किशोर तामाङ, कञ्चनपुर, २० असोज । सीमा सुरक्षाको भूमिकामा रहेको सशस्त्र प्रहरी बलले यसलाई अझ प्रभावकारी बनाउन भारतसँग सीमा जोडिएका सबै वडामा समिति गठन गरी सीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वास स्थित सशस्त्र प्रहरी बल बिओपी पुनर्वासले सीमा क्षेत्रमा चाडपर्वका बेला हुन सक्ने सम्भावित सीमा अपराध र अवैध क्रियाकलाप नियन्त्रणका लागि सीमा सहजीकरण समितिद्वारा दशैँ र तिहारको शुभकामना आदानप्रदान तथा सीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट जनस्तरबाट बनाइएको समितिले सिमानामा नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुधार र सशस्त्र प्रहरी परिचालनमा प्रभावकारी एवं विशेष सहयोग मिल्ने अपेक्षा लिइएको छ ।
शुभकामना आदानप्रदान तथा सीमा सम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी हुने अधिकांशले सीमाका समस्याको पहिचान एवं त्यहाँका बासिन्दाको आवश्यकता र अवस्थाको अध्ययन गर्न, अपराध, चोरी तस्करी र अवैध आवतजावत नियन्त्रण र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, सीमा स्तम्भको नियमित अनुगमन र सुरक्षा लगायत काम गर्नु पर्नेमा जोड दिनु भएको ।
कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै सशस्त्र प्रहरी बल बिओपी पुनर्वासका ईन्चार्ज प्रहरी निरीक्षक चन्द्र सिंह महराले स्थानीयबासीहरू बिना बर्दीका सिपाही हुन भन्दै बर्दीमा रहेका प्रहरीले भन्दा सादा पोसाकमा रहेका स्थानीयको सहयोग प्राप्त भयो भने समाजका जुनसुकै विकृतिलाई सजिलै नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले सीमामा हुने विवाद सुल्झाउन, सीमा क्षेत्रमा आवतजावत गर्ने मानिसहरूलाई सहजीकरण गर्न, सीमा स्तम्भहरूको रेखदेख गर्न तथा सशस्त्र प्रहरी बल नेपाललाई सहयोगी भूमिका निर्वाह गरी थप प्रभावकारी बनाउने उद्देश्यले सीमा सहजीकरण समिति गठन गरिएको सशस्त्र प्रहरी निरीक्षक महराले जानकारी दिनुभयो ।
भारतीय सीमा नाकासँग जोडिएका पुनर्वासका सीमा नाकामा खटिँदै आएको सशस्त्र सीमा प्रहरीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न स्थानीयबासीको ठुलो भूमिका रहेको समाजसेवी हरि अधिकारीले औँल्याउनुभयो । उहाँले सीमावासी प्रत्येकले सीमा क्षेत्रमा हुने अनैतिक, शङ्कास्पद घटना र क्रियाकलाप बारे सक्रिय भएर जानकारी दिन अनुरोध गर्नु भएको छ । यसै गरी नागरिक स्तरबाट ज्येष्ठ नागरिक समाजका अध्यक्ष विजय हमाल भन्नुहुन्छ, "सस्तोको लोभका कारण नेपालीहरू भारतीय बजारमा जाने गर्दछन् । जसका कारण भारतीयहरूद्वारा नेपालीहरूले बेला बखत ज्यादती खेप्नुपरेको छ ।" विगत दिनमा भारतीय एसएसबिले सीमा क्षेत्रमा गरेको ज्यादतीलाई स्मरण गर्दै उहाँले भन्नुभयो, "जबसम्म नेपाली समाज भारतीय बजारमा परनिर्भर भइरहन्छ तब सम्म यो समस्या कायम रहन्छ । त्यसैले हामी आफैँमा निर्भर बन्न जरुरी छ ।"
खुल्ला सीमामा हुने लागु औषध ओसारपसारमा सीमा क्षेत्रका साना बालबालिकाहरूलाई पैसाको प्रलोभन देखाएर प्रयोग गरिरहेको सुन्नमा आएकोले स्थानीय सीमावर्ती बासिन्दाहरू सजक हुन सीमा सहजीकरण सदस्य भावना स्वर्णकारले सुझाव दिनु भयो । यसै गरी भारतीय बजारमा दशैँतिहारका बेला नेपालीहरूलाई लक्षित गरी अखाद्य वस्तुहरू बिक्री गर्ने भएकाले यस प्रति आम नेपाली उपभोक्ताहरू सचेत रहन स्थानीय ठाकुर बरालले आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बल पुनर्वासले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा निवर्तमान वडाध्यक्ष मानबहादुर गुरुङले सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा बल बिओपी आएपछि सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम रहेको बताउनुभयो । उहाँले विगतमा केही आपराधिक क्रियाकलापमा आबद्ध व्यक्तिहरूले प्रहरी आएपछि चेलीबेटी बिगार्छ भन्ने भ्रम समाजमा सिर्जना गराएको स्मरण गर्दै हिजो र आजको बस्तु स्थिति माथि प्रकाश पार्नुभएको थियो ।
सशस्त्र प्रहरी बल कञ्चनपुरको निर्देशन अनुसार सीमा क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रणका लागि स्थानीय सामाजिक सरोकारवालाको सक्रियतामा सीमा सहजीकरण समिति गठन भई सीमामा हुने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरी बल पुनर्वासका प्रहरी निरीक्षक चन्द्रसिंह महराले जानकारी दिनुभयो । सीमा सहजीकरण समितिका लागि गत वर्ष पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । गठित समितिले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि खबरदारी गर्नेछ । सीमा वारपार हुने अवैध र गैरकानुनी क्रियाकलापलाई निस्तेज पार्न समितिले काम गर्नेछ । सीमा क्षेत्रमा एउटा पोष्टबाट अर्को पोष्टसम्मको दूरी ५ किलोमिटर रहेकाले २४ घण्टा नै सीमा सुरक्षा बलको पहुँच नपुग्ने र स्रोतसाधनको समेत कमी रहेकाले जनप्रतिनिधि र स्थानीय सम्मिलित समितिले प्रभावकारी काम गर्ने अपेक्षा सशस्त्र प्रहरीले लिएको छ ।
सीमा सहजीकरण समिति द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले स्थानीय क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोकथाम गर्न तथा समाजमा शान्ति सुरक्षा स्थापित गर्न प्रहरी को एकल प्रयासले मात्रै सम्भव नहुने भएको ले स्थानीय नागरिक सरोकारवाला को पनि भूमिका भएमा लक्ष्य प्राप्ति गर्न सहज हुने बताउनुभयो र उहाँले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण र सीमा वारपार हुने अवैध र गैर कानुनी क्रियाकलापलाई निस्तेज पार्न सबैको साथ सहयोग रहनु पर्ने बताउनुभयो ।
सीमा सहजीकरण समितिका संयोजक तथा वडाध्यक्ष मित्र सिंह लामाले सीमामा हुने गरेका तनाव, अवैध गतिविधि एवं चेलीबेटी बेचबिखन तथा मानव ओसारपसार, तस्करी जस्ता गतिविधिलाई नियन्त्रण गर्न र अन्तर्देशीय अपराध नियन्त्रण तथा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले नेपाल सरकारले पूर्ण रूपमा प्रतिबन्ध गरेका तथा भारतबाट लुकिछिपी भित्रिँदै गरेका बोईलर कुखुरा, माछा, अण्डा, पेय पदार्थ ड्यु , अन्य खाद्यान्न, रासायनिक मलखाद इत्यादि आयातमा पूर्ण रूपमा रोक लगाउन सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।
सीमा सहजीकरण समिति द्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सीमा सम्बन्धी सचेतनामूलक कार्यक्रममा विशेष गरी नजिकिँदै गरेको राष्ट्रिय पर्व दशै र तिहार मा खडखडे , तास जुवा जस्ता विकृति मौलाउने भएको ले सशस्त्र प्रहरी तथा जनपद प्रहरी ले संयुक्त रूपमा गस्ती गर्न, सिमानामा नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुधार र नेपाल भारत सीमामा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि समितिले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने लगायतका विभिन्न विकृति लाई नियन्त्रण गर्न स्थानीय सरोकारवालासँग समन्वय गरी सीमा नजिकका विद्यालयहरूमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जस्ता विषय उठान गरिएको छ ।