हरिश चन्द्र बाग, कञ्चनपुर, २ फागुन । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष एवं पूर्व सांसद तथा संविधान सभा सदस्य कृपाराम रानाले रानाथारु समुदायलाई सूचीकृत गरेकोमा वर्तमान सरकार प्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । नेपाल रानाथारु समाज बेलौरीले शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरेको स्वागत, बधाई एवं धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई दशक लामो समयदेखिको संघर्ष र आन्दोलन पछि रानाथारु समुदायलाई वर्तमान सरकारले सूचीकृत गरेकोमा खुशी व्यक्त गर्नुभयो । रानाथारु समुदायका लागि यो हर्षको विषय भएको उल्लेख गर्दै उहाँले राष्ट्रपति, प्रधानमन्त्री सहित मन्त्रीपरिषद् र उक्त अभियानमा सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
“संस्कृति बचामै कुरीति हटामै, रानाथारु समाजके निर्झल बनामै” भन्ने मूलनारा सहित बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको स्वागत, बधाई एवं धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले कञ्चनपुर र कैलालीमा बसोवास गर्ने रानाथारु समुदायलाई राज्यले आदिवासी जनजातीको रुपमा अलग्गै सूचिकृत गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सिफारिस देखि आवश्यक सहयोग बेलौरी नगरपालिकाले समेत कुनै हिच्किचाहट नमानी प्रक्रियागत ढंगले गरेको स्मरण गराउनु भयो ।
वि.सं. २०५६ सालमा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै सो समुदाय निरन्तर आन्दोलित थियो । रानाथारु समुदायलाई सरकारले सूचिकृत गरिसकेपछि थारुहरुलाई फुटाउने काम भएको भनी थारु कल्याणकारिणी सभाको केन्द्रीय समितिले विरोध जनाएको प्रति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी र थारु कल्याणकारिणी सभा कञ्चनपुरका अध्यक्ष मेवाराम चौधरी सहित डगौँरा थारु समुदायका प्रतिनिधिहरुले आपत्ति जनाउनु भएको छ । उहाँहरुले ढिलै भएपनि रानाथारु समुदायका मागलाई राज्यले सम्बोधन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख चित्र कुमारी चौधरी सहित वडाध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य अमर चौधरी, क्षेत्रीय संयोजक पल्लव राज भट्ट, जिल्ला सदस्य दीपा चौधरी, नेपाली कांग्रेस बेलौरी नगर सभापति रामलाल राना, नेपाल आदिवासी जनजाती महासंघ बेलौरीका अध्यक्ष झक बहादुर शिरिश मगर, ग्रामीण विद्युत्का क्षेत्रीय अध्यक्ष किशन नेपाली लगायतका वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ ।
राज्यको मूलधारसम्म पहुँच नपुग्नुको मुख्य कारणका रुपमा आफुहरु सूचीकृत नभएको रानाथारु समुदायको ठम्म्याई छ । उक्त समुदायको माग बमोजिम राज्यले ढिलै भएपनि सूचीकृत गरिसकेपछि आगामी दिनमा आफुहरुका प्रत्येक कला, संस्कृति र भेषभूषालाई प्रवर्धन गर्दै लैजाने रानाथारु समाजका पूर्व केन्द्रिय सचिव तथा बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्द कुमार रानाले बताउनु भयो । नेपाल सरकारले डेढ हप्ता पहिले माघ २० गतेको मन्त्रिपरिषद्को बैठकबाट कञ्चनपुर र कैलालीका आदिवासी रानाथारु समुदायको माग र विज्ञहरुको सुझावका आधारमा उक्त समुदायलाई अलग्गै पहिचान सहित सूचीकृत गरेको थियो ।
कुनै पनि समुदाय अलग्गै सूचीकृत हुनका लागि कम्तीमा १० वटा संस्कारमा भिन्नता हुनुपर्ने मान्यता छ । यसअघि रानाथारु समुदायलाई थारु जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो । तर थारु र रानाथारुबीच पनि जन्मदेखि मृत्युसम्मको १० भन्दा बढी संस्कारमा भिन्नता पाइन्छ । कञ्चनपुर र कैलाली जिल्लामा गरी करीब साढे तीन लाखको संख्यामा रानाथारुको बसोबास छ । रानाथारु समुदायको मुख्य पर्व भनेको होरी अर्थात फागु हो । सूचीकृत भइसकेपछि अहिले उनीहरुको बसोबास रहेका गाउँबस्तीहरुमा हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरिदै छन् ।