बडा दशैँ नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाई नवरात्र पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गर्छन् । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले पनि जानिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । उक्त पर्वले सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रूपमा लिइन्छ । असत्यमाथि सत्यको जित हुन्छ भन्ने मानो-सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्त्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ ।
घटस्थापना (पहिलो दिन)
आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यस दिन आफ्नो घर वा मन्दिरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी गोबर टाँसेर भिजाएको जौ राख्नुलाई जमरा राख्नु भनिन्छ। सो दिन पवित्र ठाउँ पूजा कोठा वा मन्दिरमा आसन ओछ्याई दियो, कलश र गणेशको पूजा गर्ने शास्त्रीय पद्धति छ।
त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘नवाक्षरस्यमन्त्रस्यबीजानिविलिखेत्ततः’ अर्थात् यो ‘ॐ दुर्गे दुर्गेरक्षिणी स्वाहा’ नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गर्नु भनिएको छ। दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐंह्रींक्लींचामुण्डायैविच्चे’ नवार्ण मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्छ, सकेसम्म प्रत्येक दिन १०८ हवन र कन्याको पूजा गर्नुपर्ने देवीभागवतमा उल्लेख गरिएको छ।
यस दिन ‘शैलपुत्री’स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ। पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ। उनको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा लिइन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गर्ने परम्परा छ।
नवरात्रीको दोस्रो दिन
यस दिन पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘ब्रह्मचारिणी’स्वरूपा दुर्गा भवानीको पूजा गरिन्छ। जमराको पूजा गरी जल सिञ्चन गर्ने क्रम नवरात्रभर रहन्छ। ब्रह्माको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभूषण धारण गरेकी हुनाले ब्रह्मचारिणीको पूजा आराधना गरिएको मान्यता छ। उनले हिमालय कन्याको रूपमा जन्मिएर भगवान् शिवलाई पति पाऊँ भनी तपस्या गरेकी थिइन्। ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवन सुखी रहने बताइन्छ। उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ। यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा कुमारी पूजा गर्ने चलन समेत रहेको छ। ब्रह्मचारिणीलाई विशेष रूपमा काँगियो, धागो र चोलाको कपडा चढाउनुपर्ने मान्यता पनि रहेको छ।
नवरात्रीको तेस्रो दिन
यस दिन ‘चन्द्रघण्टा’स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ। उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो। चन्द्रघण्टालाई विशेष गरी दूधका परिकार चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ। यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दूर, गाजल लगायत सामग्री चढाइन्छ।
नवरात्रीको चौथो दिन
यस दिन ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ। देवी भागवतका अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी थिइन्, तसर्थ उनलाई साक्षात् आदिशक्ति मानिन्छ। माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई आयु, यश र बलको वृद्धि हुने मान्यता रहेको छ। कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ।
नवरात्रीको पाँचौँ दिन
यस दिन ‘स्कन्दमाता’ स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ। शिव–पार्वती पुत्र कुमारको अर्को नाम स्कन्द हो। तसर्थ, पौराणिक मान्यताअनुसार स्कन्द या कार्तिकेयकी माता स्कन्दमाता हुन्। स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छा पूर्ति हुने मान्यता छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने विधि छ।
नवरात्रीको छैटौँ दिन
यस दिन ‘कात्यायनी’ स्वरूपा नवदुर्गा भवानीको पूजा आराधना गरिन्छ। पौराणिक मान्यताअनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए। कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्ध भइन्। महिषासुर वध गरेकाले उनी महिषासुरमर्दिनी नामले पनि चिनिन्छिन्। भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलङ्कार वा गरगहना चढाइन्छ।
फूलपाती (नवरात्रीको सातौँ दिन)
यस दिन ‘कालरात्रि’ स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ। शास्त्रमा देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्गयुक्त डरलाग्दो स्वरूप भएकी, शिरको कपाल बिग्रिएको, गोला र ठुला त्रिनेत्र भएकी तथा मस्तकमा अर्धचन्द्र भएकी स्वरूपको उल्लेख गरिएको छ। उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारबाट आतङ्कित या भयभीत हुनुपर्दैन भन्ने मान्यता छ। कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ। यस दिन आठ वर्षकी कन्यालाई ‘शाम्भवी देवी’का नामले पूजा गरी विशेष रूपमा छाता र फूलमाला चढाउने परम्परा छ। यस दिन देवीघरमा फूलपाती भित्र्याउने चलन छ।
रम्भाकच्चुहरिद्रा च जयन्ती विल्वदाडिमौ,
अशोकौमानकश्चैवधान्यानि नवपत्रिका।’
महाअष्टमी (नवरात्रीको आठौँ दिन)
यस दिन ‘महागौरी’ स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ । महागौरी आठ वर्षको उमेरमै कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गङ्गा जलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएकाले महागौरी भनी उनको नामकरण गरिएको शास्त्रमा उल्लेख छ। यस दिन भद्रकालीको पनि विशेष पूजा अर्चना गरिन्छ, किन कि सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा भद्रकाली प्रकट भएकी थिइन्।तसर्थ, यसै दिन शक्तिस्वरूपा महागौरीसँगै भद्रकालीस्वरूपा देवीको पनि पूजा गर्ने चलन छ। यस दिन पूजापछि बलि दिने चलन छ। बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, अहङ्कार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो, तर त्यसलाई पशु बलिको रूपमा चलन चलाएको पाइन्छ। खसीबोका, राँगा, कुखुरा आदिको सट्टा कुभिन्डो, घिरौँला आदि फलफूललाई जनावरको स्वरूप बनाएर बलि दिनु उचित मानिन्छ ।
रुद्रयामलमा ‘भगवतीको आस्था गरी पूजा गर्ने या सत्यको मार्गमा रहेका जुनसुकै जातजातिका मानिस ब्राह्मण हुन् र तिनले कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ। यस दिन नौ वर्षकी कन्यालाई ‘दुर्गादेवी’ नामले पूजा गर्ने चलन रहेको छ। त्यस्तै, देवीको वाहन सिंहलाई विधिवत् पूजा गर्ने र सकेसम्म नौ प्रकारका हातहतियारको पनि पूजा गर्ने प्रचलन रहेको छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
महा-नवमी (नवरात्रीको नवौँ दिन)
महानवमी नवरात्रिको नवौँ दिन, विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा राँगा बलि चढाउने प्रचलन रहेको छ ।
विजया दशमी
विजया दशमीको दिन दुर्गा भवानीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिका र जमरा लगाउने चलन रहेको छ।असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ। यस कारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफा सुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैका रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। दसैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव सुरु भएको हो। दसैँ पर्वले दस प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ ।
अन्त्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा आउँदै गरेका पर्वहरू तिहार, नेपाल संवत्, छठ, ल्होसारको उपलक्ष्यमा समेत हार्दिक शुभकामना व्यक्त गर्दै विजयादशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।