हरिश्चन्द्र बाग, म्याग्दी, ०३ कार्तिक । कञ्चनपुरको बेलौरीका तीर्थयात्री ज्येष्ठ नागरिकहरू सहितको टोलीका सदस्यहरूले कास्कीको पोखरा स्थित तालबाराही मन्दिर र म्याग्दीको बेनी स्थित गलेश्वर धामको दर्शन गर्नु भएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई शुक्रबार दिउँसो तीर्थयात्रामा पठाएकोमा उक्त टोली शनिबार साँझ बेनी पुगेको छ । गलेश्वर धाम परिसरमै रहेको श्री मुक्तिहरि राधाकृष्ण मन्दिरको धर्मशालामा रात्रिकालीन भोजन र बसोबासको व्यवस्था गरिएको छ ।
तीर्थयात्रीहरूलाई मुस्ताङमा रहेको मुक्तिनाथसम्मका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराउन ल्याइएको वडाध्यक्ष अर्जुन ढकालले बताउनु भएको छ । वडाको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको रु. २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रा गराउन लागेको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको छ । तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता रहेको छ ।
कास्की पोखराको तालबाराही मन्दिर ।।
तालबाराही मन्दिर पोखरास्थित फेवातालको बिच भागमा रहेको धार्मिक पर्यटकीय तीर्थस्थल हो । माछापुच्छ्रे हिमालको छाया देखिने फेवा तालको बिच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रूपमा पुजिँदै आइएको छ । तालको बिचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्ति पीठ मध्ये एक मानिन्छ । अति प्राचीन मन्दिरका रूपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै पर्खाइमा छ । तालबाराही मन्दिरको अस्तित्व वि.सं. १६६७ देखि कायम रहिआएको छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पनि पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको जानकारहरूको भनाइ छ ।
प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो । त्यहीँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्ती अनुसार तालको बिचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । वाराही देवीको शक्तिले तालको बिचमा टापु बनेको विश्वास छ । जनश्रुति अनुसार तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बूढी आमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ । भोलिपल्ट बिहान बूढी आमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकोमा ठूलो बाढी भएर जलमग्न भयो र बिच भागमा ढिस्को मात्रै रह्यो । वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । फेवाताल र यसको बिचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । पोखरालाई पर्यटकीय रूपमा चिनाउन फेवाताल यहाँको महत्त्वपूर्ण सम्पत्ति हो भने धार्मिक रूपमा चिनाउन तालबाराही मन्दिर । पोखराको गहना फेवाताल हो भने फेवातालको गहना तालबाराही मन्दिर हो ।
तालको बिचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढा टाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यस कारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । यहाँ धार्मिक आस्था बोकेका र नबोकेका दुवै थरी पर्यटक घुम्न आउने गरेका छन् । धर्म र पर्यटनको दुवै रूपमा गन्तव्य स्थल बनेको यस मन्दिरमा वर्षैभरि दर्शनार्थी पुग्ने गरेका कारण मेला लागेजस्तो हुने गरे पनि यहाँ कोजाग्रत पूर्णिमाका दिन विशेष मेला लाग्छ । यस दिन वाराही दर्शन गरी जमरा सेलाउन टाढा टाढाबाट भक्तजन आउने गर्दछन् । नवरात्र अवधिभर यहाँ आउने भक्तजनका कारण नै मन्दिर परिसर दिनभर नै खचाखच भरिएको हुन्छ । ।तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर वाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यको मज्जा लिन पाइने मात्र हैन तालवाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू मन्दिरमा पुग्ने गरेका छन् । दैनिक चारदेखि छ हजारसम्म पर्यटक यहाँ दर्शनका लागि आउँछन् । यहाँ आएर विवाह बन्धनमा बाँधिए दाम्पत्य जीवन सुखी हुने जनविश्वास यस मन्दिरको अर्को विशेषता हो ।
म्याग्दी बेनीको गलेश्वर धाम ।।
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर धाम एक अलौकिक शक्ति धामको रूपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वर धाम रहु नदी र काली गण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्र शिलामाथि अवस्थित यस शिलाको मध्य भागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत पुराण अनुसार श्री महादेवले शतीदेवीको मृत शरीर बोकेर कृष्ण गण्डकी नदीको किनारै किनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा शतीदेवीको गला पतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिव शक्ति स्वरूप रहनुभएकाले यसको नाम गलेश्वर धाम रहन गएको लिखित दस्ताबेजमा उल्लेख भएको पाइन्छ । चक्र शिलाको परिधिमा शालिग्राम, शिव लिङ्ग र भगवान्को चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्ण गण्डकी, गायत्री मन्दिर, पश्चिम कालँजरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलागिरि हिमशृङ्खला र मुक्तिनाथ, दक्षिण बेनी बजार र म्याग्दी नदी रहेका छन् । बेनी बजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो द्वार मुक्ति द्वारको रूपले समेत चिनिन्छ ।
चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेको पृथ्वीलाई जलमध्येबाट श्री विष्णु भगवान्ले बराह अवतार लिएर उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएको सुख्खा याममा पनि पानी नसुक्ने जल बराह कुण्डलाई दैविक चमत्कारको रूपमा दर्शनार्थीले लिने गरेका छन् । चक्रकार जल बराह कुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वास धर्मावलम्बीको रहँदै आएको छ । एउटै प्रसिद्ध गोलाकार चक्र शिलाको उत्तर पूर्वी कोणमा अवस्थित मूल मन्दिरभित्र स्वयं उत्पत्ति भएका ज्योतिर्लिङ्गेश्वर महादेव अवस्थित रहेकाले पनि धर्मावलम्बीले अलौकिक शक्तिको धामका रूपमा लिने गरेका छन् । सुख्खा याममा पनि नसुक्ने जल बराह कुण्ड, गणेश शिव लिङ्ग, शालिग्राम, शङ्ख चक्र, नाग देवता र भगवान्का पाउ चिन्ह स्वयं प्रकट भएको प्रत्यक्ष दर्शन पूजन गर्न सकिने यस धामलाई विश्वकै अद्भुत र अलौकिक तीर्थस्थल मानिन्छ । अलौकिक चक्र शिलामाथि लक्ष्मीनारायण, पाञ्चायन देवता, १०८ शिव लिङ्ग, यज्ञ मण्डप, हवन कुण्ड, राधाकृष्ण र जडभरतद्वारा राजर्षि रहुगणलाई उपदेश दिँदै गरेको मूर्ति, राजा भरत, मिर्गरूपी भरत, नवदुर्गा भवानी, कामधेनु गाई नवनिर्मित राधाकृष्ण मन्दिर, गलेश्वर बाबाका मूर्तिलगायत अन्य मठमन्दिर अवस्थित छन् । चक्र शिलामाथि रहेका शिव लिङ्ग देवीदेवता दर्शन पूर्व शिलाको पूर्वी पथ मार्गबाट राजा भरतको तपस्थली गुफा हुँदै कृष्णा गण्डकी स्नान गर्न जान सकिन्छ ।
यस मन्दिरको निर्माणको सन्दर्भमा नाथ नामका व्यक्तिले खरको पहिलो कच्ची मन्दिर बनाएको भन्ने गलेश्वरको झुत्रो लालमोहरमा उल्लेख छ । शिवालयमा प्रत्येक बिहान वैदिक विधिअनुसार नित्य पूजा, अर्चना शिव स्तोत्रका साथै रुद्राभिषेक, हवन, आरती र पुष्पाञ्जली गर्ने गरिएको छ । भक्तले मनोकामना पूरा हुने विश्वासका साथ मन्दिरको दर्शन गर्न आउने गर्दछन् । पारिवारिक सुख, शान्ति, समृद्धि लगायतका मनोकामना पूरा हुने विश्वासका साथ पौराणिक कालदेखि गलेश्वर धाममा रोट चढाउने, बाच्छी बहर, सुनचाँदी, १०८ बेलपत्र चढाउँदा मनोकामना पूरा हुने विश्वास दर्शनार्थीमा रहेको छ । विशेष गरी गलेश्वर धाममा बालाचर्तुदर्शी देश विदेशबाट सद्बिज छर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । पछिल्लो समय महाबत्ती बाल्ने भक्तालु बढेका छन् । संस्कृत विद्यालय, वृद्धाश्रम र धर्मशालासमेत सञ्चालनमा छन् । भक्तजनबाट भेटी, यज्ञबाट आएको शुल्क, दाताबाट आएको चन्दा, मेला पर्वबाट सङ्कलित रकम नै मन्दिरको प्रमुख आयस्रोत हो । अन्न दान क्षेत्रसमेत रहेको उक्त स्थानमा तीर्थयात्रीलाई निःशुल्क भोजन गराइन्छ । वृद्धाश्रमका वृद्ध वृद्धालाई मन्दिरको आम्दानीबाट लत्ताकपडा र आवास उपलब्ध गराइँदै आएको छ । दर्शनार्थीको चाप बढ्न थालेपछि भजन कीर्तन, जाग्राम बस्नेलाई पछिल्लो समय ठाउँको अभाव हुने गरेकोले पूर्वाधारको आवश्यकता रहेको छ ।