हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ मङ्सिर । मंगलबार दिनभर कैलालीको धनगढीस्थित होटेल डिभोटीमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, गृह सचिव गोकर्णमणि दुवाडी, प्रदेशका प्रमुख सचिव डा. कमल प्रसाद पोखरेल सहित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा सुदूरपश्चिम प्रदेशको सुरक्षा अवस्था सम्बन्धी वृहत् छलफल भयो । कार्यक्रम थियोे, सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी । नेपाल सरकारको गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा मंगलबार उक्त गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन बनाएर संसद्मा लैजाने तयारी गरिएको बताउनु भयो । २०१२ सालमा बनेको ऐनका आधारमा नेपाल प्रहरी र २०५८ सालमा बनेको ऐनकै आधारमा सशस्त्र प्रहरी सङ्गठन चलिरहेकोले त्यसलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गृहमन्त्री लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागू औषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरू चुस्त दुरुस्त हुनुपर्ने बताउनुभयो । साथै उहाँले आसन्न उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रूपले सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन समेत दिनुभयो ।
गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरशः पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तहको उप-निर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतीहरू तथा जोखिमहरूको विश्लेषण गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
सो अवसरमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रकाश देउजा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव छवि रिजाल र सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्यले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको गोष्ठीको अध्यक्षता समेत गर्नु भएका गृह सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभएको छ ।