धन बहादुर बोहरा, कञ्चनपुर, ३० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा कार्तिक ५ गतेदेखि पाँचौँ बिपी (विष्णु प्रसाद मिश्र) स्मृति क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । न्यु हिमालय सामाजिक सेवा समितिको आयोजनामा कार्तिक ५ गतेदेखि बिपी स्मृति क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा कञ्चनपुर जिल्लाभरिका ९२ वडाका टिमबिच प्रतिस्पर्धा गराइने जमर्को गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा टिम सहभागिताका लागि वडा कार्यालयसँग समन्वय थालिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा न्यु हिमालय सामाजिक सेवा समितिका अध्यक्ष नारायण सिंह बिष्टले कोरोना महामारीका कारण रोकिएको प्रतियोगितालाई यस वर्षदेखि निरन्तरता दिइएको बताए । काँग्रेसका स्वर्गीय नेता मिश्रको सम्झनामा समितिले २०७२ मा पहिलो पटक प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि कोरोना महामारीका कारण प्रतियोगिता आयोजना रोकिएको थियो ।
प्रतियोगिताका विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । उपविजेताले ७७ हजार ७ सय ७७ नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छ । आयोजकले मंगलबार साँझदेखि टिम दर्ता सुरु गरेको छ । आयोजक न्यु हिमालय सेवा समितिको टिम पनि प्रतियोगितामा सहभागी हुनेछ । प्रतियोगितामा टिम दर्ता गर्न २० हजार शुल्क तोकिएको छ ।
प्रतियोगिताका संयोजक खगेन्द्र धानुकले मंगलबार साँझदेखि टिम दर्ता सुरु भएको र कार्तिक ४ गते खेल तालिका सार्वजनिक गरिने बताए । टिम दर्ताका लागि सम्बन्धित वडाको सिफारिस र खेलाडीको नागरिकतालाई अनिवार्य गरिएको छ । प्रतियोगिताको वेस्ट प्लेयर अफ टुर्नामेन्ट, वेस्ट ब्याट्सम्यान र वेस्ट बलर, इमर्जिङ्ग प्लेयर, मोष्ट सिक्सर र वेस्ट फिल्डरलाई आकर्षक पुरस्कार प्रदान गरिने संयोजक धानुकले बताए । सबै खेलका प्लेयर अफ म्याचलाई ट्रफी प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा भीमदत्त नगरपालिका ८ का वडा अध्यक्ष मदनराज मिश्रले वडा कार्यालयले प्रतियोगिता सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विष्ट सहित सल्लाहकार गोरख बहादुर पुजारा, कबड्डीका खेलाडी लछीधन अधिकारी, नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामी लगायतका सहभागी भएका थिए । भीमदत्त नगरपालिका ८ तिलाचौरका काँग्रेस नेता मिश्रको २०६६ मा निधन भएको थियो । उनी काँग्रेसका क्षेत्रीय उप सभापति थिए । नेता मिश्र इमानदार, निष्ठावान्, स्वच्छ छवि बनाएका थिए । अध्यक्षका अनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू तिलौचारस्थित त्रिभुवन माध्यमिक विद्यालयको मैदानमा हुनेछन् ।