माधव पौडेल, कञ्चनपुर, ०७ मङ्सिर । नेकपा एमाले निकट पेसागत महासङ्घ नेपाल, बेलौरीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । "समृद्ध नेपाल, सुखी जीवन : गुणस्तरीय सेवा, जिम्मेवार ट्रेड युनियन" भन्ने मूल नाराका साथ शुक्रबार आयोजित प्रथम नगर अधिवेशनबाट जनक भट्टको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा नरेन्द्र चन्द र अनिता पाण्डेय (भट्ट), सचिवमा विष्णुप्रसाद तिवारी, सहसचिवमा कर्णबहादुर कुँवर, कोषाध्यक्षमा युवराज अर्याल तथा सदस्यहरूमा दुर्गा चौधरी, ईश्वरी गुरुङ र शिवराज जोशी चयन हुनुभएको छ ।
पेसागत महासङ्घ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा आयोजित अधिवेशनमा पेसागत महासङ्घ केन्द्रीय सदस्य जयन्ती पन्त प्रमुख अतिथि रहनु भएको थियो भने नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञप्रसाद कँडेल विशिष्ट अतिथि । अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं पेसागत इन्चार्ज रामचन्द्र रेग्मी, पेसागत महासङ्घ नेपाल सुदूरपश्चिम महासचिव कमल चन्द, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं बेलौरी नगर इन्चार्ज धनेश दत्त पन्त, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्द लगायत पार्टीको विभिन्न पेसागत सङ्गठनमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न गर्ने पहिलो पालिका बेलौरी बनेको पेसागत महासङ्घ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष राजेन्द्र बिष्टको दाबी छ । पुस मसान्तसम्म कञ्चनपुरका ९ वटै पालिकाहरूमा अधिवेशन गरिसक्ने कार्य योजना रहेको उहाँको भनाइ छ ।