हरिश्चन्द्र बाग / धर्मराज कठायत, कैलाली, २९ भदौ । विपद्को बेला सबैभन्दा अप्ठ्यारोमा अपाङ्गता भएका व्यक्तिहरू पर्ने भएकाले विपद् जोखिम न्यूनीकरणमा अपाङ्गता समावेशीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मर्सीकोरद्वारा सञ्चालित एमरेड परियोजना, निड्स नेपाल, एनएनएसडब्लुए र सीसीएसको संयुक्त साझेदारीमा शुक्रबार धनगढीमा सञ्चालन भएको विपद् जोखिम न्यूनीकरणमा अपाङ्गता समावेशीकरण कार्यशाला गोष्ठी कार्यक्रममा सिबिएमको प्राविधिक सहयोग रहेको थियो । आगामी दिनहरूमा विपद्मा अपाङ्गता भएका व्यक्तिहरूले के कसरी सहज वातावरणमा जोखिमको सामना गर्न सकिन्छ भन्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।
विपद् जोखिम न्यूनीकरणमा अपाङ्गता समावेशीकरण कार्यशाला गोष्ठीमा कञ्चनपुरका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र पुनर्वास नगरपालिका तथा कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख, ती पालिकाहरू सहित कृष्णपुर र भजनी नगरपालिकाका समेत महिला तथा बालबालिका शाखा र भौतिक तथा पूर्वाधार विकास शाखाका सम्पर्क व्यक्तिहरू लगायत अपाङ्गता महासंघका प्रतिनिधि, साझेदार संस्था निड्स नेपाल र एनएनएसडब्लुएका प्रतिनिधिहरूको गोष्ठीमा उपस्थिति रहेको थियो । वर्षातका कारण कैलारी गाउँपालिकाको प्रतिनिधित्व भने रहन सकेको थिएन ।

समुदायमा अपाङ्गता भएका व्यक्तिहरू उच्च जोखिममा रहेका हुन्छन् भने जनमानसमा अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सबैको एउटै खालको बुझाई नभएकाले र स्थानीय तहहरूले नीतिगत तहमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चिततासहित बजेट विनियोजन गरी हरेक स्रोत साधनमा पहुँच पुगोस् भन्ने उद्देश्य रहेको बताउँदै मर्सीकोरद्वारा सञ्चालित एमरेड परियोजनाका सङ्गीता अधिकारीले आगामी दिनहरूमा स्थानीय तहले योजना बनाउँदा अपाङ्गतामैत्री योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
विपद् जोखिम न्यूनीकरणमा अपाङ्गता समावेशीकरण कार्यशाला गोष्ठीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व, अवरोध हटाउन उहाँहरूको सशक्तीकरण र उहाँहरूको अभिलेख सहितको तथ्याङ्क तयार गर्नुपर्ने विषय लगायत अपाङ्गता भएका व्यक्तिहरूका लागि स्थानीय तहहरूमा विपद् जोखिम ऐनको विषयमा समेत छलफल भएको थियो । स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सके विपद्बाट अपाङ्गता भएका व्यक्तिहरूलाई पुग्ने क्षति न्यूनीकरण गर्न सकिने राष्ट्रिय अपाङ्गता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदको भनाइ छ ।
विपद् आउनु पूर्व अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गरी नीति र विधिअनुसार काम गर्नुपर्ने शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्त जोशीको भनाइ छ । साथै शुक्लाफाँटा नगरपालिकामा अपाङ्गतामैत्री भौतिक संरचना लगायत थुप्रै अपाङ्गता मैत्री कार्य गरिरहेको र अब बन्ने भौतिक संरचना लगायत नीतिमा समेत अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुने वातावरणको विकास गरिने बताउनुभयो । एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले सहभागीहरूलाई स्वागत गर्दै उद्देश्यमाथि प्रकाश पार्नु भएको थियोे । कार्यक्रमको सहजीकरण सिविएम ग्लोबलका विमल पौडेलले गर्नु भएको थियोे ।

कार्यशालाका उद्देश्य :
स्थानीय निर्वाचित जनप्रतिनिधि र पालिकाका सरोकारवाला कर्मचारीहरूलाई अपाङ्गता समावेशी प्रकोप जोखिम न्यूनीकरण (DIDRR) मा बुझाइ र क्षमता अभिवृद्धि गर्नु उक्त कार्यशालाको उद्देश्य रहेको बताइएको छ । प्रकोप परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूको विशिष्ट जोखिम र आवश्यकताहरू बारेमा जागरूकता बढाउने, समावेशी प्रकोप जोखिम न्यूनीकरण योजनाहरू विकास गर्नका लागि स्थानीय तहमा सबैभन्दा जोखिमयुक्त समुदाय र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी समावेश गर्नुपर्ने प्रमुख क्रियाकलापहरू पहिचान गर्ने र उपकरणहरूबारे जानकारी दिने, नगरपालिकाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला शाखाहरू, एमरेडका कार्यान्वयन साझेदारहरू र अपाङ्गता पैरवी समूहहरू बीच सहयोगलाई प्रोत्साहन गर्ने जसले समावेशी नीतिहरू, कार्यहरू र स्रोत विनियोजनलाई प्रवर्द्धन गर्ने विशेष उद्देश्य रहेको छ ।
अपेक्षित परिणाम :
कार्यशाला सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिहरू, पालिकाका कर्मचारीहरू, सञ्चारकर्मीहरू र MRED परियोजना कर्मचारीहरू DIDRR मा अभिमुख हुने र तिनीहरूको बुझाइ अभिवृद्धि हुने र स्थानीय सरकारले प्रमुख क्रियाकलापहरू पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरू (PWDs) का लागि सेवाहरूको पहुँच वृद्धि गर्न स्रोतहरू छुट्ट्याउन सक्षम हुने अपेक्षा गरिएको छ । त्यस्तै, चयन गरिएका पालिकाहरूले पालिकाका कर्मचारीहरू, MRED टोली र कार्यान्वयन साझेदारहरूको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका मुद्दाहरूलाई समावेश गरी प्रकोप जोखिम न्यूनीकरण योजनाहरू, नीतिहरू र आकस्मिक कार्य योजनाहरू (EAPs) पुनरावलोकन र अद्यावधिक गर्ने विश्वास गरिएको छ । यसका अतिरिक्त समुदायमा आधारित सङ्गठनहरू र अपाङ्गता भएका व्यक्तिहरूका सङ्गठनहरूले (OPDs) प्रकोप जोखिम न्यूनीकरणमा अपाङ्गता समावेशीकरणको निरन्तर पैरवी गर्ने अपेक्षा गरिएको मर्सीकोरद्वारा सञ्चालित एमरेड परियोजनाका सङ्गीता अधिकारीले बताउनु भएको छ ।