किशोर तामाङ, कञ्चनपुर, २२ कार्तिक । कञ्चनपुरको पुनर्वासमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुदको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पुनर्वास नगरपालिका वडा नं ६ को सभा हलमा आयोजित पत्रकार सम्मेलनमा "खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ त्रिभुवन युवा क्लबको घरेलु खेलमैदानमा यही कार्तिक २३ गतेदेखि निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप हुने जानकारी दिइएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ६ को वार्षिक कार्य तालिका अनुसार वडा कार्यालयको प्रवर्द्धन र त्रिभुवन युवा क्लबको आयोजनामा “जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप हुन लागेको त्रिभुवन युवा क्लबका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले यस खेलको आयोजनासँगै आगामी दिनमा फुटबल खेलको विकासका लागि खेलप्रति आकर्षण बढाउन र स्थानीय तहमा युवाहरूको सक्रियता जनाउन “निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप सञ्चालन गर्न लागेको बताउनु भयो ।
यसै गरी फुटबलमा नै समर्पण गरी आफ्नो जीवन बिताइरहेका खेलाडीहरूका लागि खेलको माध्यमबाट स्वस्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्यका साथ वडाले खेलकुद मा बजेट छुट्टाएको वडाध्यक्ष मित्र सिंह लामाले बताउनु भयो। उहाँले विकास बाटोघाटो ,भवन निर्माण , शिक्षा स्वास्थ्य मात्र नभई यस सगसगै वर्तमान अवस्थामा स्वस्थ रहनका लागि घर भित्रै अनावश्यक इन्टरनेटको कुलतमा लागेका युवाहरूलाई फ्री फायर पपजी जस्ता खेलहरू बाट बाहिर निकाल्न र शारीरिक तन्दुरुस्तका लागि खेलकुद अनिवार्य रहेको औँल्याउनु भयो।उहाँले खेलकुदको विकासका निम्ति सही ठाउँ सही समय अवलम्बन गर्नु पर्ने र खेलकुदमा रुचि भएकाहरूलाई सानैदेखि प्रशिक्षण दिए अवश्य पनि लगानी खेर नजाने बताउनुभयो ।
त्यसै गरी मन्तव्यको क्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले ग्रामीण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजक लाई धन्यवाद दिनुहुँदै कञ्चनपुरको दक्षिणी भेग फुटबल खेलाडीको हब रहेको बताउनुभयो । उहाँले कञ्चनपुरमा राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा दक्षिणी क्षेत्रको ठुलो भूमिका रहेको जिकिर गर्नुभयो । साथै उहाँले पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न प्रतियोगिताहरू हुँदै आएको बताउनुभयो । मन्तव्यको क्रममा अध्यक्ष रायमाझीले स्थानीय स्तरबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सदैव उद्योग वाणिज्य सङ्घ सकारात्मक रहेको र खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।
जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप विगत वर्षहरूमा निर्वाचन क्षेत्र नं. १ स्तरीय गरिँदै आएकोमा यस वर्ष देखि अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप गर्न लागिएको कलाका सचिव भरत बोहराले जानकारी दिनुभयो । सचिव बोहराले खेलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका २२ टिमको सहभागिता रहेको बताउनुभयो। साथै उहाँले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको विजेता हुने टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टिमले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने जानकारी दिनुभयो । यस्तै, व्यक्तिगत विधामा समेत आकर्षक पुरस्कार दिइने र उक्त व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता लाई नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव भरत बोहराले जानकारी दिनुभयो।
पुनर्वास वडा नं ६ का वडाध्यक्ष मित्र सिंह लामाको सभापतित्व रहेको उक्त पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख उद्योग वाणिज्य सङ्घ पुनर्वास शाखाका अध्यक्ष राजकुमार रायमाझी, सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङ,भानु युवा क्लब का सचिव,तेज सिंह ठकुरी,जीवन ज्योति मा बि का प्रधानाध्यापक भरत बस्नेत, जन निर्वाचित वडा सदस्यहरू , बुद्धिजीवी, पूर्व खेलाडीहरूको आतिथ्य रहेको थियो । त्रिभुवन युवा क्लबका अध्यक्ष जित बहादुर तामाङ को स्वागत मन्तव्य बाट सुरु भएको उक्त पत्रकार सम्मेलनको कार्यक्रममा सञ्चालन आयोजक कमिटीका सचिव भरत बोहराले गर्नुभएको थियो । प्रतियोगिताका खेलहरू विश्व फुटबल महासङ्घ फिफाद्वारा पारित नियम अनुसार खेलाइने आयोजकले जनाएको छ ।