माधव पौडेल, कञ्चनपुर, १२ मङ्सिर । नेकपा एमाले बेलौरी नगर कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार मन्त्रालय पुगी कञ्चनपुरका किसानहरूले लगाउने उखु,धान, गहुँ लगायत तेलहन खेतीमा भोग्नु परेका समस्या सम्बन्धी ४ बुँदे ज्ञापन पत्र बुझाइएको बताइएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएको छ कि, "दक्षिणी क्षेत्रका किसानहरूले विगत १५ वर्ष देखि उखु खेती गर्दै आएको ब्यहोरा सर्वविदितै छ । किसानले उखु खेती गर्दा निकै लगानी र मेहनत गरी उखु उत्पादन गरे तापनि किसानले उत्पादन गरे अनुसारको मेहनतको फल चित्त बुझ्दो गरी प्राप्त गर्न नसकेको र उखु मिल चल्नु भन्दा पूर्व उखुको समर्थन मूल्य सरकारले तोक्नु पर्ने हो । तर त्यसरी तोकिएको नपाइएको किसानको उखु करिब ७५% मिलले खरिद गरिसकेपछि मात्र सरकारले उखुको समर्थन मूल्य तोक्ने गरेको छ । यसरी किसानलाई मर्का पर्ने गरी ढिलो उखुको समर्थन मूल्य तोक्नु किसानका लागि दुःखद पक्ष रहेको र उखुको समर्थन मूल्य तोक्दा उखु मिल चल्नु अगावै उखुको समर्थन मूल्य तोक्ने वातावरण बनाइयोस् भनी यसै मन्त्रालय मार्फत सङ्घीय सरकारको सम्बन्धित मन्त्रालयलाई पहल गरिदिन अनुरोध गर्दछौँ ।"
१. उखु किसानलाई प्रत्यक्ष रूपले कुनै पनि कर नलगाउने व्यवस्था गरियोस्,
२.गहुँ, दलहन र तेलहन लगायतका कृषि वालिहरूको समर्थन मूल्य समयमै तोकिने व्यवस्था गरियोस्,
३.यस क्षेत्रका प्रत्येक पालिकामा कम्तीमा एउटा कृषि उत्पादन खरिद केन्द्र (डिपो) राख्ने व्यवस्था मिलाइयोस्,
र
४. कृषकहरूलाई समयमा विउविजन, आवश्यक मलखाद सहुलियत दरमा उपलब्ध गराउने वातावरण मिलाइयोस् ।
माथि उल्लेखित ४ बुँदे ज्ञापन पत्र मन्त्री थापालाई बुझाइएको नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीका अनुसार, यस वर्षको उखु क्रसिङको समय सुरु भइसक्दा समेत सरकारले अझै उखुको समर्थन मूल्य तोक्न नसकेको बताउँदै गहुँ, तेलहन, दलहन खेतीबालीको समेत समयमै मूल्य तोक्नुपर्नेमा जोड दिइएको छ । सरकारले समयमै कृषि अन्नबालीको समर्थन मूल्य नतोक्दा किसानहरूमा निराशा छाएको छ ।
कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सल्लाहकार लाल बहादुर शाही, जिल्ला सचिवालय सदस्य एवं बेलौरी इन्चार्ज धनेश दत्त पन्त, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, जिल्ला कमिटी सदस्य चक्र बहादुर कठायत, लाल बहादुर चौधरी, सुरेन्द्र शाही, बेलौरी नगर कमिटी उपाध्यक्ष सहवीर महतरा, सचिव हस्त बहादुर वि.क., उपसचिव मिस्रीलाल चौधरी, उपसचिव गीता डगौरा लगायतको उपस्थिति रहेको थियो । ज्ञापन पत्र बुझ्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाले प्रदेश सरकार मार्फत सङ्घीय सरकारलाई उखुको समर्थन मूल्य तोक्न पहल गरिने बताउनुभयो । प्रदेश सरकारले उखु खेतीलाई नयाँ किसिमले प्रवर्धनका लागि दुई वटै मिलसँग समन्वय गरेको समेत बताउनुभयो।