हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ कार्तिक । कञ्चनपुरको बेलौरीमा शुक्रबारदेखि क्षेत्रीयस्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । उग्रतारा बाल विद्यालय र बेलौरी ब्याडमिन्टन क्लबको आयोजनामा कञ्चनपुर क्षेत्र नम्बर १ स्तरीय उग्रतारा बि.बि.सी ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो । यो आठौँ संस्करणको प्रतियोगिता हो । उग्रतारा बाल विद्यालय शान्तिपुरको ब्याडमिन्टन हलमा सञ्चालन भइरहेको यस संस्करणमा २४ टिमको सहभागिता रहेको बेलौरी क्लबका अध्यक्ष अशोक श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको उपाधि हात पार्ने प्रथम टिमलाई नगद रु. ३३ हजार ३ सय ३३ रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुने टिमलाई नगद रु. २२ हजार २ सय २२ रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । तृतीय हुने टिमले भने नगद रु. ११ हजार १ सय ११ रकम सहित ट्रफी, मेडल, प्रमाणपत्रमा चित्त बुझाउनु पर्ने छ ।
शुक्रबार बिहान औपचारिक कार्यक्रम गरी प्रतियोगिताको उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेलकुदका क्षेत्रमा बेलौरी नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको र यसलाई व्यवस्थित गर्दै लैजाने कुरामा सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख चौधरीले खेलकुदसँगै अन्य विकास निर्माणका कार्यमा पनि सबै एकताबद्ध हुनुको विकल्प नरहेको उद्घोष गर्नुभयो । बेलौरीलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्न सबैको सहयोग र सहकार्यको समेत आवश्यकता औँल्याउनु भयो ।
उक्त उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह राना, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मका गुल्मपति प्रमुख सन्दीप अर्याल, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक देव बहादुर बुडाल, महालक्ष्मी विकास बैङ्कका शाखा प्रमुख हेम बहादुर बोहरा, सुदूरपश्चिम इँटा व्यवसायी संघका अध्यक्ष बलदेव सिंह बुडाल, श्रीपुर खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष गोविन्द प्रसाद सापकोटा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले गर्नुभएको हो । कार्यक्रममा स्वागत मन्तव्य बेलौरी ब्याडमिन्टन क्लबका सल्लाहकार सदस्य दिनेश कुँवर र उग्रतारा बाल विद्यालयका सहायक प्रिन्सिपल ईश्वर रिजालले गर्नुभएको थियो ।