर्ने जिम्मा पाएको कम्पनीले रिछाहादेखि बेलौरी बजारको तौला राना चोकसम्मको बाटो अलपत्र छोडेर भागेपछि हिँडडुल गर्न समेत निकै सास्ती भोग्न परेको स्थानीय दानसिंह रानाको भनाइ छ । स्थानीयहरूले पटक पटक नगरप्रमुख चौधरीलाई भेटेर बाटो निर्माणको काम अगाडि बढाइदिन आग्रह गर्दा समेत सुनुवाइ नगरेको भन्दै स्थानीयहरूले मङ्सिर ९ गते सडक अवरुद्ध गरेपछि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी र स्थानीय प्रशासनले निर्माण कम्पनीका प्रतिनिधिले ३ दिनभित्र निर्माणको काम अगाडि बढाउने आश्वासन दिएका थिए ।
तर निर्माण कम्पनीले अटेरी गरेपछि स्थानीयले पुनः मङ्गलबार सडक अवरोध गरेका थिए । त्यसै बेला महेन्द्रनगरबाट बेलडाँडी - बेलौरी हुँदै धनगढी जाने क्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले बाटो अवरोध भएको देखेपछि बेलौरीका नगर प्रमुखलाई फोन गर्दा नउठेपछि प्रदेश सभा सदस्य र नगर उपप्रमुखलाई फोन गरेर समस्याबारे जानकारी गराएपछि रावलले निर्माण कम्पनीका प्रमुख हरिहरदेव पन्तलाई टेलिफोन सम्पर्क गरी सडक निर्माणको काम ३ भित्र सुरु गर्न निर्देशन दिनु भएको थियो ।
केही समयपछि अवरोध स्थलमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी पुगेर तत्काल सडकमा पानी छर्किने र बुधबार सडक निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाई छलफल गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको थियो । बुधबार बृहत् छलफल भएपछि सडक निर्माण सुरु नहुँदासम्म नगरपालिकाले पानी छर्किने र हुलाकी सडकमा नाली व्यवस्थापनका लागि पहल गर्ने लिखित सहमति भएको छ ।कम्पनीका प्रतिनिधि खगेन्द्र पाण्डेयले ढल निकासका लागि खनिएको बाटोमा मङ्सिर मसान्तसम्म ग्राभेल गर्ने र फागुन महिनामा कालोपत्रे गर्न सकिने बताउनुभयो ।