हरिश्चन्द्र बाग, पाल्पा, ०६ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रा गराएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको रु. २ लाख ५० हजार बजेटमा वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको हो । तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता रहेको छ ।
तीर्थयात्रीहरूले कास्की पोखरा स्थित फेवातालमा रहेको तालबाराही मन्दिर, बागलुङको कालिका मन्दिर, म्याग्दीको गलेश्वर धाम र मुस्ताङमा रहेका कागबेनी तथा मुक्तिनाथसम्मका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नुभएको छ । मुक्तिनाथसम्मको तीर्थयात्रा गरी बेलौरी-४ का ज्येष्ठ नागरिकहरू सहितका तीर्थयात्रीहरू घर फर्किँदै हुनुहुन्छ । तीर्थयात्री ज्येष्ठ नागरिकहरूले दशकौँदेखि मुक्तिनाथसम्मको यात्रा गर्ने सोच बनाए पनि अहिले वडा कार्यालयले तीर्थयात्रा गराएकोमा निक्कै खुसी व्यक्त गर्नुभयो । उहाँहरूले वडाका जनप्रतिनिधिहरूलाई धन्यवाद स्वरूप आशीर्वाद पनि दिनुभएको छ ।
वृद्धावस्थामा ज्येष्ठ नागरिकहरूलाई धार्मिक क्षेत्रको भ्रमण गर्ने इच्छा हुने भएकोले उहाँहरूलाई धार्मिक यात्रामा लगिएको वडाध्यक्ष अर्जुन ढकालको भनाइ छ । गत विगतका वर्षहरूदेखि ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत वडाले जाडो महिनामा न्यानो लुगा वितरण, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण लगायतका विविध कार्यक्रम गर्दै आइरहेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने वडाध्यक्ष ढकालको भनाइ छ । गत वर्ष ३० जना ज्येष्ठ नागरिकहरूलाई काठमाडौँ स्थित पशुपतिनाथ लगायतका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइएको वडा सदस्य शिवराज रानाले जानकारी दिनुभयो ।
तीर्थयात्रा स्मरण ।।
यही कार्तिक ०२ गते शुक्रबार दिउँसो बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उक्त टोलीलाई तीर्थयात्रा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । रिजर्भ बसमा निरन्तर २० घण्टासम्मको यात्रा पछि तीर्थयात्रीहरूको टोलीले शनिबार कास्कीको पोखरा स्थित फेवातालमा रहेको तालबाराही मन्दिरको दर्शन गर्यो । त्यसपछि कास्कीकै काँडेमा दिवा भोजन गरेर साँझपख म्याग्दीको बेनी स्थित गलेश्वर महादेव मन्दिरको दर्शन गरी त्यस रातिको भोजन र विश्राम गलेश्वरस्थित धर्मशालामा गरियो ।
आइतबार बिहान तातोपानीमा स्नान गरेर तीर्थयात्रीहरूको टोली कागबेनीका लागि प्रस्थान गरेको थियो । आइतबार दिउँसो कागबेनी पुग्नु भएका तीर्थयात्रीहरूले सन्ध्याकालीन गङ्गा आरतीमा सहभागी भई त्यहाँ रहेको धर्मशालामा भोजन र रात्रि बास गर्नु भएको थियो । उहाँहरूले सोमबार बिहान कागबेनी तीर्थस्थल कालीगण्डकीमा स्नान गरेर तीर्थ श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्नुभएको छ ।
सोमबार कागबेनी र मुक्तिनाथको दर्शन गरी उक्त टोली फर्किएर राति म्याग्दीको बेनी स्थित गलेश्वर धाममा पुगी रातिको भोजन र विश्राम पुनः धर्मशालामा भयो । मंगलबार बिहान गलेश्वर धामको दर्शन गरेर फर्किने क्रममा बागलुङको कालिका मन्दिरको दर्शन गरी त्यहाँ भइरहेको भजन कीर्तनमा समेत तीर्थयात्रीहरूले निक्कै मनोरञ्जनका साथ नृत्य गर्नुभएको थियो । बागलुङको कालिका मन्दिरको दर्शन गरेर तीर्थयात्रीहरूको उक्त टोली घरतर्फ फर्किएको छ ।