हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । ३ वर्षअघि रु. डेढ करोड लागतमा निर्माण गर्ने गरी कैलाश राखी कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरी २०७८ मङ्सिर ४ गते तत्कालीन नगर प्रमुख सुरेन्द्र बिष्टले शिलान्यास गरेको उक्त भवनको आज सोमबार नगर प्रमुख पदम बोगटीले उद्घाटन गर्नुभएको छ । हालसम्म घर बहालमा लिई वडा कार्यालय सञ्चालन गरिएकोमा अब भने वडाको आफ्नै भवनबाट सेवा प्रदान गर्न सहज हुने भीमदत्त नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भोजराज जोशीको भनाइ छ ।
कार्यक्रमका वक्ताहरूले सबै पक्ष मिलेर विकासका कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीले भवनको उद्घाटन गर्दै भवन अनुरूप जनतालाई सेवा सुविधा प्रवाहमा जोड दिनुभयो । मेयर बोगटीले भीमदत्त नगरपालिकाले सबै वडाहरूलाई सुविधा सम्पन्न बनाएर नागरिकलाई सेवा प्रवाह गर्दै आएको दाबी गर्नुभयो । नगर उपप्रमुख निलम लेखक जोशीले विकासका कार्यमा सबैले राजनीतिक आस्था भन्दा माथि उठेर लाग्नुपर्ने धारणा राख्नुभयो । भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले नगरपालिकाले आफ्नै वडा भवन मार्फत नागरिकलाई सेवा प्रवाह चुस्त दुरुस्त रूपमा अघि बढाउने बताउनु भयो ।
निवर्तमान वडाध्यक्ष उत्तम बहादुर बिष्टले आफ्नो ५ वर्षे कार्यकालको अनुभव सुनाउँदै समयमै जनताको हितमा काम गर्न सुझाव दिनुभयो । वडावासीले लामो प्रतीक्षापछि आफ्नै वडाको कार्यालय भवनबाट सेवा पाउने भएपछि हर्षित भएको प्रतिक्रिया दिँदै अन्य विकासका कार्यलाई पनि महत्त्व दिन सरोकारवाला पक्षसँग अनुरोध गर्नुभएको छ । कार्यक्रममा वडा सदस्य मान बहादुर विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम बिष्ट र कार्यालय सचिव राजेश्वरी शाह (चन्द) ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
भवन उद्घाटन कार्यक्रममा उक्त वडामा घर भई विभिन्न क्षेत्रमा रहेर सामाजिक वृद्धि विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ । युवा कवि पिङकी बोहरा, खेलाडीहरू महामति खाती, सोनिया ऐडी, विजय दमाई, सुवास उपाध्याय, विष्णु बहादुर सिंह, पूर्व शिक्षकहरू स्व.मान बहादुर कुँवर, वासुदेव जोशी, रुक्मिणी बिष्ट, प्रेम बहादुर खाती, देव बहादुर खाती, जनस्वास्थ्य निरीक्षक महानन्द जोशी, स्वास्थ्यकर्मी भरत विष्ट, उत्कृष्ट किसान जगतराम राना, निर्माण व्यवसायी इन्द्र सिंह कार्की, पूर्व वडाध्यक्ष हर्क बहादुर खाती, गोरख बहादुर सिंह, निवर्तमान वडाध्यक्ष उत्तम बहादुर विष्ट, डा. नीरज खाती, प्रेम बहादुर खाती, डा. सूर्य उपाध्याय, भानु बहुमुखी क्याम्पसका उप प्राध्यापक गगन खड्का, सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. हरिशचन्द्र भट्ट, सुदूरपश्चिम विश्वविद्यालयकै उपप्राध्यापक पृथ्वीराज भट्ट, शारदा संस्कृति विश्वविद्यालयका प्राध्यापक हरिलाल जोशी, अर्थ मन्त्रालयका उपसचिव गौरीशङ्कर उपाध्याय समेतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।