प्रेमा आचार्य, कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा आयोजक पुनर्वास निलोलाई २ का विरूद्ध ५ गोल अन्तरले पराजित गर्दै धनगढी प्रथम भएको हो । प्रतियोगितामा प्रथम भएको धनगढी उपमहानगरपालिकाको टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय भएको पुनर्वास नगरपालिकाको टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
त्यस्तै, बेस्ट प्लेयरका रूपमा दश हजार र अन्तिम खेलमा म्यान अफ दि म्याचका रूपमा दुई हजार गरि जम्मा बाह्र हजार नगद सहित धनगढीका विवेक सञ्जेललाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा बेस्ट स्कोरर बेलौरीका दिपेन्द्र शाहीलाई सात हजार नगद प्रदान गरिएको छ । त्यसैगरी बेस्ट किपर धनगढीका पारस खड्का, राइजिङ प्लेयर पुनर्वासका सुदीप तामाङ र बेस्ट डिफेन्सर पुनर्वासकै साहिँल तामाङलाई जनही पाँच हजारका दरले पुरस्कृत गरिएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्व र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा गत माघ २५ गते देखि सञ्चालन भएको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का स्थानीय तहहरूका गरी जम्मा १२ टिमको सहभागिता रहेको पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । पछिल्लो समयमा फुटबल प्रति यहाँका खेलाडीहरूको आकर्षण बढ्दो क्रममा रहेको र यस क्षेत्रका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा समेत भाग लिइसकेको हुँदा नगरपालिकाले पनि फुटबल खेललाई प्राथमिकता दिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाको भनाइ छ ।
प्रतियोगिताको समापन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, पूर्व सहायक मन्त्री लाल बहादुर विश्वकर्मा, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओड, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङ, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी सहित हजारौं स्थानीयको सहभागिता रहेको थियोे । पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित ६५ बिघा क्षेत्रमा फुटबल प्रतियोगिता भएको हो ।