हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ मङ्सिर । शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कञ्चनपुरले गत आर्थिक वर्ष २०८०।०८१ मा सञ्चालन गरेका कार्यक्रमहरूको वार्षिक प्रगति विवरण सार्वजनिक तथा सामाजिक लेखा परीक्षण गरेको छ । मंगलबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू समक्ष वार्षिक प्रगति विवरण सार्वजनिक तथा सामाजिक लेखा परीक्षणका लागि अन्तरक्रिया गरिएको शान्ति पुनर्स्थापना गृहका सुदूरपश्चिम संयोजक सञ्जित सिंहले जानकारी दिनुभयो । त्यस क्रममा शान्ति पुनर्स्थापना गृहको केन्द्रीय तथ्याङ्क र शाखा कार्यालय कञ्चनपुरको वार्षिक प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।
शान्ति पुनर्स्थापना गृह कञ्चनपुर शाखाका सुपरभाइजर मनीषा न्यौपानेले दिएको जानकारी अनुसार, ४ हजार ७३५ जना व्यक्तिहरूलाई कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव, दोधाराचाँदनी, बेलौरी र बेलडाँडी स्थित पि.आर.सि. को सूचना तथा परामर्श सेवा केन्द्र मार्फत मानव बेचबिखन तथा ओसारपसार र विभिन्न हिंसा विरुद्धमा सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार र विभिन्न हिंसाको जोखिममा रहेका २९७ जना प्रभावितहरूलाई उद्धार गरी पारिवारिक पुनर्मिलन र पुनर्स्थापना गरिएको समेत बताइएको छ । त्यस्तै, १३ जना व्यक्तिहरूलाई भारतका विभिन्न सङ्घसंस्थाहरू र प्रहरी प्रशासनसँगको सहकार्यमा नेपाल फिर्ता गरी पारिवारिक पुनर्मिलन गर्न सफल भएको दाबी गरिएको छ । यसका साथै, संस्थाको रोहबरमा २ जनाको मानव बेचबिखन तथा ओसारपसार विरुद्ध, ३ जनाको जबर्जस्तीकरणी विरुद्ध र २ जनाको बाल यौन दुरुपयोग तथा दुर्व्यवहार विरुद्ध मुद्दा दर्ता गराइएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । १९ जनाको खोजतलास निवेदन दर्ता भएकोमा २ जनालाई फेला पारी पारिवारिक पुनर्मिलन गराउन सफल भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले नयाँ नयाँ शैलीमा मानव बेचबिखन जस्तो जघन्य अपराध हुने गरेका घटनाहरू सुनिने गरेकोले त्यस्ता शैलीहरूलाई निस्तेज पार्न सरोकारवाला सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष गरी नेपाल-भारतको खुला सिमानासँग जोडिएका पालिकाका पदाधिकारीहरूलाई गम्भीर रूपमा मानव बेचबिखनविरुद्ध काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले मानव बेचबिखन रोक्न थप जनचेतनाको आवश्यकता देखिएकोले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले मानव बेचबिखन लगायतका अपराधहरूलाई रोकथामका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले मानव बेचबिखनमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न राज्य संयन्त्र तम्तयार रहेको उल्लेख गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रले मिलेर अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति खगेन्द्र चन्दले शान्ति पुनर्स्थापना गृहका प्रतिनिधि र सशस्त्र प्रहरी बलको टोलीले सीमा क्षेत्रमा हुनसक्ने सम्भावित घटनाहरूको निगरानी बढाइरहेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका शान्ति पुनर्स्थापना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटाले उद्धारको कार्य गर्दा ठुलो चुनौतीको सामना गर्नु परिरहेको जनाउँदै यसमा काम गर्ने कर्मचारीहरूको सुरक्षा राज्यको जिम्मेवारी भएको धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकार तथा संस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सुपरभाइजर मनीषा न्यौपाने र बेलौरीका परामर्शदाता नितु बिष्टले गर्नुभएको थियो । शान्ति पुनर्स्थापना गृहले कञ्चनपुर जिल्लामा वि.सं. २०७६ सालदेखि आफ्नो शाखा कार्यालय स्थापना गरी कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव, दोधाराचाँदनी, बेलौरी र बेलडाँडी लगायतका सीमा क्षेत्रमा सम्पर्क कार्यालय र सूचना तथा परामर्श सेवा केन्द्र सञ्चालन गरी विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय र सहकार्य गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गर्ने र उद्धार कार्य गर्दै आइरहेको छ ।