हरिश्चन्द्र बाग / धर्मराज कठायत, कञ्चनपुर, २७ भदौ । हरेक वर्ष दोदा नदीले कटान, डुबान र बाढी पहिरो जस्ता प्रकोपहरू निम्त्याउने गर्छ । दोदा जलाधार क्षेत्रमा हुने विपद्को जोखिम न्यूनीकरण र समुदायको विपद् उत्थानशीलताका लागि गठित दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको दोस्रो बैठक कञ्चनपुरको पुर्नवास नगरपालिकामा सम्पन्न भएको छ । जलाधार क्षेत्रमा विपद् व्यवस्थापन गर्ने उद्देश्यका साथ सो क्षेत्रका १० वटा पालिकाहरू जोरायल गाउँपालिका, आलिताल गाउँपालिका, लालझाडी गाउँपालिका, चुरे गाउँपालिका, परशुराम नगरपालिका, गोदावरी नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सहभागितामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको गठन गरिएको थियो ।
सोही मञ्चको दोस्रो बैठकमा सम्बन्धित पालिकाहरूका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विपद् फोकल पर्सन सहितको सरोकारवालाहरूबिच वृहत् छलफल भएको दोदा बहुसरोकार मञ्चका अध्यक्ष तथा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले बताउनुभयो । बैठकले चुरे तथा तराईमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आगामी कार्य योजनाको बारेमा छलफल गर्दै एउटा प्रदेश स्तरको कार्यक्रम गर्ने, दोदा जलाधार क्षेत्रमा क्षतिको अध्ययन गर्ने, पूर्वसूचना प्रणालीलाई बलियो बनाई स्वचालित मौसम केन्द्रहरूको अनुगमन गर्ने, प्रत्येक पालिकाबाट बजेट निकासा गरी कोषको स्थापना गर्ने, आगामी बैठक जोरायल गाउँपालिकामा बस्ने निर्णय गरी गोष्ठी सम्पन्न भएको दोदा बहुसरोकार मञ्चका सचिव तथा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
दोदा सुदूरपश्चिमको चुरे हुँदै तराईमा बग्ने ठुलो नदी हो । वर्षेनी दोदाले ठुलो क्षति गरिरहेकाले संरक्षण र जोखिम कम गर्न अति आवश्यक रहेको बताउँदै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले यो जलाधार क्षेत्रलाई राष्ट्रिय र प्रदेश स्तरमा चिनाइ यसबाट हुने क्षति कम गर्नका लागि ध्यानाकर्षण गराउने यसको उद्देश्य रहेको बताउनुभयो । बर्सेनी बाढी, कटान तथा डुबान हुने नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित राख्ने उद्देश्यले विपद्को जोखिम न्यूनीकरण र समुदायको विपद् उत्थानशीलता लागि मर्सिकोरको एमरेड तथा सिआरसी परियोजनाले सहजीकरण तथा व्यवस्थापनको काम गरेको मर्सिकोरद्वारा सञ्चालित एमरेड परियोजनाका विपद् व्यवस्थापन सल्लाहकार लक्ष्मी अवस्थीले बताउनु भयो । दोदा बहुसरोकार मञ्चको सो बैठकमा पुनर्वास नगरपालिका, निड्स नेपाल र मर्सिकोरको एमरेड तथा सिआरसी परियोजनाले सहजीकरण तथा व्यवस्थापनको काम गरेको थियो । यसपछिको तेस्रो बैठक जोरायल गाउँपालिकामा बस्ने निर्णय गरिएको छ ।